

बुटवल । केही दिनदेखिको गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । तातो हावा चल्दा बाहिर निस्कने अवस्था छैन् । विहानै देखिको गर्मीले सवैभन्दा बढि प्रभावित दैनिक मजदुरी गर्नेहरु परेका छन् ।
खुल्ला आकाशमुनि काम गर्नेहरुले काम नै गर्न नसक्ने गरी चर्को घाम लागेको छ । चर्को गर्मीकै कारण सडकमा यातायातका सवारी साधन समेत कम चलेका छन् । साँझपख मात्र बजारमा चहलपहल हुने गरेको छ ।
विद्यालयहरु गर्मीका कारण धमाधम विदा भएका छन् । बुटवलका केही नीजि विद्यालयहरुले असार ३ गते सम्मका लागि विदा दिइसकेका छन् भने तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले पनि सूचना नै जारी गरेर विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन ।
पछिल्लो तीन दिन यता भैरहवा बुटवलको तापक्रम ३९ देखि ४२.३५ सम्म पुगेको छ । नेपालमा सरदर पूर्वी नेपाल भएर १३ जूनमा मनसुन भित्रिने गर्छ । यो पटक मनसुन करीब दुई साता ढिला गरी अर्थात असारको पहिलो साता मात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको छ । त्यतिञ्जेल गर्मी घट्न मुश्किल हुने मौसमविद्ले बताएका छन् ।
गर्मी बढेका कारण अत्याआवश्यक काम बाहेक बाहिर नहिड्न चिकित्सकले सुझाव दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका डा. नन्दु पाठकले बाहिर तातो हावा चलेका कारण धेरै जोखिम हुने भएकाले अत्याआवश्यक काम बाहेक बाहिर नहिड्न सर्वसाधरणलाई आग्रह गरे ।
उनले गर्मीबाट बच्न अत्याधिक पानी पिउनुका साथै खानपानमा समेत ध्यान दिन आग्रह गरे । उनले काँक्रो, बेल, आँप, कागतीको सर्बतको सेवन गरेमा पनि सित्तल प्रदान हुने बताए ।
कसरी बच्ने गर्मीबाट ?
सबैभन्दा राम्रो उपाय हो घर भित्र नै बस्ने, ११ देखि ४ बजे सम्मको घाममा बाहिर सकेसम्म ननिस्किनुहोस ।
गर्मीबाट बच्न एयरकन्डिस्नर, पंखा कुलरहरु चलाएर राख्नुहोस ।
यदि घरबाहिर निस्कनु छ भने छाता ओढेर निस्कनुहोस वा क्याप लगाउनुहोस ।
पानी धेरै पिउनुहोस । सकेसम्म धेरै फलफूल खानुहोस र जुसहरु पिउनुहोस ।
बासि तथा झिंगा भन्किएका खाना नखानुहोस । घरबाहिर खाना खाने गर्नुहुन्छ भने सफा र स्वस्था खाना पाइने ठाँउमा मात्रै खानुहोस ।
कुने यात्रामा वा भ्रमणमा जाँदै हुनुहुन्छ भने भने आफ्नो साथमा आधारभुत औषधीहरु राख्नुहोस ।