कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

‘बागवान’को झल्को दिने ‘फूलबारी’

रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’मा एउटा दृश्य छ । बलिहाङ (दयाहाङ राई) टिभीमा अमिताभ बच्चन अभिनित पारिवारिक फिल्म ‘बागवान’ हेर्दै बलिन्द्र आँशु झारिरहेका हुन्छन् । त्यतिकैमा उनलाई देखेर श्रीमतीले भन्छिन्, ‘होइन यो फिल्म पनि कत्ति हेर्न सकेको हौ !’

यही शुक्रबारदेखि प्रदर्शनमा आएको ‘फूलबारी’ हेरिसकेपछि उपेन्द्र सुब्बा र निर्देशक गुरुङलाई प्रश्न गर्न मन लाग्छ, ‘तपाईंहरुजस्ता सर्जकले बागवानकै थिमलाई नपछ्याउँदा पनि नेपाली पारिवारका कथा देखाउन सक्नुहुन्थ्यो होला नि ?

कमल किशोर मल्पानीको कथा र कन्सेप्टलाई सर्जक सुब्बाले पटकथामा उतारे, गुरुङले निर्देशन गरे । रिटायर्ड जिन्दगी बाँचिरहेका राज (अमिताभ बच्चन) र पूजा(हेमा मालिनी) ले चार छोराहरु सँगसँगै बस्न चाहने आफ्नो इच्छा प्रकट गर्छन् । छोराहरुले आमा र बुवालाई पालैपालो आफ्नो घरमा साथै राख्न त थाल्छन्, तर दुई बेग्लाबेग्लै घरमा छुट्टिएर बस्न बाध्य हुन्छन् । एकअर्कासँग छुट्टिनुको पीडा, परिवारको अपहेलना, रुखो वचन, बेवास्ता सहँदै गरेको समयमा आलोक (सलमान खान) को प्रवेश हुन्छ । आफू अनाथ रहँदा सहयोग गरेका दम्पतीलाई आलोकले अभिभावक सम्झेर प्रेम र वास्ता गर्न थालेको यो ‘बागवान’को कथासार हो ।

‘फूलबारी’ कथा पनि त्यस्तै रिटायर्ड जिन्दगी बाँचिरहेका जयनारयण शर्मा (विपिन कार्की) र उनकी पत्नी लक्ष्मी शर्मा (अरुणा कार्की)ले आफूले सन्तानको साथ पाउनुपर्ने समयमा सहनुपरेको पीडा, संघर्षको कथा हो । इलामको स्थानीय विद्यालयबाट भर्खरै अवकाश पाएका जयनारायण सरका तीन छोरा छन् । सबै आफ्नो काम, व्यवसाय र करिअरतिर व्यस्त । जेठो छोरा व्यवसायी, साइँलो छोरा अष्ट्रेलियातिर, कान्छो संगीतमा आफ्नो भविष्य खोज्दै । अन्य आम नेपाली परिवारको कथा झैं, यो परिवार दसैंमा मात्र एकसाथ हुन्छ । एक दिन एउटा समस्याले वृद्ध दम्पतीलाई सहरमा बस्ने छोराहरुको घर पुर्‍याउँछ । परिवारको साथ आवश्यक भएको बेला उनी दुई एक्लिन्छन् र त्यही समय सुलोचना (शिल्पा मास्के) उनीहरुको जीवनमा फर्किन्छिन् । आलोक, राज र पूजाको जिन्दगीमा खुसी दिन फर्किए झैं ।

कथासार मिल्दोजुल्दो देखिए पनि पटकथामा नेपाली समाज, परिवेश र संस्कृति समेटिएकाले ‘फूलबारी’को कथासँग धेरैले आफूलाई अन्तरसम्बन्धित गर्न पाउँछन् । सन्तानप्रति अभिभावकले गर्ने चाहना, आशा अनि जिम्मेवारीबीच छोराछोरीले गर्ने बेवास्ता, अपहेलना र अनादरको कथाले पक्कै दर्शकको मन हुँडल्छ । प्रौढ उमेरमा अभिभावकले आफ्ना सन्तानबाट चाहने प्रेम, वास्ताका कुरालाई दृश्यमा संवेदनशील ढंगबाट प्रस्तुत गरिएको छ । फिल्ममा पस्किएको अभिभावक र छोराछोरीबीचको भावनाले दर्शकलाई बाँधेर राख्छ । फिल्मको कथा सरल छ, पर्दामा सरल ढंगले बग्दै जान्छ । मौलिक संवादका पंचलाइन, जोस हेरमका सुन्दर खिचाइ, पात्रको भाव बुझाइदिने उत्तम न्यौपानेको साउन्ड डिजाइनले ‘फूलबारी’मा आम नेपालीले अपनत्व अनुभव गर्न पाउँछन् । कालीप्रसाद बास्कोटाको संगीतले मिठास भरिदिन्छ । बलिहाङ र जयनारायणबीचको छिमेकी सम्बन्ध निकै मर्मस्पर्शी शैलीमा प्रस्तुत छ । कति दृश्यमा दर्शकलाई जबर्जस्त रुवाउन उस्तै किसिमको पार्श्व ध्वनी प्रयोग गरिएको छ ।

यद्यपि कलाकारको अभिनयले त्यसको सन्तुलन भने जोगाइदिएको छ । जयनारायणको भूमिकामा गरिएको अभिनय, शारीरिक हाउभाउ, पूर्वेली लवजमा गरिएको मिहेनतले विपिनको अभिनयको गहिराइ प्रस्तुत गर्छ । अवकाशप्राप्त प्रौढ उमेरको भूमिकामा विपिन फिट देखिएका छन् । विपिनबाहेक उक्त चरित्रमा अन्य कोही अटाउँथेनन् भन्ने फेरि जयनारायणको भूमिकाबाट सावित गरिदिएका छन् । बलिहाङको भूमिकामा दयाहाङ पनि अब्बल देखिएका छन् । त्यस्तै, लक्ष्मीको शालीन स्वभावमा अरुणा, बुहारीको भूमिकामा प्रियंका कार्कीले गरेको अभिनय तारिफलायक छ । जेठो छोराको भूमिकामा देखिएका सोमनाथ खनाल अनि गायनमा संघर्ष गरिरहेका नव गायकमा अनुपम शर्मा उतिकै योग्य चरित्र चित्रण लाग्छन् । पर्दामा छोटो भूमिका पाएका अनुपमले आफ्नो अभिनय क्षमतालाई आफ्नो चरित्रमार्फत पस्किदिएका छन् ।

फिल्ममा थुप्रै चरित्र छन् । त्यसैले पनि चरित्र स्थापनामा लामो समय लगाइएको छ । फिल्मको केन्द्रीय द्वन्द्वलाई खासै मज्जाले प्रस्तुत गर्न नसक्दा पात्रहरुको सम्बन्धमा आउने आरोह-अवरोहलाई त्यही भावमा दर्शकले अनुभव गर्न सक्दैनन् । त्यसैले फिल्मको गतिलाई धिमा बनाइदिएको छ । ३० वर्षअघि बलिउड फिल्ममा देखाइने परिवार, छोराछोरी र संस्कारका कुरा फिल्ममा उठाइएको छ । कति दृश्य त सजिलै अनुमान गर्न सकिने किसिमका छन् । महिला चरित्र चित्रणमा कमजोरी भेटिन्छ । घर झगडाको प्रमुख कारकका रुपमा सासु-बुहारी सम्बन्धलाई देखाउनु परम्परागत (स्टेरियोटाइपिङ) शैलीबाट भने यो फिल्म पनि मुक्त बन्न सकेको छैन । ‘महिलाको दुष्मन महिला’ नै भन्ने भाष्यलाई फिल्मले स्थापना गराइदिन खोजेको छ । सुलोचनाको भूमिका भने त्यसअर्थमा बलियो लाग्छ ।

कुनै फिल्मबाट प्रभावित/प्रेरित हुन पाइन्छ । तर, निर्देशक सुब्बा र रामबाबुजस्ता संभावना बोकेका सर्जक अरुकै कथाबाट प्रेरित हुनु, उस्तै लाग्ने पटकथा कोर्नु सिर्जनात्मक क्षेत्रमा त्यत्ति राम्रो मानिँदैन । दुईले चाहेका भए, नेपाली समाजका थुप्रै पारिवारिक कथामा ‘फूलबारी’ बनाउन सक्थे । नेपाली समाजको आफ्नो कथाहरु भन्न सक्ने सर्जकबाट थिम मात्रै होइन शीर्षक(बागवान र फूलबारीको अर्थ) नै मिल्दोजुल्दो जुटाइएको फिल्म निर्माण गर्नुलाई भने संयोगका रुपमा मात्र हेर्न सकिन्न । बच्चाका नाममा सासु-बुहारीबीच भएको दृश्यमा बोलिएको केही दृश्य त फूलबारी र बागवानमा उस्ता-उस्तै लाग्छन् । आलोकले आफ्नो परिवारलाई खोज्न जाँदा ताला लगाइएको दृश्य सुलोचना पात्रसँग पनि मिल्न जान्छ । तर, त्यही हो फूलबारीको मेलोड्रामा नेपाली परिवेशसँग नजिक बनाइएको छ । रामबाबु शैलीका पेचिलो संवादले भने कथामा प्राण भरिदिएको छ । लामो समय शिक्षण पेसामा बिताएका जयनारायण र बलिहाङबीच परिक्षाको विषयमा भएको संवाद त्यसको ज्वलन्त उदाहरण हो । कान्तिपुरबाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार