लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण                
समाचार :

आफ्नै बलबुताले उभिँदै रोल्पाको होलेरी

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र जनयुद्धको घोषणा गर्‍यो। होलेरी बजार माथिको रुन्टीगढीमा दिनभरि बसेर बनाइएको योजना अनुसार राति ११ बजेपछि प्रहरी चौकीमा आक्रमण गरिएको थियो।

सांकेतिक रूपमा गरिएको उक्त आक्रमणमा प्रहरी र विद्रोही पक्षतर्फ कुनै मानवीय क्षति नभए पनि प्रहरी चौकीमा रहेका हतियार खोसेर लगेपछि अन्य प्रहरी चौकी आक्रमण गर्न सहज बनाएको थियो।

उक्त आक्रमणमा हालका उपराष्ट्रपति नन्दबहादुर पुन, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र पूर्वउपसभामुख ओनसरी घर्तीले नेतृत्व गरेका थिए।

आफ्नै आँगनबाट थालिएको जनयुद्धले देशभरका प्रहरी चौकी र सरकारी संरचना ध्वस्त बनाइरहेको थियो, २०५८ साल असार २८ गते होलेरी प्रहरी चौकीमा फेरि आक्रमण गरियो।

आक्रमणमा प्रहरी हवल्दार राजबहादुर गिरीको मृत्यु भयो भने ७२ जना सुरक्षाकर्मी र प्रहरी चौकीमा रहेका हतियार र बन्दोबस्तीका सबै सामान माओवादी लडाकुले कब्जामा लिए। यही घटनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशमा सेना परिचालनको लागि गरेको प्रस्ताव तत्कालीन राजाबाट अस्वीकृत भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।

यही स्थानबाट जनयुद्धको उद्घोष गरिएको र जनयुद्धको क्रममा दुईरदुई पटक आक्रमणको निशानामा परेपछि होलेरी देशभर युद्धको उद्गम स्थलको रूपमा चिनिन थाल्यो। अहिले रुन्टीगढी गाउँपालिका भए पनि यो स्थान होलेरीकै नामले देशभर चिनिन्छ।

पहिलो होलेरी आक्रमणबाट जनयुद्धको उद्घोष गरेको माओवादीले दोस्रो पटक गरेको होलेरी आक्रमणबाटै प्रहरीसँगको मात्र हमला टुंग्याएर सेनासँगको युद्ध सुरू गर्‍यो।

होलेरी माओवादीको आश्रयस्थल बनेको थियो भने त्यसैका कारण राज्यपक्षको निशानामा परेको थियो। दुई पटक होलेरी प्रहरी चौकीमा आक्रमण हुँदा एक जनाको मात्र ज्यान गए पनि जनयुद्धका कारण रुन्टीगढीले ३९ जना युवा गुमायो।

राज्यपक्षबाट नौ जना र विद्रोही पक्षबाट ३० जना गरी रुन्टीगढी गाउँपालिकाले ३९ जना गुमाउनु पर्‍यो। यही जगबाट थालिएको जनयुद्धबाट १७ हजारभन्दा बढीको ज्यान गयो, हजारौं घाइते भए, अझै पनि कतिपयको अवस्था अज्ञात छ।

अँध्यारो रातपछि बिहानीको उज्यालो आउँछ भनेजस्तै जनयुद्धभरि माओवादीको आधार इलाका बनी लडाकूलाई आश्रय दिएको होलेरीले युद्धको घाउ बिर्सिदै समृद्धिको गोरेटोमा हिँड्ने प्रयास गरेको छ।

विद्रोही र राज्यपक्षले युद्धमैदान बनाउँदै दुवै तर्फको चेपुवामा परेका यहाँका बासिन्दा जनयुद्धको घाउलाई सधैंको लागि बिर्सिदै समृद्धिको गोरेटो पछ्याउन चाहन्छन्।

विकास र समृद्धिको सपना देख्दै युद्ध मैदान बनेको होलेरीले छिमेकी जिल्ला र बजारको जस्तै विकास र समृद्धिको मुहार देख्न नपाए पनि आफ्नै बलबुताले परिवर्तनका झिल्का बाल्ने प्रयासमा लागेको छ।

२०४८ सालदेखि भएका निर्वाचनमा यो क्षेत्रले पुष्पकमल दाहाल प्रचण्डदेखि कृष्णबहादुर महरा, वर्षमान पुन, सुरेन्द्र हमाल, लेखनाथ आचार्य, ओनसरी घर्ती, जयपुरी घर्ती, कुलप्रसाद केसी, दिपेन्द्र पुन, सन्तोष बुढामगर लगायतलाई निर्वाचित गरेर पठायो।

निर्वाचित भएर जानेहरू राज्य संचालनको महत्वपूर्ण स्थानमा पुगे पनि होलेरी राज्य संचालकको सधैं उपेक्षामा परिरह्यो। अहिले पनि यो क्षेत्रमा खानेपानीको चरम समस्या छ, सडक, शिक्षा, स्वास्थ्यमा पनि अरु क्षेत्रको तुलनामा निकै पछाडि छ।

‘जनयुद्ध’ अवधिभर होलेरीमा आश्रय लिएर बसेका शान्तिप्रक्रिया पछि लिवाङ केन्द्रित भएको स्थानीयको गुनासो छ। स्थानीय धनी बुढा जनयुद्धभरि छानो र मानो दिएर राखेकाहरू शान्ति आएपछि भने बिरानो बनेको बताउँछिन्।

स्थानीयले यही द्वन्द्वको घाउ कथालाई पर्यटन विकासको माध्यम बनाउन थालेका छन्।

पहिलो पटक आक्रमण गरी प्रहरी चौकी ध्वस्त पारिएको स्थलमा अहिले युद्धस्मारक निर्माण गरी ज्यान गुमाउनेहरूको नाम लेखिएको छ।

केन्द्रीय राजनीतिबाट सधैं ओझेलमा पनि स्थानीय तहले होलेरीलाई युद्ध पर्यटनसँगै प्राकृतिक र धार्मिक पर्यटनको रूपमा विकास गर्ने योजना बनाएको छ। रुन्टीगढी गाउँपालिकाका पुर्वअध्यक्ष बालाराम बुढाले होलेरीलाई युद्ध पर्यटनसँगै धार्मिक र प्राकृतिक पर्यटनको रूपमा विकास हुन थालेको बताउँछन् ।

उतिबेला बम र बारुदका झिल्कासँगै ब्यूँझिने होलेरीमा अहिले सुर्योदयको दृश्यावलोकन गर्न पर्यटक जान थालेका छन्।

स्थानीयले राजनीतिक नारा र नेताको आश्वासनभन्दा आफ्नै मिहिनेत र पौरखमा रमाउन थालेका छन्।

विगत १४ वर्षदेखि होलेरीमा होटल सञ्चालन गरेका सल्यानका दिनबहादुर खड्का अब युद्धको घाउ सधैंको लागि मेटाएर आर्थिक समृद्धिको यात्रामा लाग्नुपर्ने बताउँछन्।

जनयुद्धभरि खाली बनेका बस्तीमा चहलपहल हुन थालेको छ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढेसँगै होटल, व्यापार व्यवसाय फस्टाउन थालेको छ।

प्यूठानको चर्चित स्वर्गद्वारी मन्दिरका महाप्रभु जन्मिएको र तपस्या गरेको स्थल रुन्टीगढी र शिव पार्वती गुफा समेत यही रहेका कारण होलेरी धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ।

महाप्रभुको जन्मस्थल रुन्टीगढीकै नामबाट गाउँपालिकाको नामाकरण गरिएपछि स्वर्गद्वारीसँगको सम्बन्ध पनि जोडिएको छ।

गाउँपालिका अध्यक्ष बुढाले रुन्टी गढीमा भ्यू टावर निर्माण गरिएको र यसलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गने गाउँपालिकाको योजना रहेको बताउँछन्।

रुन्टीगढी मध्यकालीन नेपालको राज्य विस्तारका बेलाको पुरानो गढी समेत भएकोले यसको संरक्षण गर्ने र आधुनिक पुस्तालाई इतिहास पढाउने योजना रुन्टीगढी गाँउपालिका लागेको छ।

होलेरी बजारदेखि माथि रहेको २४ सय मिटर अग्लो मुरुल्ले लेकबाट उत्तरतर्फ देखिने सेतो हिमाल र दक्षिणतर्फको समथर भूमिको दृश्यावलोकनले यो लेकलाई हिलस्टेसन बनाउने योजना रहेको पुर्व अध्यक्ष बुढा बताउँछन्।

यहाँबाट पश्चिम उत्तरतर्फ माछापुच्छ्रे हिमालदेखि सिस्ने लेक हुँदै अपि सैपाल सम्मका हिम श्रृंखला देख्न सकिन्छ। यहाँबाट देखिने सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न अहिले छिमेकी जिल्लाबाट समेत आन्तरिक पर्यटक जान थालेका छन्।

राजनीतिक रूपमा चर्चित रहेको होलेरी प्राकृतिक, धार्मिक, सांस्कृतिक र कृषि उत्पादनका हिसाबले पनि उत्तिकै बलियो छ। सरकारले रोल्पा र रुकुमका विभिन्न गाउँ जोड्नको लागि निर्माण गरिरहेको शहीदमार्गको पहिलो बिन्दु पनि होलेरीबाटै गरिएको छ।

मध्यकालीन नेपालको राज्य विस्तारका क्रममा तत्कालीन राजाले आफ्नो राज्य बचाउन बनाएको रुन्टीगढी र सोही अभियानका क्रममा बन्दुक, गोला बारुद बनाउने स्थानको परिचय दिने म्यागजिन डाँडा पनि यहीँ छ।

होलेरी आसपासको डाँडैडाँडा चल्ने घोडेटो बाटो तत्कालीन अवस्थामा फौज हिँड्ने बाटोको रूपमा प्रयोग हुने गरेको इतिहास रहे पनि जनयुद्धपछि होलेरीले छुट्टै नयाँ इतिहास बनाइदियो।

वरिपरि जंगल रहेको र खेतीयोग्य जमिन रहेका कारण पनि यहाँ तरकारी उत्पादन र पशुपालनलाई आयआर्जनको माध्यम बनाउन सकिनेछ ।

छिनछिनमै घाम लाग्ने, हुस्सु लाग्ने र हावा चल्ने भएका कारण यो लेक दाङ र नेपालगञ्ज तथा बुटवलसम्मकै लागि गर्मीमा गर्मी छल्ने र हिउँदमा हिउँ खेल्ने आकर्षक स्थल बन्न सक्ने छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार