यस्ता बन्दैछन् ५ अर्ब लगानीमा निर्माणधिन बुटवलका दुई केबलकार

पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुटवलमा अहिले एकै साथ दुइटा केबलकार बनिरहेका छन्। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बन्दै गरेका लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार दुइटैको अन्तिम (टप) स्टेसनले भने पाल्पालाई जोड्ने छन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बमघाटमा आधार स्टेसन रहेको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा छ। यता बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि-मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर-पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेसन बनाएर निर्माण भइरहेको सिद्धार्थ केबलकारले पाल्पाको नुवाकोटगढीलाई टप स्टेसन बनाएको छ।

२३ महिना पहिले नौ दिनको अन्तरमा शिलान्यास गरिएका बुटवलका महत्वपूर्ण दुइटै आयोजनाको निर्माण कार्य पनि सँगसँगै अगाडि बढिरहेका छन्। लुम्बिनी केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए भने सिद्धार्थ केबलकारको अर्थमन्त्री विष्णु पौडेलले फागुन ९ गते शिलान्यास गरेका थिए।

लुम्बिनी केबलकार निर्माणको काम करिब अन्तिम चरणमा पुगेको र आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी सञ्चालकले गरेका छन्। सिद्धार्थ केबलकारको निर्माण कार्य भने अब सात महिनाभित्र सम्पन्न हुने सञ्चालकले बताए।

पाँचतारे होटल, पार्क र रिसोर्टसहित निर्माण भइरहेका दुइटा केबलकारमा निजी क्षेत्रको पाँच अर्ब रूपैयाँभन्दा धेरै लगानी छ। यहाँ गरिएको लगानीले बुटवल, भैरहवा र रूपन्देहीको मात्र नभई लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको दाबी छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केबलकारको बेस स्टेसन, टावर, टप बटम स्टेसन लगायत धेरै जसो निर्माणको काम पूरा भइसकेको र सँगसँगै होटल तथा रिसोर्टहरूको काम पनि भइरहेको बताए।

आधार र टप स्टेसनसँगै नौ वटा टावरमा जोडिने केबलकारका लागि आठ वटा टावरको सिभिलको काम सम्पन्न भइरहेको छ। दुइटै स्टेसनको निर्माण पनि अन्तिम चरणमा पुगेको ढकालले बताए। २५ वटा गोन्डुला (बाकस) रहने केबलकारमा प्रतिगोन्डुला आठ जना यात्रु सवार गर्न सक्ने छन्। जसमा प्रतिघन्टा ६ सय जना यात्रु ओहोरदोहोर गर्न सक्ने छन्।

एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित केबलकार शिलान्यास गरे पनि कोरोना महामारी र रूख कटानमा केही ढिलाइ हुँदा अवधि लम्बिएको बताए।

बुटवल बमघाटदेखि पाल्पा वसन्तपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निर्माण भइरहेको केबलकारले बुटवल ३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ-३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ।

केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको छ। प्रालिले केबलकार निर्माणको कार्ययोजना थालेको १४ वर्षपछि बल्ल सरकारी स्वीकृति पाएको थियो।

अध्यक्ष ढकाल अबको दुई महिनाभित्र केबलकार सञ्चालनमा आएपछि लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकको बसाइ अवधि लम्बिने बताउँछन्।

‘भारतीय सीमा क्षेत्रबाट आधा घन्टामै पुग्न सकिने भएकाले केबलकार सञ्चालनमा आएपछि भारतीय पर्यटकहरूको पनि आकर्षण बढ्ने अपेक्षा गरेका छौं,’ ढकालले भने।

गर्मीयाममा बुटवल र भैरहवा अत्यन्त गर्मी हुने भए पनि केबलकारको टप स्टेसन चिसो स्थानमा भएकाले गर्मी छल्न उपयुक्त गन्तव्य हुने ढकालले दावी गरे।

‘बुटवलबाट साढे दुई किलोमिटरको केबलकारबाट दस मिनेटमा बसन्तपुर पुगिन्छ। बुटवल र बसन्तपुरको तापक्रम ६/७ डिग्री सेल्सियस अन्तर पर्ने भएकाले गर्मी छल्न बुटवल, भैरहवाबाट मात्र होइन, भारतीय पर्यटक पनि पुग्ने छन्,’ उनले भने।

साढे तीन अर्ब रूपैयाँभन्दा धेरै लगानीमा पाँचतारे होटल र पार्कसहित केबलकार निर्माण भइरहेकाले पर्यटकको आकर्षण बढ्ने उनले बताए।

बुटवलदेखि उत्तर-पूर्व रहेको बसन्तपुर डाँडामा केबलकार चलेसँगै सुविधासम्पन्न पाँचतारे होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू थपिने छन्।

अध्यक्ष ढकालका अनुसार हाल जीर्ण रहेको वसन्तपुरको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ। त्यस्तै चिल्ड्रेन पार्क, रेस्टुरेस्ट, भ्युप्वाइन्टसहितका पूर्वाधार बन्ने छन्। दोस्रो चरणमा पाँच तारेसहितको होटल निर्माण हुने छ।

बसन्तपुर डाँडामा १५० कोठाको पाँचतारे स्तरको होटल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने ढकालले दाबी गरे।

आइएमई ग्रुपको ७५ प्रतिशत लगानी रहेको लुम्बिनी केबलकार परियोजनामा करिब २५ प्रतिशत लगानी बुटवलका उद्योगी व्यवसायीको छ।

यता बुटवलदेखि उत्तर-पश्चिममा रहेको नुवाकोट डाँडा जोड्ने सिद्धार्थ केबलकारमा रूपन्देहीका एक सयभन्दा धेरै उद्योगी तथा पर्यटन व्यवसायीको एक अर्ब १० करोड रूपैयाँ लगानी छ।

सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङका अनुसार कम्पनीले यो केबलकारसँगै नुवाकोटमा सुविधासम्पन्न रिसोर्ट बनाइरहेको छ। त्यस्तै बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र पनि बन्ने छ। त्यसैगरी ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले शान्ति पार्क बनाउने छ भने गुम्बा, भ्युटावर, स्वास्थ्य केन्द्र लगायतका संरचनाहरू पनि बन्ने छन्।

महत्वाकांक्षी योजनाका निर्माण भइरहेको केबलकार सात महिनाभित्रमा सम्पन्न हुने र सञ्चालनमा आएपछि लुम्बिनी आउने पर्यटकलाई नुवाकोटसम्म लैजान सकिने कम्पनीको भनाइ छ।

शिखर देउरालीमा रहेको बेस स्टेसनदेखि नुवाकोट डाँडामा रहेको टप स्टेसनमा ८ मिनेटमा पुग्न सकिने १.९४ किलोमिटर लम्बाइको केबलकारमा एउटा गोन्डुलामा ८ जना यात्रु सवार गर्न मिल्ने २५ वटा गोन्डुला हुने छन्। नियमित रूपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहोर गराउन सक्ने दाबी कम्पनीको दाबी छ।

२३ महिनापहिले नै शिलान्यास गरिएको यो केबलकार निर्माणको काम पनि कोभिड र रूख कटानमा भएको ढिलाइकै कारण लम्बिएको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए।

सरकारले यो केबलकार परियोजनाभित्र पर्ने ६.०९८ हेक्टर वन क्षेत्र ३० वर्षका लागि भोगाधिकारको स्वीकृति दिएको छ।

बुटवल आर्थिक तथा व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल पनि हो। केबलकारको बेस स्टेसन आसपास अंग्रेजसँगको युद्धमा नेपाली सेनाले विजय प्राप्त गरेको जितगढी किल्ला, राजा मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको मणिमुकुन्द सेन उद्यान, मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको स्थल लगायत छन्।

त्यसैगरी केबलकारको टप स्टेसन रहेको नुवाकोटमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदाहरू छन्। यो केबलकार सञ्चालनसँगै बुटवलको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरूको विश्वास छ।

नुवाकोट विकास समितिका अध्यक्ष समेत रहेका होटल व्यवसायी माधव नेपाल केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने बताउँछन्।

‘केबलकार सञ्चालनसँगै नुवाकोटमा जितगढी युद्धको झल्को दिनेगरी कुनै पनि कला देखाउन सके पर्यटकको आकर्षण बढ्न सक्छ,’ उनले भने।

सेतोपाटी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार