

बुटवल । मालिका गाउँपालिका वडा नंं ६ अर्जैका टिकाराम पराजुलीले जीवनको साढे २ दशक विद्युक्त देखेनन् ।
घरमा कहिले सल्लाको दियालो त कहिले मट्टितेल प्रयोग गरे । धेरै बर्ष मट्टितेल बालेर जीवन कटाएका उनले जेठो छोरा बैदेशिक रोजगारका लागि दुवई पुगेपछि घरमा सोलार किने । त्यसपछिका केही बर्ष सोलारबाट उज्यालो घर बनाए । तर पछिल्ला केही बर्ष यता त्यो सोलार प्रयोगविहिन बनेको छ । गाउँघरमा विजुली पुगेपछि सोलारको प्रयोग नगन्य भएको छ ।
‘घाम लागेन । आज त व्याट्रि चार्ज हुन पाएन भन्ने छैन् । विजुली आएपछि धेरै सहज भएको छ’ उनले भने ।
अहिले विजुलीको सुविधा भएपछि गाउँगाउँमा सिलौटोको ठाउँ आधुनिक मिक्चरले ओगटेको छ । यति सम्मकी मोही पार्ने मदानी समेत ईलेक्ट्रोनिक प्रयोग हुन थालेको छ ।
‘पहिला केही थिएन । विजुली आएपछि आईरन चाहिएको छ । यति सम्म गर्न थालेकी जनताले कोदो फलेपछिको भुस उडान पंखा चलाउन थाले । पहिले डिजलबाट चल्ने मिल समेत विजुली बाट चलाउन थाले’ गाउँमा विजुली आएपछिको बेलिविस्तार लगाउँदै पराजुलीले भने ।
कुनै बेला गाउँघर समसाँझै चकमन्न अध्यायारो हुने गर्दथ्र्यो । तर गाउँघर अहिले उज्यालो छ । गाउँमा विजुली पुगेपछि ईन्टरनेट सेवा विस्तार भएको छ । गाउँमा अहिले वल्डलिंक जस्ता निजी ईन्टरनेट सेवाप्रदायकले सेवा दिन थालेका छन् ।
‘पहिले गाउँमा लेन लाईन मात्र थियो । त्यहाँ फोन गर्न लाईन लाग्नुपर्ने । तर विकास यसरी भयो कि व्यक्ति व्यक्ति संग मोबाईल छ । घरघरमा ईन्टरनेट छ । घरमा डिस होम र टेलिभिजन त गाउँमा पनि अनिवार्य छ’ उनले भने ।
साच्चै पराजुलीले भने जसरी गाउँमा विद्युत्त पुगेपछि मानिसहरुको जीवनसैलीमा धेरै परिर्वतन आएको छ ।
गाउँगाउँमा विद्युत पुगेपनि अझै गुणस्तरिय विद्युत बारे प्रश्न भने उठ्छ । त्यहि प्रश्नको उत्तरका लागि गुल्मीमा १३२ केभिए राष्ट्रिय बिद्युत प्रसारण लाइनका दुई ठुला बिद्युत सवस्टेशन निर्माणको काम तिव्र रुपमा अगाडी बढेका छन् ।
रेसुंगा नगरपालिका ७ को उनायचौर र मुसिकोट नगरपालिका १ को पौदी अमराईमा करिव ८१ करोडको दुई ठुला बिद्युत सवस्टेशन निर्माणको काम भइरहेको छ ।
एमाले सचिव गोकर्ण विष्टको पहलमा अनायचौरमा ६२ र पौदी अमराईमा ७४ प्रतिशत काम सकिएको बुर्तिबाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ ।
उनायचौरमा मेन लाइनको दुई बाहेक अरु फाउण्डेशन निर्माणको काम सकिएको आयोजना कार्यालयका प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए । गार्डरुम, आवास, स्टोर र कन्ट्रोल रुम केहि दिनमा निर्माण व्यावसायीले आयोजनालाई हस्तान्तरण गर्नेछन् । उनले पौदी अमराईमा भवन र फाण्डेशनका सवै काम पुरा भएको बताए ।
उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी र पौदी अमराईमा ३९ करोड ९६ लाखको लागतमा आरजे कन्ट्रक्सनले सवस्टेशन निर्माणको काम गरिरहेको आयोजना प्रमुख चौधरीले बताए । सवस्टेशन निर्माणको काम दुई बर्षभित्र सक्ने गरेर ०७७ जेठमा निर्माण व्यावसायीले सम्झौता गरेका थिए ।
यो काम तोकिएको समय अगाडीनै सम्पन्न हुने दाबी आयोजनाले गरेको छ । चौधरीका अनुसार सवस्टेशसनको कामसंगै अर्घाखाँचीबाट गुल्मीका दुई सवस्टेशनहुँदै बुर्तिबाङ्गसम्म मेन लाइन बिस्तारको लागि ८१ करोडको काम अगाडी बढेको छ ।
प्रसारण लाइनले चार जिल्ला जोड्दै
आयोजना मार्फत कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची सन्धिखर्कहुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिबाङसम्म ८६ किलो मिटर दुरीमा पाँच वटा सव स्टेशन निर्माण हुँदैछन् । त्यसमध्ये कपिलवस्तु र अर्घाखाँचीमा सवस्टेशन निर्माणको काम सकिएर चार्ज गर्ने काम हुँदैछ ।
सवस्टेशन निर्माणसँगै प्रसारण लाइन विस्तारको काम पनि भएको छ । कपिलवस्तुदेखि अघाँखाँचीको ठाडासम्म प्रसारण लाइनको टावर निर्माण गरिएको आयोजना प्रमुख मनोज प्रसाद चौधरीले बताए ।
‘काममा सवैको सहयोग पाएका छौ । तोकिएकै समयमा सवै काम पुरा गर्ने गरेर आयोजनाले काम गरिरहेको छ,’उनले भने,‘सवस्टेशनसंगै प्रसारण लाइन विस्तारको काम गरिहाल्छौ ।’
गौरवको आयोजना हो- पुर्व मन्त्री बिष्ट
चार जिल्लाका पाँच मध्ये गुल्मीमा १३२ केभिए प्रसारण लाइनका दुई वटा सवस्टेशन निर्माण भइरहेका छन् ।
१३२ केभिए प्रसारण लाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङलाई प्रत्येक्ष फाइदा पुग्ने पूर्व उर्जा मन्त्री समेत रहेका गोकर्ण बिष्टले बताए । उनले १३२ केभिए प्रसारण लाइनको बिस्तारसंगै गुल्मी र बाग्लुङ्ग भएर बग्ने नदिहरुको बिद्युत उत्पादन जोडेर औद्योगिक क्षेत्रसम्म बिस्तार गरिने बताए । ‘म उर्जामन्त्री भएको बेला यो आयोजनालाई बजेटमा व्यवस्था गरेका हौ ।
उर्जा विकास मार्फत चार जिल्लाका नागरिकको जीवनका आयोजनाको ठुलो महत्व छ,’उनले भने,‘समयमै काम पुरा हुनेमा आशा र भरोसा समेत रहेको छ ।’
भरपर्दो सेवाको आशा
केहि दिन अघि तीन दिन जिल्लाभरको बिद्युत बन्द हुँदा नागरिकले निकै सास्ती खेपे । गुल्मीमा बिद्युत सेवा अवरुद्ध हुन कुनै ठुलो समस्या चाहिँदैन् ।
अनियमित बिद्युतको मारमा उद्योगी व्यावसायीदेखि नागरिक परिरहेका छन् । अनियमित विद्युतको प्रमुख कारण ३३ केभिए प्रसारण लाइन हो ।
जसका कारण जिल्ला भित्रिएको निर्माणाधीन १३२ केभिए राष्ट्रिय विद्युत प्रसारण लाइनसंगै नागरिकको भरपर्दाे विद्युतीय सेवाको आशा जोडिएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका इश्वर कुमार श्रेष्ठले १३२ केभिए राष्ट्रिय विद्युत प्रसारण लाइनले जिल्लाको ५० प्रतिशत बिद्युत समस्या समाधान हुने बताए ।
उनले अहिले बुटवल–पाल्पा र अर्घाखाँचीबाट दुई रुटको ३३ केभिए प्रसारण लाइनका कारणले नियमित बिद्युतमा समस्या देखिएको बताए । ‘एक जिल्लामा राष्ट्रिय बिद्युत प्रसारण लाइनका दुई सवस्टेशन बन्ने बिषय गुल्मेलीका लागि सुखद बिषय हो,’उनले भने,‘अब अहिलेको अनियमित बिद्युतको समस्या धेरै हदसम्म समाधान हुन्छ ।’