लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर १ बाट एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ बाट सचिव गोकर्ण विष्ट उम्मेदवार छन् ।
पूर्वमन्त्री समेत रहेका ज्ञवालीसँग कांग्रेसका प्रभावशाली युवा नेता डा. चन्द्र भण्डारी र विष्टसँग एकीकृत समाजवादीकी सचिव तथा महिला नेत्री रामकुमारी झाँक्री प्रतिस्पर्धामा उत्रिएका छन् ।
चारैजना उम्मेदवार गुल्मीमै जन्मिएर जिल्लालाई नै राजनीतिक कर्मथलो बनाएका नेतामा पर्छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी कसेर चुनावमा होमिएको सत्तारूढ कांग्रेस–माओवादी गठबन्धनले जिल्लामा एमालेको ‘परम्परागत विरासत’ जोगाउन कडा चुनौती अगाडि सारेको छ । २०७४ को निर्वाचनमा एमाले–माओवादी मिल्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ कांग्रेस ‘क्लिन स्विप’ भएको थियो ।
गुल्मी–१ मा ज्ञवाली र भण्डारी पाँचौंपटक आमनेसामने हुँदैछन् । यसअघि झण्डै ८ हजारभन्दा बढी मतान्तरले ज्ञवालीले जीत निकाल्दा माओवादीको साथ थियो । ज्ञवालीले यो क्षेत्रबाट २०५६, २०६४ र २०७४ मा जीत निकाल्दा भण्डारी १ पटक २०७० मा विजयी भएका थिए ।
पूर्वमन्त्री ज्ञवाली र ‘हेभीवेट’ नेता भण्डारीको चुनावी रस्साकस्सीले मतदातामा समेत उत्सुकता बढेको छ । दुई दशकदेखि भण्डारीसँग प्रतिस्पर्धा गर्दै आएका ज्ञवाली एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिन्छन् । ज्ञवाली निर्वाचनपछि एमाले पहिलो शक्ति बनेर सरकार बनाउने दाबीसहित प्रचार–प्रसारमा गाउँ–गाउँ पुगेका छन् ।
ज्ञवाली जिल्लाका जनताका लागि आफूले गरेका काम नै जीतको आधार रहेको बताउँछन् । ‘हामीले मतदाताका लागि सयौं काम गरेका छौं । त्यो भनिरहनु पर्दैन । जनता आफैँ सचेत भइसकेका छन्,’ ज्ञवालीले भने ।
उत्तर–दक्षिण कालीगण्डकी करिडोर, मदन भण्डारी र रिडी खज्रयाङ–बलकोट लगायतका सडक सञ्जाल विस्तारका काम पूरा गर्ने ज्ञवालीले बताएका छन् । शिक्षा, स्वास्थ्य र रोजगार पनि ज्ञवालीको प्राथामिकतामा छन् ।
नेपाल विद्यार्थी संघको महामन्त्री बनेर राष्ट्रिय राजनीतिमा आए पनि एकपटक संविधानसभा सदस्यबाहेक लाभको पदमा नपुगेका भण्डारी यसपालि माओवादीको दह्रो साथको बलमा जीत दर्ता गर्ने अभियानमा छन् । शिक्षा र स्वाथ्यमा जनतालाई जोडेर अगाडि बढ्ने योजना रहेको भण्डारी बताउँछन् ।
‘हामी अहिले गठबन्धन पनि भएका छौं,’ भण्डारीले भने, ‘हामीले जिल्लामा अगाडि सारेका विकास आयोजना हाम्रा जीतका आधार हुन । त्यसमाथि हामीबीच बलियो एकता भएको गठबन्धन पनि छ ।’
भण्डारी कांग्रेस संस्थापन पक्षको कटु आलोचक हुन् । बौद्धिक नेताद्वय ज्ञवाली र भण्डारीको मित्रवत प्रतिस्पर्धा हुँदै आएको छ ।
गत वैशाखको पालिका मत अनुसार गुल्मी– १ मा पर्ने जिल्ला ५० वटा वडामध्ये २३ मा एमाले, २२ मा कांग्रेस, ३ मा माओवादी र बाँकी २ मा अन्य दल विजयी भएका छन् । यो क्षेत्रमा १ लाख १९ हजार २८८ मतदाता रहेका छन् । गुल्मी–१ (१) मा गठबन्धनले कांग्रेसका धनेन्द्र कार्की र १ (२) मा माओवादीका युवा नेता तथा प्रदेशका पूर्वमन्त्री सुदर्शन बराललाई अगाडि सारेको छ । एमालेले १ (१) मा प्रदेश सदस्य चिन्तामणि पाण्डेलाई उम्मेदवार बनाएको छ भने १ (२) मा प्रदेश सदस्य फर्सराम पाण्डे प्रतिष्पर्धामा छन् ।
गुल्मी– २ मा यसपटक पूर्वसहकर्मी गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धा चाखलाग्दो छ । यही क्षेत्रबाट पाँचौंपटक उम्मेदवार बनेका विष्टसँग वर्षौंसम्म सँगै काम गरेकी पूर्वमन्त्री झाँक्री प्रतिस्पर्धामा छिन् ।
झाँक्रीलाई राजनीतिमा ल्याउन विष्टको योगदान रहेको आधारमा गुरुचेलीबीचको प्रतिस्पर्धाका रूपमा कतिपयले अथ्र्याएका छन् । लगातार ५ पटक कम्युनिस्टले चुनाव जितेको यो क्षेत्रमा अहिले कम्युनिस्ट–कम्युनिस्ट जित्दै आएको यो क्षेत्रमा अहिले कम्युनिस्टबीच प्रतिस्पर्धा छ । यसअघि विष्टले दश हजारभन्दा बढी मतान्तरले जितेका थिए ।
झाँक्री गठबन्धनका कांग्रेस, माओवादी र नेकपा एसले स्थानीय चुनावमा प्राप्त गरेको मत संरक्षण गरेरै जित्ने दाउमा छिन् ।
चुस्त संगठन र चलायमान कार्यकर्ताद्वारा संगठित पार्टीको मत बढाउँदै गठबन्धनका असन्तुष्ट कार्यकर्ता र अन्य साना दलका कार्यकर्ताको मन जितेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा विष्ट देखिएका छन् ।
झाँक्री २०७४ मा एमालेबाट समानुपातिक सांसद भएकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एसतर्फ लागेकी हुन् । गुल्मी–२ मा ४३ वडा पर्छन् । गत पालिका निर्वाचनमा कांग्रेसले २५, एमालेले १७ र माओवादीले एउटा मात्र वडामा जितेका छन् ।
कृषि र पर्यटनबाट उद्यमशीलता, स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति थप, घर–घरमा पिउने पानीदेखि विद्युत्को राष्ट्रिय प्रशारण लाइन सबै क्षेत्रमा पुर्याउने विष्टका चुनावी एजेण्डा छन् ।
संविधानको रक्षा, संघीयतालाई दिगो बताउँदै सबै प्रकारका विकास आयोजना ल्याउने र निर्धारित मितिमै सफल कार्यान्वन गर्ने झाँक्रीका चुनावी योजना छन् । गुल्मी–२ (१) को प्रदेशसभातर्फ एमालेबाट रेसुङ्गा नगरपालिकाका पूर्व मेयर डिल्लीराज भुसाल र गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ ।
गुल्मी– २ को प्रदेशसभातर्फ पूर्व सहकर्मीबीच हुँदैछ । २ (२) बाट एमालेका दिनेश पन्थी र माओवादीका युवा नेता बुद्धि जिसी प्रतिस्पर्धा हुँदैछ । यसअघिको चुनावमा माओवादीबाट निर्वाचित पन्थी तत्कालीन नेकपा विभाजनपछि एमालेमा लागेका थिए । विष्ट शालीन र झाँक्री आक्रामक स्वभाव बनाएका नेतामा पर्छन् ।
यो क्षेत्रमा स्थानीय तह चुनावमा वडा अध्यक्षले प्राप्त गरेको मतअनुसार एमालेले ३१ हजार २५३, कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एकीकृत समाजवादी ६५८, र राप्रपाले १०१ मत पाएका थिए । माओवादी र एसले अधिकांश वडामा उम्मेदवारी दिएका थिएनन् ।
यो क्षेत्रमा पहिलो शक्ति एमाले देखिए पनि गठबन्धनको मत जोड्दा एमालेभन्दा गठबन्धन १ हजार १७४ मतले अगाडि देखिन्छ ।
लोकान्तरबाट साभार