चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

बुटवलमा खुल्यो २५ लाखको लगानीमा दुना–टपरी उद्योग

  • कल्पना गाहालाई सालको पातबाट दुना-टपरी बनाइन्छ भन्ने थाहा थियो। बुटवल, देवीनगरकी उनले सानो छँदा घरगाउँमा हजुरआमा र आमाहरूले दुना-टपरी गाँसेको देखेकी थिइन्।

    गाउँघरमा जंगलबाट पात टिपेर ल्याउने र महिलाहरू जम्मा भएर दुना-टपरी गाँस्ने चलन छ। सहरतिर यो चलन लगभग हराइसक्यो।

    कल्पनाका पालासम्म आइपुग्दा त सुकुलमा पलेँटी कसेर दुना-टपरी गाँस्न पर्दैन। पहिले कहिल्यै दुना-टपरी नगाँसेकी कल्पना पनि अहिले मेसिनबाट बनाउँछिन्।

    १८ वर्षीया कल्पनाले यही वर्ष बुटवल, देवीनगरस्थित ‘नवीन औद्योगिक कद्दरबहादुर रीता मावि’ बाट एसइई उत्तीर्ण गरेकी हुन्। गत वैशाखमा परीक्षा दिएपछि खाली समयमा केही काम गर्न मन लाग्यो। उनी देवीनगरमै केही महिनाअघि खोलिएको ‘नेचुरल दुना-टपरी उद्योग’ मा पुगिन्।

    त्यसयता उनी यहीँ काम गर्दैछिन्। उनीसँगै देवीनगरकै दुर्गा क्षेत्री र अरू चार जना महिला यो उद्योगमा मेसिनबाट दुना-टपरी बनाउन र प्याकिङ गर्न दिनभर व्यस्त रहन्छन्।

    यो उद्योग सञ्चालक हुन् ज्ञानु केसी। सानैदेखि राजनीतिमा सक्रिय र उद्यम पनि गरिरहेकी ज्ञानुले आफूसँगै कल्पना र उनीजस्ता ग्रामीण क्षेत्रका महिलालाई आयआर्जनमा जोड्ने एउटा उपायका रूपमा यो उद्योग सञ्चालन गरेकी हुन्।

    ज्ञानु नेकपा एमाले, लुम्बिनी प्रदेशकी सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन्।

    ‘म उद्योगी बनेर आफूजस्ता महिलाहरूलाई रोजगारीमा जोड्न चाहन्थेँ,’ उनले भनिन्।

    जनसांस्कृतिक मञ्चमार्फत राजनीतिमा आएकी ज्ञानुले बुटवलमै मिनरल वाटर उद्योग चलाएकी थिइन्। राजनीतिमा सक्रिय भएपछि समय अभाव भएको ठानेर गत वर्ष उक्त उद्योग बेचिन्। उद्यमी बन्ने उनको सपना भने पूरा भएको थिएन।

    मिनरल वाटर उद्योग बेच्नुअघि उनले अन्य उत्पादनको मागबारे बजार अध्ययन गरेकी थिइन्।

    राजनीतिक यात्राको क्रममा विभिन्न जिल्लामा पुग्दा महिलाहरू दुना-टपरी उद्योग सञ्चालन गरेर उद्यमी बनेको जानकारी पाएकी थिइन्। पूजासामग्री पसलमा दुना-टपरीको माग आउने बुझेकी थिइन्। होटल र रेस्टुरेन्टमा नयाँपन खोज्दै दुना-टपरीको प्रयोग गरेको पनि थाहा पाइन्।

    बुटवलमा मागअनुसार दुना-टपरी आपूर्ति नभएको र अन्य जिल्लाबाट थोरै आउने गरेको पनि उनलाई थाहा भयो। दुना-टपरी व्यवसायमा राम्रो सम्भावना छ भन्ने थाहा पाएपछि उनले नवलपरासीको डन्डामा रहेको टपरी उद्योग अवलोकन गरिन्। अन्ततः उनले यही व्यवसाय गर्ने निधो गरिन्।

    ‘मलाई पहिल्यैदेखि म आफू मात्र स्वरोजगार बनेर हुँदैन, गाउँका महिलाहरूलाई पनि आयआर्जनमा जोड्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ ज्ञानुले भनिन्, ‘अहिले मेरो उद्योगले त्यो अवसर दिएको छ।’

    पम्परागत नेपाली दुना-टपरीले बजारमा प्लास्टिकका आयातीत प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। दुना-टपरी जंगलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चा पदार्थ अभाव हुँदैन। महिलाहरूलाई आय आर्जनका लागि दुना-टपरी उद्योग उपयुक्त हुने ज्ञानुको भनाइ छ।

    ज्ञानुका अनुसार प्लास्टिकभन्दा पातको टपरी केही महँगो पर्छ। तर स्वास्थ्य र वातावरणका हिसाबले अत्यन्त अनुकूल छ।

    ‘दुना-टपरीको कच्चा पदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहोर व्यवस्थापन सहज हुन्छ,’ ज्ञानु भन्छिन्, ‘आफ्नै वनपाखामा झरेर खेर जाने पात टिपेर बनाइने भएकाले कच्चा पदार्थको समस्या छैन। गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ।’

    हिन्दु संस्कारमा दुना-टपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने ज्ञानुको विश्वास छ। वातावरणीय दृष्टिले कुरा बुझाउन सक्दा प्रयोग झन् बढ्छ।

    ‘आफ्नो पुँजी अनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुना-टपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ,’ उनले भनिन्।

    पछिल्लो समय होटल र रेस्टुरेन्टहरूमा चाट, चाउमिन, सेलरोटी, बटुक इत्यादि खान पनि दुना-टपरी नै प्रयोग हुन थालेको छ। माग बढेको भए पनि उत्पादन कम छ।

    सालको पात टिप्न जंगल जानु पर्छ। व्यावसायिक रूपमा पात टिप्ने भनेपछि सामुदायिक वनका अधिकारीहरूले अवरोध गर्छन्। राष्ट्रिय वनमा पनि सहज छैन।

    आफ्नो उद्योगका लागि ज्ञानुले सामुदायिक वनका पदाधिकारीहरूसँगै छलफल गरेर सहजीकरण गरेकी छन्। रूपन्देहीको देवदहका केउली, चरंगे र भलुहीका महिलाहरू स्थानीय सामुदायिक वनबाट पात टिपेर लाफा बनाउँछन्। यसैबाट उनीहरू उद्योगसँग जोडिएका छन्।

    लाफा भनेको आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण हो।

    देवदहको केउलीकी पविसरा घर्तीमगरले आफैं पात टिपेर लाफा बनाई एक महिनामै १५ हजार रूपैयाँभन्दा बढी आम्दानी गरेको बताइन्।

    पविसरासँगै केउलीका अरू १६ जना महिला पात टिपेर लाफा बनाउँछन्।

    देवदहको चरंगेका १४ जना महिला यही काममा ज्ञानुको उद्योगसँग जोडिएका छन्। ज्ञानुका अनुसार पात टिपेर लाफा बनाउने र उद्योगमा मेसिन चलाउने गरी कम्तीमा ४० जना महिला आयआर्जनमा जोडिएका छन्।

    ‘बिहान घरधन्दा सकेर दिउँसो एक-दुई घन्टा समय निकालेर काम गरे पनि दुई-चार हजार रूपैयाँ कमाइ हुन्छ,’ पविसराले भनिन्।

    एक जनाले दिनभरिमा चार सयसम्म लाफा गाँस्न सक्ने पविसराको भनाइ छ। टपरी नै गाँस्ने हो त्यसको एक चौथाइ पनि हुँदैन।

    ‘एकदिन जंगल गएर टिपेको पातले तीन-चार दिन लाफा बनाउन सकिन्छ। यसबाट हामीलाई घरव्यवहार चलाउने आर्जन भएको छ,’ उनले भनिन्।

    दुना-टपरी बनाउने सानै उद्योगमा पनि ४० जना महिलालाई आयआर्जनमा जोड्न पाएकोमा ज्ञानुलाई सन्तोष लागेको छ।

    ‘आयआर्जनमा जोडिन म आफैंले महिलाहरूलाई उत्प्रेरित गरेकी छु,’ ज्ञानु भन्छिन्, ‘दिनभरि घर बसेर समय बिताउनुभन्दा दिदीबहिनी मिलेर काम गर्दा उहाँहरूलाई पनि रमाइलो भएको छ।’

    महिलाहरू घरै बसेर लाफा गाँस्छन्। ज्ञानु घरघर पुगेर पैसा दिएर लाफा जम्मा गर्ने व्यवस्था मिलाउँछिन्। उद्योगले एउटा लाफालाई आकारअनुसार गोटाको कम्तीमा ५० पैसादेखि बढीमा २ रूपैयाँसम्म दिन्छ। दुना, बौता र टपरीको फरकफरक मूल्य हुन्छ।

    उत्पादित दुना-टपरीको मूल्य आकारअनुसार २ रूपैयाँदेखि ५ रूपैयाँसम्म छ। ज्ञानुका अनुसार उद्योगले १२ इन्चको ठूलो टपरी ५ रूपैयाँ, १० इन्चको ४ रूपैयाँ, ७ इन्चको ३ रूपैयाँ र ५ इन्चको बौता २ रूपैयाँमा बेच्छ।

    ‘पितृकार्य, पूजाआजा र होटल-रेस्टुरेन्टमा धेरैजसो बौताको माग हुन्छ,’ ज्ञानुले भनिन्।

    उनको उद्योग सुरू भएको दुई महिना पूरा भयो। हाल यहाँ झन्डै तीन लाख वटा दुना-टपरी बजार पठाउन तयार छन्। त्यत्तिकै हाराहारी संख्यामा लाफा तयार छन्।

    लाफा बनाउन हरियो र नरम पात सजिलो हुन्छ। टपरीको घेरो उठाउन लाफा सुकेको हुनुपर्छ। हरियोमा मेसिनमा राख्दा पात डढ्ने सम्भावना भएकाले सुकाएर मात्रै मेसिनबाट टपरी बनाइन्छ। पातमा सिन्का लगाएर गाँसेको लाफा मेसिनमा राखेर फेरो उठाइन्छ। टपरीको आकार बाहेकको लाफाको भाग पनि मेसिनले नै काट्छ।

    ज्ञानुले उद्योग राख्न आठ धुर जग्गा भाडामा लिएर टहरो बनाएकी छन्। टपरी बनाउने चार वटा हाइड्रोलिक अटोमेटिक मेसिन छन्। टहरा बनाउने र मेसिन जडान गर्ने काममा करिब २५ लाख रूपैयाँ लगानी भएको उनले बताइन्।

    एउट मेसिनले एक घन्टामा चार सय जति दुना-टपरी उत्पादन गर्छ। खपतमा समस्या छैन। मागअनुसार उत्पादन गर्न लाफा बनाउने काममा अझै धेरै महिलालाई जोड्न आवश्यक रहेको ज्ञानु बताउँछिन्।

    उद्योगमा जोडिएका महिलाको उत्साहबाट ज्ञानुको आत्मबल निकै बढेको छ।

    सालको पात वर्षभरि टिप्न नमिल्ने भएकाले माग र आपूर्तिको सन्तुलन मिलाउन भने चुनौती छ।

    ‘करिब चार महिना पात नपाइन सक्छ। त्यस बेलाका लागि पहिल्यै लाफा तयार गर्न सके वर्षभरि उत्पादन गर्न सकिन्छ,’ उनले भनिन्।

    सालका नयाँ रूखबाट पात टिप्ने व्यवस्थाका लागि सालझन्डी, मुर्गिया, बेलबास, पाल्पाको दोभान र कपिलवस्तुमा पनि छलफल भइरहेको उनले बताइन्।

    राजनीतिमा लागेका युवाहरूलाई उत्पादनसँग जोडिन ज्ञानु सुझाव दिन्छिन्।

    उनी भन्छिन्, ‘राजनीति विशुद्ध समाजसेवा हो। आर्थिक उपार्जन नगरी समाजसेवा गर्न सकिँदैन। राजनीतिमा टिकिरहन पनि उत्पादनसँग जोडिन जरुरी छ।’

    उत्पादन र स्वरोजगारीसँग जोड्न सकिएन भने राजनीति टिकाउ नहुने र जनताले पनि विश्वास नगर्ने ज्ञानुको भनाइ छ।

    ‘आर्थिक समृद्धिबिनाको राजनीति दिगो हुँदैन,’ उनले भनिन्, ‘राजनीति गर्ने व्यक्ति आफैं उत्पादनसँग जोडिन सक्दैनौं भने अरूलाई के सिकाउने!’

    ज्ञानुका अनुसार राजनीतिक व्यक्ति आफैंले उद्यम गरे मात्रै अरूलाई पनि उद्यम गर भन्ने अधिकार हुन्छ। जनतालाई राजनीतिप्रति आकर्षित गर्न पनि राजनीतिज्ञ उत्पादनमा जोडिनै भन्ने विश्वास उनको छ।

    सेतोपार्टी बाट साभार

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार