
देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ । देशमा ३ तहका सरकार बनेका छन् । यो सबै लोकतान्त्रिक गणतन्त्रको प्राप्ति हो । संघीय गणतन्त्रका लागि धेरैले ज्यानको आहुति दिए । अङ्गभङ्ग भए । कैयौँ अझै पनि गोलीको दाग मेटाउन जीवनसँग सड्घर्ष गरिरहेका छन् ।
नेपालमा लोकतन्त्र प्राप्तिका लागि १९ दिने शान्तिपूर्ण जनआन्दोलन २४ चैत २०६२ देखि ११ वैशाख २०६३ सम्म चल्यो । अन्ततः यो आन्दोलनले नेपाललाई एउटा निर्णायक विन्दुमा पुर्यायो । फलस्वरुप १ माघ २०६३ मा नेपालको अन्तरिम संविधान २०६३ जारी भयो । जनआन्दोलन २०६२/२०६३ पछि वर्तमान राजनीतिक संक्रमणको व्यवस्थापन र संविधानसभाको चुनाव गर्ने जिम्मेवारी पाएका ७ राजनीतिक दलको सहमतिअनुसार नेपालमा ऐतिहासिक संविधानसभाको निर्वाचन २८ चैत २०६४ मा सम्पन्न भयो ।
१५ जेठ २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले गणतन्त्र नेपाल घोषणा गर्यो र गणतन्त्र नोपलका प्रथम राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा निर्वाचित भए ।
राजालाई शासनबाट हटाउनका लागि ७ दलको नेतृत्वमा देशभर जनओन्दोलन भइरहेको थियो । बुटवलमा पनि दैनिक सभा र आन्दोलन भइरहेका थिए । तत्कालीन श्री ५ को सरकारले आन्दोलन दबाउन अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । जनता कर्फ्यू तोड्न र सरकारको शासनविरुद्ध आवाज उठाइरहेका थिए ।
बुटवलमा पनि लोकतन्त्रको पक्षमा आन्दोलन चर्किरहेको थियो । २५ चैत २०६२ का दिन बिहानै तत्कालीन श्री ५ को सरकारको आदेशमा जारी भएको कर्फ्यू तोड्ने कार्यक्रम भयो । त्यसको नेतृत्व तत्कालीन एमालेबाट भोजप्रसाद श्रेष्ठ र नेपाली कांग्रेसबाट युवराज गिरीले गरेका थिए ।
बुटवलको दीपनगरबाट १ सय जनाको युवा टोली कर्फ्यू तोड्नका लागि श्रवणपथ हुँदै अस्पतालाइन निस्कियो । पुष्पलाल पार्कमा गएर चर्को नाराबाजी गर्दै आन्दोलन अगाडि बढाउने योजनाका साथ आएका युवाहरूलाई पुष्पलाल पार्कनजिक नपुग्दै तत्कालीन शाही नेपाली सेना र प्रहरीको झुण्डले आक्रमण गर्यो । हवाई फायर गर्यो, अश्रु ग्यासको सेल हान्यो । त्यसपछि आन्दोलनकारीको भागाभाग भयो । कोही मिलनचोकतिर भागे । कोही ट्राफिकचोक, कोही पुनः दीपनगरतर्फ दौडिए ।
त्यही आन्दोलनमा सहभागी थिए बुटवलका अञ्जन श्रेष्ठ । प्रहरीले अश्रु ग्यास, लाठी हानेपछि श्रेष्ठ पनि ज्यान बचाउन मैत्रीपथमा विन्दु सागर गिरीको घरभित्र पसे । त्यहाँ पुग्नासाथ आएको सेनाले श्रेष्ठलाई आन्दोलनकारी तैँ होइनस्’ भन्दै लाठी, बुट र बन्दुकको नाल श्रेष्ठको शरीरभरी बजारे । ‘ऐया… ऐया’ भन्दै उनी भुइँमा लडे ।
कुटाइबाट रगताम्य श्रेष्ठलाई बन्दुकको नालले बायाँ आँखामा हिर्कापछि उनलाई त्यहाँबाट उद्धार गरेर लुम्बिनी अञ्चल अस्पताल (हाल प्रादेशिक)मा पुर्याइयो । त्यहाँ आँखामा पट्टी बाँधेपछि फेरि भैरहवामा थप उपचारका लागि लगियो । भैरहवामा करिब ४ दिनसम्म राखेर पनि आखाँको उपचार सम्भव नभएपछि उनी काठमाडौंस्थित तिलगंगामा उपचारका लागि गए ।
उनी उपचारमा रहेको केही दिनमै आन्दोलन समाप्त भयो र देशमा लोकतन्त्रको बहाली भयो । काठमाडौंलगायत देशभर उत्सव, र्याली निकालिए । तर, काठमाडौंमा उपचारमा रहेका कारण उनी त्यो उत्सवमा सहभागी हुन पाएनन् । अस्पतालमा बस्दा करिब ८० हजार रुपैयाँभन्दा बढी उनको खर्च भयो । २ महिनाको अस्पताल बसाइपछि उनी बुटवल त फर्किए तर एउटा आँखाको ज्योति सदाका लागि गुमाएर ।
उपचार खर्च सरकारले व्यहोर्यो । लोकतन्त्रपश्चात् श्रेष्ठलाई सरकारले ६० प्रतिशत घाइते भएको प्रमाण दियो । घाइते भएका उनलाई सरकारले २०६३ चैतमा ४ लाख २५ हजार रुपैयाँ दियो । त्यसपछि श्रेष्ठले केही गर्ने योजना बनाए ।
राहतवापतको केही रकमले उनले मिलनचोकमा दोस्ती विविध सेवा सुरु गरे । फोटोकपी गर्ने, बाइन्डिङ गर्ने काम गरे । त्यसपछि त्यही व्यवसायलाई माथि लैजाँदै श्रेष्ठले २०६९ सालमा ट्राभल्स सञ्चालन गरे । बुटवलको मिलनचोकमा उनको बुटवल इन्टरनेसनल टुर्स एण्ड ट्राभल्स प्रा.लि. छ । हाल त्यसैबाट उनले जीविकोपार्जन गरिरहेका छन् ।
उनी जस्ता हजारौँ युवाको योगदानले देशमा संघीय गणतन्त्र स्थापना त भयो । तर, अपेक्षित परिर्वतन भएको महसुस श्रेष्ठले गरेका छैनन् । ‘ज्यानको बाजी राखेर निरङ्कुश शासन ढाल्नका लागि पट्टी बाँधेर आन्दोलन गर्यौँ । आन्दोलन पूर्ण पनि भयो । तर, परिर्वतनको महसुस जनताले गरेनन् । खाली नेताले मात्र यसबाट लाभ लिए , उनले भने ।
श्रेष्ठ अहिले पनि ५-६ महिनामा नियमित रूपमा अर्को आँखाको ज्योति पनि नगुमोस् भनेर जाँचका लागि काठमाडौँ जान्छन् । उनी भन्छन्, ‘गणतन्त्र आए पनि जनताको दुःख उस्तै छ, यो देशका लागि गर्ने कोही भएनन् । नेताहरूले पनि खाली आफ्नो पेट भर्ने काम गरे ।’
जनताका आधारभूत गाँस, बास, कपास अहिले पनि पूरा नभएको श्रेष्ठ बताउँछन् । उनले भने, ‘नेताले आफू र आफ्ना आसेपासेलाई मात्र हेरे । जनता जहाँको त्यहीँ छन् । अहिलेको राजनीति देख्दा पनि वाक्क लाग्छ ।’
अञ्जनको सरकारलाई एउटै सुझाव छ, ‘विगत नभुल । विगतका वाचा पूरा गर्न सके मात्र नेपाल साँच्चिकै बन्छ । आफ्नो स्वार्थलाई नेताले त्याग गरे नेपाल बन्न बेर लाग्दैन । स्वार्थ त्याग गर ।’
अकाईभबाट
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७