‘उठो अलबेली, बहारी डारो अँगना
कटे के बहर्नी, कटे के बहना
उठो अलबेली, बहारी डारो अँगना।’
अर्थात्
‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।
माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ।
गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको पाइन्छ। चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने गरिन्छ।
 
 
 
 
 
 
 
 










