बुटवल । बुटवलमा छाडा सांढे (गोरु) को आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११, रंगशाला मार्गमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँढेको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
राति करिब ९ बजे घरबाट रोटी लगेर खुवाउने क्रममा एक्कासी साँढेले आक्रमण गर्दा घाइते भएका हुन् । साँढेको आक्रमणबाट बुढाथोकीको छाती, घुँडा, कुहिना र ढाडमा चोट लागेको छ । उनको दायाँ छातीमा गम्भीर चोट लाग्नुका साथै ढाडको पाँचवटा करङको हड्डी भाँचिएको बुढाथोकीले बताए ।
बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार गराएका उनलाई बसेको र सुतेको ठाउँबाट उठाउन, बसाल्न र सुताउन तथा शौचालय जान दुई जना सहयोगी चाहिने अवस्था रहेको घाइतेकी आमा शान्ति बुढाथोकीले बताइन् । ‘खाना खाएर बसेका थियौं, बाहिर सांढेहरु भोकले कराएको सुनेपछि रोटी र तरकारी लगेर हातैले खुवाउन थालें, दुई वटा सांढे थिए, एकछिन पछि एउटा साँढेले एक्कासी दाहिने छातीतिर आक्रमण गरेपछि ढलें’, बुढाथोकीले भने, ‘केही बेर बेहोस भएछु, पछि दुई जना महिलाले उद्धार गरेर अस्पताल पुर्याउनुभयो ।’
घटनाबारे आफूले बुटवल उपमहानगरको नेतृत्व र बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीलाई जानकारी गराउँदै उपचार खर्चको अपेक्षा गरेपनि बेवास्ता भएको गुनासो गरे । चिकित्सकले कम्तीमा तीन महिना बेड रेस्ट गर्नुपर्ने सुझाव दिएकाले आफूलाई आर्थिकरुपमा पनि ठूलो क्षति पुगेको बताए ।
वैदेशिक रोजगारीका क्रममा मकाउमा रहेका बुढाथोकी दुई महिनाको विदा लिएर घर आएका थिए । ‘दुई महिनाभित्रै फर्किने गरी नेपाल आएको थिएँ, अब तीन चार महिना आराम गरेर बस्नुपर्ने भयो, फेरि भिसा दिन्छ कि दिन्न थाहा छैन’, बुढाथोकीले भने, ‘घरमा अन्य आयस्रोत छैन, चार महिना काम गर्न नसक्ने हुँदा घर खर्च चलाउन पनि समस्या हुने अवस्था छ ।’
बुटवल उपमहानगरले छाडा चौपाया व्यवस्थापनका लागि बुटवल ७ शिवनगरमा नन्दिनी गौशाला सञ्चालनमा ल्याएर बर्सेनि लाखौं रकम खर्च गरेपनि छाडा चौपायाको व्यवस्थापन हुन नसक्दा त्यसको शिकार आफू हुनुपरेको बुढाथोकीले बताए । ‘बुटवल उपमहनगरले छाडा गाई गोरु व्यवस्थापन गर्न गौशाला बनाएर अहिलेसम्म करोडौं खर्च गरेको छ तर सांढे जति सडक र गल्लीमै देखिन्छन् जसको शिकार म आफै भएँ’, शैलेन्द्रले भने, ‘म र मस्तै छाडा सांढेको आक्रमणमा परेकालाई उपमहानगरले उपचार खर्च र क्षतिपूर्ति दिनुपर्छ ।’
उनले घटनाको र गौशालामा भएको लगानी, खर्चको उचित छानबिन गर्न पनि माग गरे । उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम सुनारले उपमहानगरले प्रयास गरेपनि पूर्णरुपमा छाडा साँढे व्यवस्थापन गर्न नसकिएको स्वीकार गरे । छाडा चौपाया व्यवस्थापनका लागि वार्षिक लाखौं र हालसम्म करोडौं रुपैयाँ खर्च भए पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेको सुनारको भनाइ छ ।
दुई वर्षअघि बुटवलमै गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको साँढेको आक्रमणबाट गम्भीर घाइते भई उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।




