रंगहरू केवल भित्तामा पोखिने दृश्य मात्र होइनन्, ती मानिसका अनुभव, पीडा, सपना र सङ्घर्षका मौन अभिव्यक्ति पनि हुन्। बुटवलका ४७ वर्षीय गंगाराम आचार्यको जीवन त्यस्तै एउटा रंगीन क्यानभास हो, जहाँ अभाव, अप्ठ्यारा र शारीरिक सीमितताका धुम्म रंगमाथि उनले आफ्नो अटल आत्मविश्वास र मेहनतका चम्किला रेखाहरू कोरेका छन्। शरीरले साथ नदिए पनि मनको शक्ति कहिल्यै नहार्ने गंगाराम अहिले बुटवलमा ‘गंगा आर्ट्स’ नामले परिचित सफल कलाकार बनेका छन्।
अग्ला भित्ताहरूमा आकर्षक अक्षर कोर्नेदेखि विद्यालयका पर्खालमा बालमैत्री चित्र बनाउनेसम्मका काममा उनी निरन्तर व्यस्त देखिन्छन्। साइनबोर्ड, ब्यानर, होर्डिङ बोर्ड र भित्तेलेखनमा उनको कला छुट्टै पहिचान बनाइसकेको छ। ग्राहकहरू एकपटक काम लगाएपछि फेरि उनैलाई खोज्ने गर्छन्। उनी भन्छन्, “शारीरिक अवस्था कमजोर हुँदैमा मान्छेको क्षमता सानो हुँदैन। अवसर र पहुँच पायो भने जोसुकैले आफ्नो जीवन बदल्न सक्छ।”
पर्वतको साविक धाइरिङ गाविसमा जन्मिएका गंगारामको बाल्यकाल भने निकै कठिन रह्यो। सानै उमेरमा पोलियो रोग लागेपछि उनका खुट्टाले सामान्य रूपमा काम गर्न सकेनन्। समयमै उपचार हुन नसक्दा उनी जीवनभरका लागि शारीरिक रूपमा फरक बन्न पुगे। त्यसमाथि बाल्यकालमै बुवाको निधन भयो। घरमा आमालाई खेतीपाती र घरधन्दाले भ्याइनभ्याइ थियो। दाइदिदी विद्यालय जान्थे, तर गंगाराम भने घर वरिपरि हातखुट्टाको भरमा घिस्रँदै दिन बिताउँथे। गाउँको विद्यालय टाढा थियो, बोकेर पुर्याउने अवस्था परिवारसँग थिएन।
उमेरसँगै पीडा पनि थपिँदै गयो। अन्ततः उनकी आमा लक्ष्मीले २०४२ सालतिर उनलाई बुटवल ल्याइन्। त्यतिबेला समाज कल्याण केन्द्रले अनाथ तथा अपाङ्गता भएका बालबालिकालाई आश्रय र शिक्षाको व्यवस्था गरिरहेको थियो। सात वर्षको उमेरमा आमाले बुटवल छाडेर फर्किँदाको क्षण उनी अहिले पनि बिर्सन सक्दैनन्। परिवारबाट टाढा भएर नयाँ वातावरणमा घुलमिल हुन उनलाई निकै कठिन भयो।
बुटवल आएपछि पनि तीन वर्षसम्म उनले घिस्रिएरै हिँड्नुपर्यो। पोलियोका कारण उनका खुट्टा बाङ्गिएका थिए। पछि केन्द्रको पहलमा उनलाई थप उपचारका लागि काठमाडौं लगियो। झन्डै एक वर्षको उपचारपछि उनका पैताला अगाडितर्फ फर्किए र उनी खुट्टा टेकेर हिँड्न सक्ने भए। जीवनले केही सहज मोड लिन थालेकै बेला २०४६ सालको जनआन्दोलनका कारण उपचार बीचमै रोकियो। उनी पुनः बुटवल फर्किए र पढाइलाई निरन्तरता दिए।
तर एसएलसीपछि फेरि अर्को सङ्घर्ष शुरू भयो। केन्द्रमा बस्न पाइने अवधि सकिएपछि अब कहाँ जाने, कसरी बाँच्ने भन्ने चिन्ताले उनलाई सताउन थाल्यो। परिवार चितवन बसाइँ सरेको थियो। दाइ लिन आए पनि उनी बुटवलमै बसेर केही गर्ने अठोटमा थिए। जीविकोपार्जनका लागि उनले शुरूमा सडकमा भेटिएका च्यातिएका नोट टिपेर बैंकमा साट्ने कामसम्म गरे। त्यही क्रममा उनले आफ्नो रुचिलाई व्यवसाय बनाउने निर्णय गरे।
“मलाई सानैदेखि चित्र कोर्न मन पर्थ्यो,” गंगाराम सम्झन्छन्, “त्यसैले २०५३ सालदेखि पेन्टिङको काम थालेँ। त्यसपछि यही मेरो संसार बन्यो।”
त्यो समय भित्तेलेखन र पेन्टिङको व्यवसाय निकै चल्तीमा थियो। चुनावका बेला झण्डा, ब्यानर र चुनाव चिह्न बनाउन उनलाई भ्याइनभ्याइ हुन्थ्यो। राजनीतिक दलदेखि विद्यालयसम्म, भित्तामा चित्र वा अक्षर कोर्नुपरे पहिलो रोजाइमै उनको नाम आउँथ्यो। अहिले प्रविधिको विस्तार र निर्वाचन आयोगको नियमले झण्डा तथा भित्ते प्रचारमा कमी आएपछि व्यवसायमा असर परेको उनी बताउँछन्। तर पनि उनले आफ्नो कला छोडेका छैनन्।
उनको वैवाहिक जीवन पनि रोचक घटनाबाट शुरू भएको थियो। २०६२ सालमा स्थानीय रेडियोमा प्रसारित उनको अन्तर्वार्ता सुनेपछि गौरी नाम गरेकी युवतीले उनलाई पत्र पठाइन्। पत्राचारबाट शुरू भएको सम्बन्ध केही महिनामै प्रेममा बदलियो र अन्ततः उनीहरूले विवाह गरे। अहिले उनीहरूका दुई छोरी छन्। जेठी छोरी स्नातक तहमा अध्ययनरत छिन् भने कान्छी विद्यालयमा पढ्दैछिन्।
गंगाराम अहिले पनि दैनिकजसो रंग र ब्रससँगै आफ्नो जीवन बिताउँछन्। ठूला भित्ते पेन्टिङ गर्दा शरीरले साथ नदिए पनि उनी हार मान्दैनन्। भुइँमा बसेर वा सामान्य उभिएर गर्न सकिने काम आफैं गर्छन् भने जटिल काममा साथीहरूको साथ लिन्छन्। उनी भन्छन्, “पहिले मानिसहरूले कला र भित्तेलेखनलाई खासै महत्व दिन्दैनथे। अहिले भने ‘आर्ट’ लाई बुझ्नेहरूको संख्या बढेको छ। मेहनतको प्रतिफल पाइरहेको छु, परिवारलाई खुसी राख्न सकेको छु, यही मेरो सबैभन्दा ठूलो सफलता हो।”
उनका लागि कला केवल पेशा होइन, आत्मसन्तुष्टिको माध्यम पनि हो। विगतका दुःख, अभाव र संघर्षका रंगहरू अहिले उनका पेन्टिङमा जीवन्त भएर झल्किन्छन्। उनी विश्वासका साथ भन्छन्, “समस्याबाट भागेर होइन, त्यससँग जुधेर मात्रै जीवन अगाडि बढ्छ। मैले जीवनको सबैभन्दा ठूलो पाठ सङ्घर्षबाट सिकेको हुँ।”
शारीरिक सीमिततालाई कमजोरी होइन, प्रेरणाको स्रोत बनाएका गंगाराम आज धेरैका लागि उदाहरण बनेका छन्। उनका रङ्गहरूले केवल भित्ताहरूलाई सजाएका छैनन्, असम्भवजस्तो देखिने जीवनलाई पनि सुन्दर बनाउन सकिन्छ भन्ने सन्देश दिएका छन्।






