मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव

समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारको मनमा लागेको घाउ भने अझै आलै छ।

आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कातिर उनीहरूको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्घाखाँची भूमिकास्थान नगरपालिका-४, धारापानीका माधव सारु मगरको परिवारमा पनि यो पीडा र चिन्ता रहेको पाइन्छ।

बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ।

माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए।

बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि उनी भविष्य खोज्दै काठमाडौँ गएका थिए।

पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय उनी टोल-समुदायमा सबैले चिन्थे उनलाई। बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी भएका थिए।

परिवर्तनका लागि सडकमा उत्रने निर्णय उनको अन्तिम यात्राको कारण बन्न पुग्यो। आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदै छ, राज्यले जति सुकै गरे पनि त्यसको पूर्ति हुन सक्दैन।

माधवका बुबा चन्द्र भन्छन्, ‘तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाज सडकमा उठाएको थियो- राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए। अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस्।’

पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किए।

सरकारबाट सहिदको परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ हुँदा घरको आर्थिक भारले थिचिएर उनी फेरि विदेशिन बाध्य भएका छन्।

श्रीमती तथा छोराछोरी पाल्न केही दिनअघि उनी फेरि रोजगारीका लागि कतार गएका हुन्।

परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन्। छोरा कक्षा ७ र छोरी कक्षा ५ मा पढिरहेका छन्।

आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको पीडित परिवारको गुनासो छ।

माधवकी आमा मधु सारु अझै शोकबाट मुक्त हुन सकेकी छैनन्।

उनी भन्छिन्, ‘घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन्।’

उनी थप्छिन्, ‘देशका लागि जसले ज्यान दियो, उसैका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने?’

जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहने उनी बताउँछिन्।

गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिदको परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्ने मधुको भनाइ छ।

जेठा छोरा माधव परिवारकै मुख्य सहारा थिए।

बुटवलको कान्ति माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरी रोजगारी र पढाइका लागि काठमाडौँ गएका उनी परिवर्तन, सुशासन र प्रणाली सुधारको सपना बोकेर जेनजी आन्दोलनमा सहभागी भएका थिए।

तर निहत्था आन्दोलनकारीमाथि गोली प्रयोग हुँदा कलिलो उमेरमै उनको जीवन समाप्त भयो।

उनका साथी पुस्कर पौडेल भन्छन्, माधव एउटा व्यक्ति मात्र होइन, युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि थिए। उनको मृत्युले परिवर्तन खोज्ने पुस्ता कति असुरक्षित छ भन्ने सन्देश दिएको छ। जबसम्म उनीहरूको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन।’

माधवको बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्न नहुने उनको भनाइ छ।

प्रेमनारायण आचार्य/रासस

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित