प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ।
फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल भएको हो।

युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसले गरेको मूल्यांकनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाएका थिए। सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रयमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास विफल भएको छ।

‘कुनै पनि सदस्य राष्ट्रले हाम्रो पक्षमा संशोधन प्रस्ताव हालेनन्,’ लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भने, ‘सदस्य राष्ट्रहरुले इकोमसको प्रतिवेदनलाई पूर्ण सर्मथन जनाउँदा तिलौराकोटको प्रस्ताव गएन।’


नेपालको प्रस्तावमा मुख्यगरी छिमेकी देश भारत मौन मात्रै बसेन। भारत सरकारले नै युनेस्कोलाई पत्राचार गरेर कपिलवस्तुको तिलौराकोटलाई सूचीकृत प्रस्ताव नलैजान दबाब दिएको स्रोतको दाबी छ।

भारतका अधिकारीहरुले सबै सदस्य राष्ट्रहरुलाई भेटेर डिफर (स्थगन) को प्रस्तावलाई रिफर (लेजाने) पक्षमा संशोधन नहाल्न भनेको बुझिएको छ। भारतले तिलौराकोटको सट्टा उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लास्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आइरहेको छ। यसैकारण पनि भारत बाधक रहेको हुनसक्ने अनुमान कोषका अधिकारीहरूले गरेका छन्।












