रुपन्देही क्षेत्र नं. २ यतिबेला रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। कुनै बेला आफ्नै पिता भक्तिप्रसाद पाण्डेले प्रतिस्पर्धा गरेको क्षेत्रबाट उम्मेदवारी दिएका विश्वदीप पाण्डे युगसुहाउँदो बदलावको एजेन्डासहित मैदानमा छन्। उनी आफ्ना पिता वा व्यक्तिसँग होइन, “पुरानो प्रवृत्ति” सँग लड्न आएको बताउँछन्। उनका मुख्य प्रतिस्पर्धी हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल।
विश्वदीपले आफ्नो उम्मेदवारी तीन उद्देश्यमा केन्द्रित गरेका छन्—विकासको भाष्य परिवर्तन, संसद्लाई जनताको मञ्च बनाउने र पुस्ताबीचको दूरी घटाउने। उनका अनुसार बुटवल, सैनामैना र तिलोत्तमामा भौतिक संरचना विस्तार भए पनि सामाजिक विकास कमजोर छ। “कालोपत्रे सडक मात्रै विकास होइन, त्यो सडकमा हिँड्न सक्ने सक्षम नागरिक तयार पार्नु विकास हो,” उनी भन्छन्। बजेट कति आयो भन्नेभन्दा पनि योजना कसका लागि बन्यो भन्ने प्रश्नलाई उनी प्राथमिक ठान्छन्।
संसद्लाई देखिने, सुनिने र महसुस गरिने मञ्च बनाउने उनको प्रतिबद्धता छ। शून्य समयदेखि विधेयकका दफावार छलफलसम्म जनताको आवाज राख्ने, मुठीभर बिचौलियाको होइन आम नागरिकको पक्ष लिने उनको दाबी छ। राजनीतिमा नयाँ र पुरानो पुस्ताबीच बढ्दो दूरी विकासको अवरोध बनेको उनको विश्लेषण छ। भदौ २३ को युवाआन्दोलनलाई उनी यही असन्तुष्टिको प्रस्फुटन मान्छन्।
कमिसन र ठेक्कापट्टाको जालो तोड्ने उपायका रूपमा उनले पारदर्शिता र जनसहभागिता अघि सारेका छन्। ‘योजना एप’ मार्फत हरेक योजनाको लागत, प्रगति र गुनासो व्यवस्थापन सार्वजनिक गर्ने अवधारणा उनको प्राथमिकतामा छ। “पारदर्शिता आकाशबाट झर्दैन, संरचनाबाट आउँछ,” उनको भनाइ छ।

उद्योग र उत्पादनमूलक क्षेत्र उनको अर्को जोडदार एजेन्डा हो। बुटवल धागो कारखाना पुनः सञ्चालन सम्भव रहेको दाबी गर्दै उनी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा पुँजी परिचालन गर्ने योजना सुनाउँछन्। नेपालको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा ५ प्रतिशतभन्दा कम रहेको उल्लेख गर्दै छिमेकी भारत र चीनको उदाहरण दिन्छन्। खुला बजारको पुरानो ढाँचा परिवर्तन भइरहेकाले आत्मनिर्भर उत्पादनतर्फ जानुपर्ने उनको तर्क छ।
सुकुम्बासी समस्या समाधानका लागि कानुनी सुनिश्चितता आवश्यक रहेको उनी बताउँछन्। सहरको अर्थतन्त्र धानिरहेका श्रमिकलाई जोखिममुक्त बसोबासको अधिकार दिनुपर्नेमा उनको जोड छ। स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण समयमै सम्पन्न गराउने, दरबन्दी बढाउने र निजी–सरकारी दुवै संस्थाबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क सुनिश्चित गर्ने पहल गर्ने उनी बताउँछन्।
शिक्षा सुधारमा उनले संरचनागत परिवर्तनको कुरा गरेका छन्। सामुदायिक विद्यालयलाई वास्तविक समुदायसँग जोड्ने, शिक्षण पेसालाई सम्मानित बनाउने र शिक्षा ऐनमा व्यापक संशोधन गर्ने उनको योजना छ। प्राविधिक शिक्षालाई उद्योगसँग जोडेर ‘अप्रेन्टिससिप’ मोडल लागू गर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्।
पर्यटन प्रवर्द्धनमा बटौली बजारको ऐतिहासिकता जगेर्ना गर्दै बुटवललाई मौलिक र विश्वस्तरीय सेवा क्षेत्र बनाउने लक्ष्य छ। १० वर्षपछि रुपन्देही–२ लाई कृषिसँग जोडिएको उत्पादन केन्द्र र ‘आईटी हब’ का रूपमा विकास गर्ने उनको दीर्घकालीन सोच छ।
विश्वदीपले आफू दुई पूर्वप्रधानमन्त्री—बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’—का सल्लाहकारका रूपमा काम गरेको अनुभवलाई आफ्नो क्षमता प्रमाणित गर्ने आधार मान्छन्। “पुरानो सफ्टवेयरले नयाँ युगका समस्या समाधान गर्न सक्दैन, बुटवललाई नयाँ ‘भर्सन’ को नेतृत्व चाहिएको छ,” उनको दाबी छ।
पुराना दलप्रति आक्रोश र कथित नयाँ शक्तिप्रति अन्योलबीच उनले आफूलाई स्पष्ट विचार, नीति र कार्यक्रमसहितको विकल्पका रूपमा प्रस्तुत गरेका छन्। अबको चुनावले रुपन्देही–२ मा पुरानै निरन्तरता दिने कि नयाँ ‘भर्सन’ रोज्ने भन्ने निर्णय मतदाताकै हातमा छ।










