बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीले माघे सकरातीको अवसर पारी शुक्रबार बुटवलमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘मगर इतिहास, भाषा संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त साशनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’-भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मगर संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरुका साथै खानाका परिकारहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले मगरभाषा र संस्कृतिको संरक्षणका लागि उपमहानगरले जोड दिएको उल्लेख गरे ।
मगर लगायत आदिवासीहरुको भाषा, संस्कृति संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था तथा नीति कार्यक्रम लागू गरिएको उनले बताए ।
नगर प्रमुख पाण्डेयले मगर लगमयत विभिन्न जातिको भाषामा नागरिक वडापत्र सार्वजनिक गर्नुका साथै परम्परागत चाडपर्वहरुलाई संरक्षण गर्नका लागि तालिम तथा व्यवसायिक सीपको बिकासमा समेत जोडफदिएको बताए । मगर समुदायहरुले जातीय पहिचानलाई संरक्षण गर्दै नेतृत्व तहमा पुगेर सबै सबै समुदायको सम्मान र सहअस्वित्वलाई समेत कायम राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सह अध्यक्ष दलबहादुर बिरकट्टा मगरले राज्यको नीति निर्माण तहमा मगर समुदायको सहभागिता बढाउनका लागि एक हुन आह्वान गरे । माघे सकराती मगर समुदायको महत्वपूर्ण चाड भएको उल्लेख गर्दै उनले यस्ता विभिन्न चाड पर्व र परम्पराहरु बारे नयाँ पुस्तालाई समेत जानकारी गराउन आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्लाका विभिन्न पालिकाहरुबाट सहभागीहरुले मगर संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतीहरु दिएका थिए । सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र राना, समाजसेवी झमबहादुर गुरुङ, हुम सुनारी, मगर संघ बुटवल नगर समिति अध्यक्ष बसन्ती साठीघरे, कलाकार टेरिया फौजा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देही सचिव राधिका श्रीसको सञ्चालन तथा थर्कबहादुर बाह्रघरे मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।










