बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्ने पेट्रोलियम व्यवसायीले सुरक्षा निकायलाई इन्धनको व्यापार गर्नु व्यवहारिक नभएको बताए ।
निजी क्षेत्रप्रति सरकार उदासिन भएको गुनासो गर्दै देशभरका १७ सय बढी पेट्रोल पम्महरु संकटमा परेको र दिन प्रतिदिन व्यवसायी विस्थापित हुँदै गएको व्यवसायीहरुले बताए । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देही अध्यक्ष हिमाल गैरेले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ बेच्न दिने नेपाल आयल निगमको निर्णय गलत भएको भन्दै यो निर्णय तत्काल सच्चाउन आग्रह गरे ।कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डीका भट्टले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिन हुन्न भन्ने व्ययवासीको मागप्रति गम्भीर बनेको बताए ।
प्रदेश सांसद वैजनाथ जैसवालले निजी क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउंदै सुरक्षा दिन नसकेको सेना, प्रहरीलाई इन्धन बेच्न दिनै नहुनेमा जोड दिए । नाप तौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख तिलक केसीले हरेक प्रकारका समानको गुणस्तर र नापतौलमा एकरुपता हुनुपर्ने बताए ।










