नेकपा एमालेले आगामी सनिवार देशभरका जिल्लाहरुमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ ।
सोहि क्रममा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले देशका सबै जिल्लाहरुमा सनिवार जनसभा र प्रदर्शन आयोजना गरेको हो । रुपन्देहीमा पनि सनिवार बुटवलमा जनसभा हुंदै छ ।
नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मिन प्रसाद पौडेलले प्रतिनिधिसभा विघटन बिरुद्ध रुपन्देहीमा पनि जनसभा आयोजना गरिएको बताए । पौडेलले सनिवारको जनसभा र प्रदर्शन लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा आयोजना गरिएकोले सबैलाई सहभागि हुन आग्रह गरे ।
जनसभाको क्रममा बुटवल राजमार्ग चौराहबाट युवाहरुले मार्चपास गर्ने कार्यक्रम रहेको छ । पौडेलका अनुसार एमालेले यसपटकको प्रदर्शनलाई जागरण अभियानको रुपमा अघि बढाएको हो ।
एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध देशैभरी जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार गत २२ गते देशभरका वडा तथा २५ गते पालिकाहरुमा भेला र जनप्रदर्शन सम्पन्न गरिसकेको छ । सनिवार सबै जिल्लाहरुमा प्रदर्शनपछि मंसिर ६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने एमालेले तयारी गरेको छ ।










