
शिक्षा, सवास्थ्य, पर्यटन, पूर्वाधार विकास लगायतका विषयलाई प्राथमिकतामा राख्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–२०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ ।
सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत रहने अनुमानसहित ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख अर्यालले नगरसभामा पेस गरेको बजेटमा बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरिएको छ । बजेटमा बुटवलले आगामी आर्थिक वर्ष २०८२–८३ मा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीरुलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको र त्यसका लगि ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख अर्यालले जनाइन् ।
यस्तै बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेटमा उल्लेख छ । बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ ।
विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउऔं कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।
यस्तै, जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ ।
नगरलाई सफा र स्वच्छ राख्न मेरो टोल म सफा गर्छु भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउनका लागि पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपप्रमुख अर्यालले बताइन् ।
किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिनका लागि ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ ।
यस्तै, अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुनः नापी गर्नका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ । बुटवलले यसअघि शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।