रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लुम्बिनीको बजेट : सिद्धबाबा सुरुङमार्ग र गौतमबुद्ध विमानस्थल सञ्चालनमा प्राथमिकता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका महत्त्वपूर्ण आयोजनालाई अघि बढाउने घोषणा गरे। बजेट वक्तव्यमा लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनाका लागि बजेट विनियोजन गरिएको छ।

लुम्बिनी प्रदेशको महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ। सिद्धार्थ राजमार्गको पाल्पा–सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड विनियोजन गरिएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण शुरू भएको हो। यो आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ।

सुरुङमार्ग पाँच वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा शुरू गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइनेछ। साथै, विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सुविधा प्रदान गरिने बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले घोषणा गरे।

नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखराबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने घोषणा गरिएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाको बबईलगायतका सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको छ। बाँके जिल्लामा निर्मित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ र वृहत दाङ उपत्यका सिँचाइ आयोजना निर्माणलाई तीव्रता दिन रु आठ अर्ब ५० करोड विनियोजन गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क्स र पावरहाउस निर्माण दुई वर्षभित्र सम्पन्न गर्न रु दुई अर्ब सात करोड विनियोजन गरिएको छ।

कालिगण्डकी–तिनाउ नदी पथान्तरण (डाइभर्सन) आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिने बजेट वक्तव्यमा उल्लेख छ। दाङ, प्युठान र अर्घाखाँची क्षेत्र भएर बग्ने राप्ती नदीको नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण शुरू गरिने उल्लेख छ।

पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न वृहत लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ। लुम्बिनी प्रदेशका प्रमुख धार्मिक पर्यटकीय केन्द्र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र प्युठानको स्वर्गद्वारीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण गरिने उल्लेख छ।

निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत लुम्बिनीदेखि मुक्तिनाथ पदयात्रा सञ्चालन गरिने उल्लेख छ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरकारी स्तरको मेडिकल कलेज निर्माणका लागि बुटवल मेडिकल कलेजलगायत अन्य जिल्लामा निर्माणाधीन तथा प्रस्तावित सरकारी स्तरका मेडिकल कलेजका पूर्वाधार निर्माण अघि बढाउन रु ५६ करोड विनियोजन गरिएको छ।

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको निर्माणका लागि लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिनेछ। भैरहवाको एकीकृत जाँच चौकी निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि लुम्बिनीलगायतका प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रवर्द्धनका लागि रु ८३ करोड विनियोजन गरिएको छ। रुपन्देहीको सेमलारमा कृषि उपजको सङ्कलन, प्रशोधन, बजारिकरण र निर्यात प्रवर्द्धनका लागि आधुनिक पूर्वाधार निर्माण शुरू गरिने भएको छ।

नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्त्विक सम्पदाको संरक्षण गर्न अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा पाणिनी ज्ञान उद्यान निर्माण गरिनेछ। भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियमलगायतका क्रिकेट स्टेडियम निर्माणका लागि रु ४२ करोड विनियोजन गरिएको छ।

नेपाल चेम्बर अफ लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले अर्थतन्त्रको दबाबबीच आएको बजेट राम्रो भएको बताए। उनले भने, ‘बजेटमा अधिकांश राजस्वका दर यथावत रहनु, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि घोषणा गरिएका सुविधाहरूले निजी क्षेत्रलाई राहत मिल्ने बजेट आएको छ।’

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ल्याइएका कार्यक्रम र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि सरकारले विगतमा घोषणा गरेका सहुलियतको निरन्तरता र अहिले घोषणा गरिएको सुविधाले विमानस्थल सञ्चालनमा आशा जगाएको उनले बताए।

नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य खिमलाल भट्टराईले बजेटले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि घोषित कार्यक्रम महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘सिद्धबाबा सुरुङमार्ग, मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, सेमलारमा अत्याधुनिक कृषि केन्द्रको निर्माण र बुटवल मेडिकल कलेजको निर्माणलगायतका आयोजनमा बजेटले सम्बोधन गरेकाले रुपन्देहीवासीका लागि उत्साहित हुने बजेट आएको छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित