मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

गौतमबुद्ध विमानस्थल निर्माणको छानबिन गर्न २ संसदीय उपसमिति गठन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन भएको छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दुबै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न दुई उपसमिति गठन गरेको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको हो । ।

दुबै उपसमितिलाई अधिकतम महिना दिन भित्र प्रतिवेदन पेश गर्न समय दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले बताए ।

पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न भट्टराईको संयोजकत्वमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् ।

सभापति पोखरेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर कसरी माग प्रस्ताव सुरु भयो भन्नेदेखि गुरुयोजना, लागत/ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन/छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिइएको बताए ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको थियो । तर, दुवै विमानस्थलबाट अहिले कुनैपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थल चीन सरकारको २२ अर्ब ऋण ऋण र गौतवबुद्ध एडीबीसहितको ७ अर्ब ऋण तथा आफ्नै लगानीमा निर्माण भएका विमानस्थल हुन् ।

‘राष्ट्रिय गौरवका आयोजनाका रुपमा यी अन्तर्राष्ट्रिय विमानस्थल बनाइएका थिए तर अहिले दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन,’ सभापति पोखरेलले कान्तिपुरसँग भने, ‘के यसले देशको मानप्रतिष्ठान, गौरव बढायो त ? उडान नै नहुने आयोजना किन बनाईयो ? आयोजना सुरु हुनु अघि आयोजना सम्पन्न भएर अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेबारे किन विमर्श भएन ? यो पाटोलाई हामीले गहिरो रुपमा अध्ययन गर्नुपर्ने हुन्छ । बजार/चोकमा चिया दोकान खोल्नु अघि त चिया दोकान चल्छ कि चल्दैन भनेर दशपल्ट सोचविचार गरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ भने यी अन्तर्राष्ट्रिय विमानस्थल त राष्ट्रिय गौरव घोषित आयोजना हुन् । के यसले देशको गौरव बढायो त ? अहिले यो विषय बडो पेचिलो बनेको छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आब २०७४/७५ बाट सुरु गरी आब २०७७/७८ मा सम्पन्न गर्ने गरी सुरु लागत २२ अर्ब तोकिएकोमा २ वर्ष ढिलो गरी आब २०७९/८० मा आयोजना सम्पन्न गर्ने तालिका तोकिइयो । जसमा २५ अर्ब ३४ करोड रुपैयाँ खर्च लागत देखाइयो । आयोजना सम्पन्न भएपछि विमानस्थल क्षेत्र बाहिर उत्तरतर्फ ४ किलो मटिर पर मणिपाल, सेती नदी र काहुखोलादेखि ५ सय हेक्टर जग्गा वर्षातको समयमा पानी बग्ने, भित्री सडक र पृथ्वी राजमार्गको नाला र सिंचाइको नहर बगेर आउने पानी विमानस्थल क्षेत्रमा पस्न गई विमानस्थल सञ्चालनमा समस्या भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भएपनि सञ्चालनमा नआउँदा यसले नोक्सानी मात्रै व्यहोरेको छ । महालेखाले विमानस्थल विभिन्न देश र वायुसेवा कम्पनीसँग समन्वय गरेर सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम विसं २०७१ माघ १ मा सुरु भई २०७४ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो कार्यतालिका संसोधन गरी निर्माण सम्पन्न अवधि २०७८ पुससम्म धकेलिएको थियो ।

२०७९ जेठदेखि विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो । तर, अहिले व्यवसायिक उडान ठप्प छ । यो आयोजनामा सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि लागत पनि बढ्यो । बढेको लागत मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको थियो । यति ठूलो धनराशी खर्चेर विमानस्थल निर्माण गरिएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । महालेखा परीक्षक कार्यालयले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न वायु सेवा कम्पनी र विभिन्न देशसँग समन्वय गर्न निर्देशन दिएको छ ।

०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ‘बुद्धको जन्मथलो लुम्बिनी प्रवेश गर्ने मूलढोकामै रहेको’ तत्कालीन आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा रूपान्तरण गर्ने परियोजनाको शिलान्यास गरेका थिए ।

५ दशकदेखि अन्तर्राष्ट्रिय विमानस्थलको पर्खाइमा रहेका पोखरेली जनताको सपना ०७३ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेपछि साकार भएको थियो ।

दुवै परियोजना भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दी, निर्माण सामग्रीको अभाव, स्थानीयका मागसँग जुध्दै सम्पन्न हुन करीब नौवर्ष लाग्यो । विमानस्थल निर्माण गर्न पोखरामा २५ अर्ब ३४ करोड र भैरहवामा ३५ अर्ब ६६ करोड खर्च भएको छ । तर, यतिठूलो धनराशी खर्चेर बनाइएका दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अहिले शुन्य छ ।

०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । १२ सय बिघामा फैलिएको विमानस्थलमा त्यही दिनदेखि कुवेतको जजिरा एयरवेजले नियमित उडान भरेको थियो ।

यता अन्नपूर्ण हिमशृंखलाको फेदमै ३ हजार ८ सय ९९ रोपनी जग्गामा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ०७९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । तर, अहिले भैरहवाबाट यतिबेला कुवेतको जजिराले सिधा उडानबाट हात झिकिसकेको छ भने पोखरामा कुनैपनि व्यवसायिक उडान हुन सकेको छैन ।

०८१ वैशाखसम्म जजिराले भैरहवामा १ सय १० वटा उडान गर्‍यो । जजिरापछि नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्स भैरहवाबाट मलेसिया दुईतर्फी ६८ वटा चार्टर उडान मात्रै गरेर पुनः काठमाडौंमै फर्किएको थियो । गत वर्ष जेठदेखि सातामा एक दिन (मंगलबार) नेपाल वायुसेवा निगमको मलेसियाबाट काठमाडौं आउने उडान भैरहवा टचडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउँदै आएको छ ।

डेढ वर्षमा पोखरामा दुईतर्फी १४ वटा चार्टर उडान बाहेक कुनैपनि अन्तर्राष्ट्रिय उडान भएन । पोखरामा सिधा उडान गर्न बंगलादेशको वायुसेवा इच्छुक भएको भनिएपनि यसमा अझै सार्थक संवाद अघि बढेको छैन ।

०७१/७२ मा व्यवस्थापीका संसद् बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा तत्कालीन राष्ट्रपति रामवरण यादवले सरकारको नीति तथा कार्यक्रममा ‘गौतम बुद्ध क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्य आरम्भ गर्दै निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने’ उल्लेख गरेका थिए ।

यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले पनि सरकारका वार्षिक नीत तथा कार्यक्रम सार्वजनिक गर्दै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ‘विशेष प्रोत्साहन प्याकेजको व्यवस्था’ गरिने घोषणा गरेका थिए । तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल कायमै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित