
बुटवल । पाल्पाका किसान केशवबहादुर कार्कीले रातो च्याउं उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
रातो च्याउं प्रतिकिलो ६ हजार रूपैयांमा बिक्री हुन्छ । गानोडर्मा भनिने रातो च्याउ सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयांसम्म पर्ने कार्कीले बताए ।
तानसेन–८ जरेपिपलमा भैरव च्याउ उद्योग प्रालि स्थापना गरेर कार्कीले विगत ४ वर्षले अत्याधुनिक प्रविधि सहितको मशिन जडान गरेर च्याउं उत्पादन गर्दै आएका छन् ।
भैरव च्याउ उद्योगले नेपालीलाई सस्तोमा दिने उद्देश्यले प्रतिकिलो ६ हजार रुपैयांमा बिक्री गर्ने गरेको छ । २ दशकदेखि व्यावसायिक च्याउ उत्पादनमा लागेका कार्कीले रातो च्याउ प्रशोधन गरी कफी र पाउडरको रूपमा बजारमा पठाउने गरेका छन् ।
रातो च्याउ अहिले बुटवल, पाल्पा, अर्घाखांची, गुल्मी सहित लुम्बिनी प्रदेशभर जाने गरेको छ । रातो च्याउ मुख्यतः औषधिका लागि प्रयोग गरिन्छ । सुकाएर च्याउको टुक्रालाई चिया जस्तै उमालेर पिउने गरिन्छ ।
५१ बर्षीय केशवले विभिन्न काठका मुढाहरू कटान गर्दा निस्केका पात, हांगा र झारपातलाई समेत धुलो बनाएर त्यसैको धुलोका बलमा गानोडर्मा च्याउ उत्पादन गर्दछन्।
यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुण हुने भएकाले यो च्याउ औषधिको रूपमा प्रयोग हुन्छ । यसलाई एसियाली आयुुर्वेदमा वनस्पतिको राजा भनिएको छ ।
रातो च्याउ उत्पादनमा उदाहरण बन्नुभएका कार्कीले दैनिक ५ लाख रूपैयांको च्याउ उत्पादन गर्ने गरेको बताउनुभयो । २५० बढी पोषण खाद्य तत्वयुक्त औषधिजन्य गुण भएको रातो च्याउको काठलाई मशिनमा कुटेर धुलो बनाएर बल बनाउने र स्टीम गरेपछि च्याउको बीउ राखिन्छ ।
त्यसका लागि आधुनिक प्लान्ट जडान भएको छ । एउटा बलबाट ५०० ग्राम र मुढाबाट ७ किलोसम्म रातो च्याउ फल्छ । २०–३५ डिग्रीसम्ममा यो च्याउ फलाउन सकिन्छ ।
उद्योगले ५ वर्षअघिदेखि सिताके च्याउ पनि व्यावसायिक उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । २०५९ सालमा १ लाख लगानी गरी च्याउ खेती शुरू गर्नुभएका कार्कीको उद्योगमा अहिले ५ करोडभन्दा बढी लगानी पुगेको छ ।