
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ प्रतिशत बजेट फ्रिज बनाएको छ ।
चालू बजेटको जम्मा ४२ अर्ब, ६३ करोड ५७ लाखको बजेटमध्ये ३० अर्ब ५७ करोड ७४ हजार ४५४ मात्रै खर्च भएको हो । यो ७१ दशमलव ७० प्रतिशत हो । खर्चको यो प्रतिशत पुराउन पनि पछिल्लो ४ दिनमा कुल बजेटको ११ दशमलव ८ प्रतिशत बजेट अर्थात् ४ अर्ब ७२ करोड ४० लाख बजेट खर्च गरिएको छ ।
आर्थिक वर्षको अन्तिम ४ दिन असारको २० गतेदेखि २४ गतेसम्मको अवधिमा यो बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष शुरुवातको ४ महिना अर्थात् कात्तिकसम्म जम्मा ३ अर्ब ७६ करोड बजेट मात्रै खर्च गरेको थियो । त्यो चार महिनाको खर्चभन्दा अहिले ४ दिनमा बढी खर्च भएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि चालुतर्फ १२ अर्ब ८२ करोड ९३ लाख ८९ हजार र पुँजीगततर्फ १७ अर्ब ७४ करोड ६ लाख ८५ हजार गरी ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो ।