
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचना विपरित मणिग्राममा रहेको शान्ती नमुना माध्यमिक विद्यालय सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गर्दै असार १७ गते सम्मका लागि नगरभित्रका कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालय हरु गर्मीका कारण बन्द गरेको थियो । तर शान्ती नमुना माध्यमिक विद्यालयले भने नगरपालिकाको निर्णय उल्टाउँदै ११ गते देखि सञ्चालनमा भइरहेको छ । शान्ती नमुना माध्यमिक विद्यालय मात्र सञ्चालन भएपछि अन्य सामुदायिक विद्यालयका प्राचार्यहरुले तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खांणलाई ध्यानआर्कषण समेत गराएका छन् ।
संस्थागत विद्यालयहरुले पनि ११ गते देखि नै विद्यालय खुल्ला गरेका छन् । नगरपालिका भित्र ४२ वटा सामुदायिक विद्यालय रहेकोमा ४१ वटा विद्यालय बन्द रहेको अवस्थामा शान्ती नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले नगरपालिकाको निर्णयलाई वेवास्ता गर्दै स्कुल सञ्चालन गरेका हुन ।
अहिले मौसम केही सित्तल भएपनि नगरपालिकाले विद्यालय सञ्चालन गर्न भनि अर्को सूचना जारी नभएको अवस्थामा नगरभित्रका विद्यालयहरु असार १७ गते सम्मै बन्द भएका छन् । शान्ती नमुना माध्यमिक विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले विद्यालयको आफ्नै निर्णय अनुसार विदा भन्दा ६ दिन अगाडिनै स्कुल सञ्चालन गरिएको बताए ।
उनले नगरपालिकाको निर्णय विपरित भन्दा पनि विद्यार्थीहरुको शिक्षण सिकाई बढि सिकाउनका लागि विद्यालय सञ्चालन गरिएको बताए । उनले यस बारे नगरपालिकालाई जानाकारी समेत गराएको बताए ।
‘मौसम चेन्ज भयो । हाम्रो सरकारी विदा ५० दिन मध्ये ६ दिन हामीले घटाएका छौ । नीजि विद्यालय खुल्ने तर सरकारीलाई किन खोलाईस भनेर नियम बाध्नु पनि त राम्रो हैन’ उनले भने ।
तिलोत्तमामा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्यालय सञ्चालनका नगर्न र शैक्षिक क्यालेन्डर अनुसार विद्यालय सञ्चालन गर्न भनेपनि प्राचार्यबाट निर्णय कार्यान्वयन नभएको बताए । यस बारेमा नगरप्रमुख रामकृष्ण खांणले समेत अनुरोध गर्दा पनि लामिछानेले अटेर गरेको पाइएको छ ।
नगरभित्र सामुदायिक र सस्थागत गरी ८५ विद्दालय छन् ।