

१९ कात्तिक, २०६७ लक्ष्मी पुजाको दिन । शहर झिलिमिली बन्दै थियो । रुपन्देहीको सैनामैना झारगैराकी शान्ता कुँवर पनि घरमा रंगेलीको तयारी गर्दै थिईन ।
साँझ श्रीमान श्रीमती सँगै लक्ष्मी पुजा गर्ने योजना बनाएकी शान्ताले रंगेलीको तयारीपछि बत्ती झिलिमिली बनाउने तयारीमा लागिन् । श्रीमान् दिलीप भने घरमा आराम गरेर बसेका थिए ।
त्यस्तै साँझको पौने ६ बजेको हुँदो हो । दिलीपले श्रीमती शान्तालाई भने–‘साथी तेजप्रसाद भण्डारी (मने) ले मोटरसाईकल लगेको छ । म मुर्गिया गएर मोटरसाईकल लिएर आउँछु तिमी पुजाको तयारी गर ।’
दिलीप मोटरसाईकल लिन हिँडेको १० वर्ष पुग्यो । तर फर्केर आएका छैनन् । कहाँ गए, के गरे । परिवारलाई केही अत्तोपत्तो छैन । अझै पनि श्रीमती शान्ता भने श्रीमान् आउने आशामा दिनहरु बिताइरहेकी छिन् ।
‘१९ कातिक दिउँसो तिर मने आएर मोटरसाईकल लगेर गएको थियो । साँझ मोटरसाईकल लिन भने उहाँ मनेको घरमा जानुभएको हो । तर अहिलेसम्म पनि उहाँ आउनुभएको छैन् । न श्वास न लाश । केही अत्तोपत्तो छैन् ।’ शान्ताले आशु झार्दै भनिन् ।
मोटरसाइकल लिन गएको साँझ दिलीप नआएपछि कतै गएको हुन सक्ने आशमा परिवारका सबैजना चुप बसे । अर्को दिन २० कात्तिकमा शान्ताले भनेलाई सोधिन्–‘खै दाई हिजो मोटरसाईकल लिन हजुरकोमा आउनुभएको अझै घरमा जानु भएको छैन् ।’
यति भनेपछि मनेले भने, ‘साँझ हामीले सँगै खाजा खायौं । त्यसपछि कालो स्कुटर लिएर उहाँ पर्साबल जानुभएको हो ।’
मनेले कालो स्कुटरमा पर्साबल गएको बताएपछि शान्ता र उनका छिमेकी एवं आफन्तले सैनामैनामा कालो स्कुटर कसको रहेछ भनेर खोजी गर्न थाले । तर कोही पनि कालो स्कुटर लिन दिलीपलाई खोज्दै घर आएनन् ।
अर्को दिन पनि दिलीपलाई खोज्नमै बित्यो । २१ कात्तिकमा बुटवलस्थित इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान हराएको भन्दै शान्ताले खोजिदिन आग्रह गरेर निवेदन दिइन् । त्यो बेला इप्रका बुटवलका डीएसपी थिए, दानबहादुर कार्की ।
शान्ता भन्छिन्–‘त्यो बेला डिएसपी कार्कीले १५ दिनमा कि श्वास कि लाश दिलीपको पत्ता लाग्छ भन्नुभयो । तर १० बर्ष बित्यो । केही पत्ता लाग्न सकेको छैन् ।’
पीडितको निवेदनपछि प्रहरीले केही व्यक्तिमाथि अनुसन्धान पनि गर्यो । तर नजिता भने प्राप्त भएन ।
नेपाल प्रहरीको असईको जागिर छाडेर घरमा बसेका दिलीप समाजसेवी थिए । मिल व्यवसायी संघको पदाधिकारी भएर सामाजिक काममा लागेका थिए । पर्रोहा माविमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य पनि थिए ।
‘घरमा मिल थियो । सामाजिक सेवा पनि गर्नुहुन्थ्यो । तर खै के कारणले उहाँ हराउनुभयो । यसै भन्न सकिदैन,’ शान्ताले भनिन् ।
परिवारका अनुसार दिलीपलाई बेपत्ता पारिएको अनुमान छ । २०६६ सालको लक्ष्मी पुजाकै दिन सैनामैनाका केही स्थानीयसँग झगडा पनि भएको थियो ।
‘२०६६ सालमा सैनामैनाकै केही व्यक्तिहरुसँग झगडा परेको सुनेकी थिएँ नभए उहाँको रिसराग कसैसँग पनि थिएन,’ शान्ताले भनिन्–‘उहाँको खोली अलि छिटो हुन सकेको भए केही पत्ता लाग्न सक्थ्यो होला । तर मनेले माथि डाँडामा कालो स्कुटर लगेर गएको भनेपछि कालो स्कुटर कसेको हो भनेर हामी खोजिनिधीमा लाग्यौं ।’
पीडित परिवारले दिलीपलाई खोजिदिन भन्दै जिल्ला प्रशासन कार्यालय, तत्कालीन गृहमन्त्री वामदेव गौतमदेखि मानवअधिकार आयोगमा समेत निवेदन दिएको थियो । परिवारले प्रहरीमा निवेदन दिएपछि मोटरसाईकल लगेका मने भनिने तेजप्रसाद भण्डारीलाई पनि अनुसन्धानका लागि पक्राउ गर्यो । तर यथार्थ बाहिर आएन ।
‘मनेलाई पक्राउ गरेर लगेको भएपनि अर्को दिन नै यहाँबाट मान्छे छुटाउन जान्थे भन्ने मैले सुनिकी थिए । तर आँखाले देखिन,’ शान्ताले भनिन्–‘त्यसपछि श्रीमान् हराएपछि पनि बेलाबेलामा घर आउनुस भनेर बोलाउँदा डर लाग्छ आउँदिन भन्थे । खै किन हो ?’
प्रहरी अनुसन्धानमै चुक्यो : आफन्त
घटनको १० वर्ष पुग्दा समेत परिवारले भने अझै आशा मारेका छैन्न । १२ वर्षअघिका घटनाका अपराधी पक्राउ परेझै दिलीपको घटना पनि कुनै दिन बाहिर आउने आशामा परिवार एवं आफन्तजन बसेका छन् । पीडित परिवारको गुनासो भने नेपाल प्रहरीसँग छ ।
‘हामीले हराएको तेस्रो दिनमा निवेदन दियौ । त्यहिबेला अनुसन्धान राम्रोसँग गरेको भए उहाँको कि श्वास कि लाश अवश्य भेटिन्थ्यो,’ दिलीपकाससुरा मिन बहादुर रायमाझी भन्छन् ।
दिलीपलाई कालो स्कुटरमा माथि गएको बताउने मने (तेजप्रसाद भण्डारी) को ३ वर्षअघि मृत्यु भइसकेको छ । तर पनि परिवारले न्यायको आशा भने मारेका छैनन् ।
‘१५ दिनमा अपराधी पक्राउ गर्छु भन्ने डीएसपी कार्कीले केही गरेनन् । तर पनि न्यायको आशा भने जिवित छ,’ उनले भने ।