
सिद्धबाबाको अप्ठ्यारो छल्न वैकल्पिक सडकको योजना अगाडि बढ्यो धागो कारखाना–चरङ्गे सडक । २१ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पाल्पातर्फ झण्डै ८ करोड खर्च भएको छ ।
पाल्पा खण्डमा आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड ८७ लाख ७३ हजार ३६८ रूपैयाँ खर्च भयो । अर्को वर्ष २०७६/०७७ मा २ करोड ८९ लाख ७५ हजार ८२९ रूपैयाँ खर्चिइयो । २०७७/०७८ मा १ करोड ५८ हजार ६९९ र २०७८/०७९ मा ३ करोड ७६ लाख ५१ हजार ८३४ रूपैयाँ खर्च गरिएको यातायात पूर्वाधार निर्देशनालय पाल्पाका प्रमुख इन्जिनियर अरुन गुप्ताले बताए ।
पहिलो वर्ष आर्थिक वर्ष २०७५/०७६ मा रूपन्देही खण्डमा ५ करोड बजेटले ७ कि.मि साइड कटिङसहित ७ वटा कल्भर्ट र ६७० मिटर कालोपत्रे गरिएको थियो । दोस्रो वर्ष (आव २०७६/०७७ मा) ६ करोड बजेट १५ सय मिटर कालोपत्रे गरियो । विनियोजन भएको बजेटमध्ये ४ करोड २० लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ ।
अर्को वर्ष अर्थात आ.व. २०७७/०७८ मा ४ करोड ९० लाख विनियोजन भएको बजेटमध्ये २ करोड ८३ लाख खर्च हुँदा १ हजार ८०० मिटर ग्राभेल, एउटा कल्भर्ट र १६ सय मिटर नाली पक्की गर्न खर्च गरिएको छ । आ.व. २०७८/७९ मा ४ करोड ५० लाख बजेटमध्ये २ करोड १५ लाख बजेट खर्च गरेर १२०० मिटर कालोपत्रे गरिएको छ । चालू आ.व.मा बजेट कटौती गरेर १ करोड ५० लाख मात्र विनियोजन गरिएकोमा अहिलेसम्म ठेक्का सम्झौता हुन नसकेको आयोजनाका इन्जिनीयर रायमाझी बताउँछन् ।
रूपन्देहीतर्फ पनि सोही बराबरको रकम खर्च भएको छ । झुम्सादेखि चरङ्गेसम्म पालान्दर र हेकबारीमा २ वटा पुल र १ कल्भर्ट निर्माण भएको छ । बेलदमार खोलाको पुलको २ करोड ५१ लाखमा ठेक्का लागे पनि निर्माण व्यवसायीले पेस्की लगेर काम शुरू गरेका छैनन् । पाल्पातर्फ ग्राभेल, नाली, ग्याभिन, रिटेनिङ वालका लागि ८ करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।
पुलपुलेसामा ३ करोड ३९ लाख खर्च भएको छ । डोजर लगाएर सडक खनेको क्षेत्रमा माथिबाट भेलसहित आउने लेदोले सडक बगाउने समस्या देखिएको तिनाउका स्थानीय दलबहादुर गुरूङले बताए । ‘यो क्षेत्र चुरे हो । यहाँको भू–बनोट स्खलित हुने खालको हो । यहाँ ठाडा–ठाडा खोल्साहरूमा खहरेको रूपमा आउने भेलले सडक बगाउने गर्छ,’ गुरुङले भने ।