
चिनियां लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट प्रालिले दाङ सिमेन्ट स्थापना गर्न तयार भएको छ ।
केही महिनाअघि दाङमा सिमेन्ट उद्योग खोल्ने योजनाबाट पछि हटेको होङ्सी अहिले समझदारी (एमओयु) गर्न तयार भएको हो । होङ्सीले एमओयु गर्न तयार रहेको जानकारी लगानी बोर्डलाई गराएको छ ।
होङसी अहिले दाङमा सिमेन्ट उद्योग खोल्न भनेर फेरि सम्पर्कमा आएको लगानी बोर्डले बताएको छ ।
लगानी बोर्डले कुल लागतको ० दशमलव ५ प्रतिशत धरौटी लिने व्यवस्था एमओयुमा थप्न लागेको छ ।
यसअघि निर्माण, सञ्चालन र हस्तान्तरण नीतिअन्तर्गत आएका परियोजनासंग मात्र परफरमेन्स बन्ड लिने गरेकोमा अब परियोजना लगानी सम्झौता (पिआईए) हुने परियोजनासंग पनि धरौटी लिने व्यवस्था गरेको हो ।
बोर्डले दाङमा सिमेन्ट कारखाना निर्माणका लागि ३२ अर्ब ५० करोड रुपैयां लगानी स्वीकृति दिइसकेको छ । लगानी बोर्डको २०७७ असार ५ को बैठकले लगानी स्वीकृत गरेको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले २०८० असारभित्र परियोजना लगानी सम्झौता (पिआइए) गर्न समयसीमा तोकेको थियो । एमओयुमा भएको ढिलाइले निर्धारित समयमा पिआइए नहुने भएको छ ।
पिआइएको म्याद थप्नुपर्ने अवस्था आएको बोर्डको भनाई छ ।
पिआइए भएपछि दाङले सिमेन्ट कारखाना पूर्वाधार तयार र खानी उत्खनन अनुमतिपत्र (लाइसेन्स) पाउने छ । दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन हुने छ । उद्योगले सिमेन्टको कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सिमेन्टमा चिनियां कम्पनी एसएचई इन्भेस्टमेन्टको झन्डै ८५ प्रतिशत स्वामित्व हुने बताइएको छ । बांकी नेपाली लगानीकर्ताको हुनेछ । सिमेन्ट कारखाना र खानी उत्खनन पूर्वाधार तयारीका लागि सेयर रहने भएको छ ।
दाङ सिमेन्टमा अब चिनियां कम्पनी एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता स्वामित्व हुनेछ । त्यस्तै नेपाली लगानीकर्ताहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारी अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।