
बुटवल । बुटवल मोतिपुरका रामनाथ उपाध्याय बचत रकम तिर्न कुनै बेला बुटवल ५ मै रहेको सशक्त बचत तथा क्रृण सहकारीमा धाईरहनु पथ्र्यो । आफै आउन नसक्दा कसैलाई ‘हाता’ पठाईदिन्थे । पछिल्लो समय सहकारी प्रविधि संग जोडिएपछि उपाध्याय बचत रकम नै तिर्न सहकारी आउनुपर्ने बाध्यता हटेको छ । उनले अहिले फोन पे, ई सेवा बाट आफ्नो बचत रकम तिर्ने गरेका छन् । ‘एक हजार, पाँच सय जम्मा गर्न १ सय रुपैया खर्च गरेर जानुपर्ने हुन्थ्र्यो । तर अहिले प्रविधि अहिले कार्यालय सम्म पुग्न नपर्ने बनाएकाले सहज भएको छ ।’ उनले भने ।
सहकारीका अध्यक्ष कृष्ण चौहान पनि पछिल्लो समय सदस्यहरु समेत प्रविधि मैत्री बनेकाले सहकारीले डिजटल प्लेट फर्मबाट रकम तिर्ने व्यवस्था मिलाएको बताउँछन् । ‘अहिले हामीले ईसेवा, फोन पे बाट सदस्यहरुले बचत, क्रृण, सावा, व्याजको रकम तिर्न सक्ने बनाएका छौ । हामीले मोबाईल एपको पनि डेभलप गरेका छौ । यसो भएपछि सदस्यहरुलाई विजुली, पानीको रकम बुझाउन समेत कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ उनले भने ।
उनले सहकारीलाई क्लाउड बेस सफ्टवेयरमा लगिएको समेत बताए । सदस्यलाई प्रविधिमैत्री मात्र नबनाई कार्यालयको स्टम पनि प्रविधि मैत्री हुनुपर्ने भएकाले क्लाउड बेस सफ्टवेयरमा सहकारीलाई लगिएको उनको भनाई छ । क्लाउड बेस भनेको सहकारीको सवै विवरण डिजिटल हुने भनिएको हो । कुनै पनि बेला हुन सक्ने आगालागीका घटना बारे यो क्लाउड बेस सफ्टवेयर जडान भए डाटाहरु सवै सुरक्षित हुने र कार्यालयका व्यवस्थापक वा कसैले पनि हिसाव विवरण तलमाथी गराउन नमिल्ने भएकाले सहकारीले यसको आवश्यकता महशुस गरेर जडान गरेको अध्यक्ष चौहानले बताए ।
व्यस्त जीवनशैली र बढ्दो प्रविधिको मागसँगै सहकारीका सदस्यका काम छिटो, सरल र सहज तरिकाले काम सम्पन्न गर्नका लागि प्रविधि सजिलो माध्यम बनेकाले अरु धेरै सहकारीहरु पनि प्रविधि संग जोडिएका छन् । सहकारीले यस्ता प्रविधिलाई आत्मसात् गर्दै आएका पनि छन् । जसका कारण सेयर सदस्यहरुमा सहकारीको कार्यालयमै पुगेर सेवा लिनुपर्ने बाध्यता हटेको छ ।
रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगरमा रहेको सामुहिक बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले एटिएम सेवा सुरु गरेको ३ बर्ष बढि भयो । सुरुको बर्षमा सेयर सदस्यले कम चासो लिएको यो सेवामा अहिले सेयर सदस्यको आर्कषण बढेको छ । लुम्बिनी प्रदेशमै पहिलो एटीएम सेवाको नयाँ अभ्यास यो सहकारीले शुरू गरेको हो ।
‘एटिएम प्रयोगकर्ताहरु बढेका छन् । यस तर्फ सदस्यहरु अझ बढि आर्कषित हुँदैछन् ।’ सहकारीका सूचना अधिकारी ईश्वरी मरासनीले भने । सहकारीले त्यस बाहेक फोन फे, मोबाईल एप, एसएमएस सेवा पनि दिइरहेको उनको भनाई छ । जसका कारण सेयर सदस्यलाई सहकारीमा कारोबार गर्न सहज भएको र कार्यालय सम्म आउन नपर्दा समयको समेत बचत भएको उनले बताए ।
त्यसो त बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित हुँदै आएका सहकारीहरुले पछिल्लो समय प्रविधिमैत्री बन्न प्रतिस्पर्धानै गर्न थालेका छन् । जिल्ला भित्रका बचत तथा क्रृण सहकारी, बहुउद्देश्य सहकारीले मात्र होईन साना पशुपालक कृषि सहकारीहरु पनि सेयर सदस्यलाई प्रविधि संग जोड्न लागि परेका छन् ।
तिलोत्तमा जनउत्थान सहकारी, बुटवल सहकारी, सवैको साकोस मणिग्राम, ईन्द्रणी सहकारी, लान्टिन सहकारी, सामुदायिक सहकारी लगाएत धेरै सहकारीहरु अहिले अत्याधुनिक प्रविधिलाई पक्षाइरहेका छन् । सहकारीहरुले निर्माण गरेको मोबाईल एपको माध्यबाट सदस्यले हवाई टिकट, मोबाईल रिचार्ज देखि सहकारीको किस्ता तिर्न पनि मोबाईल एपको माध्यबाट सकिने भएकाले यसको प्रयोग दिनानु बढ्दै गइरहेको छ । यहि आवश्यकतालाई बुझेर सहकारीहरु प्रविधिमैत्री बन्दै गएको सहकारी विद डा. खगराज शर्माले बताए ।
ईमेल ईन्टरनेटको पहुँच शहरमा बढि भएकाले यस्ता सेवा सुविधा शहरका सदस्यहरु बढि लिएका छन् । त्यसैले सहकारीले यो सेवालाई प्रभावकारी बनाउदै ग्रामिण क्षेत्रमा पनि विस्तार गर्न आवश्यक छ ।