रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बैंकको जागिर छाडेर प्याड बनाउन थालेकी अन्जु

रूपन्देहीको तिलोत्तमा, ड्राइभर टोलकी अन्जु थापा क्षेत्री महिनावारी हुँदा बजारमा पाइने सामान्य स्यानिटरी प्याड प्रयोग गर्थिन्। त्यस्तो ‘डिस्पोजेबल’ स्यानिटरी प्याडले उनलाई भने समस्या हुन्थ्यो। चिलाउने र बिबिरा आउने समस्याले उनी आजित थिइन्।

बैंकमा जागिरे उनलाई दिनभर सहज हुने भरपर्दो प्याड चाहिन्थ्यो।

‘बजारमा पाइने प्याडले मलाई उल्टो समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘एलर्जी हुने भएकाले लाउनै सक्दिन थिएँ।’

त्यसपछि उनले प्याडमाथि सूती कपडा राखेर प्रयोग गर्न थालिन्। यसले पनि चित्तबुझ्दो समाधान भएन। धेरै पटक डाक्टरकहाँ पनि गइन्। प्याडका रूपमा साधारण कपडा प्रयोग गर्ने सल्लाह पाउँथिन्।

अन्जुका श्रीमान प्रकाश जिसी रोजगारीका लागि साउदी अबरमा थिए। उनले श्रीमानलाई समस्या सुनाइन्। साउदीमा बजार जाँदा प्रकाशले कटनको ‘वासएबल स्यानिटरी प्याड’ (सूती कपडाको धुन मिल्ने) बारे सुनेका थिए। श्रीमतीको समस्या थाहा पाएपछि खोजेर पठाइदिए।

त्यो प्याड प्रयोग गरेपछि बल्ल अन्जुको समस्या समाधान भयो।

बिस्तारै उनले बजारमा पाइने प्याडले अरू महिलालाई पनि समस्या भएको जानकारी पाइन्।

त्यसपछि भने अन्जुलाई लाग्यो- मेरो समस्या साउदीबाट ल्याएको यो साधारण प्याडले समाधान भयो। यस्तै प्याड बनाएँ भने त अरूलाई पनि सहज हुने थियो।

उनले बच्चा जन्मिएपछि कम्युनिटि बैंकको जागिरबाट विदा लिएकी थिइन्। फेरि बैंकको जागिर खान जाने सोच्दै थिइन् उनलाई प्याड बनाउने आइडिया आयो।

उनले प्याड बनाउने निर्णय गरिन्। तर कस्तो कपडा प्रयोग गर्ने? नचुहिने र लगाउँदा नरम हुने कपडा चाहियो। यसबारे उनलाई जानकारी हुने कुरै भएन।

प्याडका लागि चाहिने कपडा खोज्न श्रीमान प्रकाशले नै मद्दत गरे। विदेशबाटै पठाइदिए। अनि अन्जुले ‘अन्जु स्यानिटरी प्याड’ नाम राखेर घरेलु उद्योग दर्ता गराइन्।

कपडा र कम्पनी मात्र भएर भएन, उत्पादन गर्न सिलाउन जान्नुपर्थ्यो। अन्जुसँग सीप थिएन। तर उनी आफ्नो निर्णयमा यति अडिग थिइन्, उनले बैंकमा भइरहेको जागिरै छाडिन्। सिलाइको काम सिक्न थालिन्। श्रीमानले साउदीबाट पठाइदिएका प्याड उधार्दै त्यसको संरचना नियाल्न थालिन्। भारत र चीनमा बनेका केही प्याड पनि ल्याइन्। सबैको कटाइ र सिलाइ हेरिन्।

‘उधार्ने र सिलाउने गर्दै जाँदा प्याड सिउन जान्ने भएँ। अब काम गर्न सक्छु भन्ने आत्मविश्वास पलायो,’ उनले भनिन्।

सिलाई मेसिन ल्याइन्। काम गर्ने ठाउँ मिलाइन्। दिनभरि काम गरेर प्याड तयार गर्थिन् तर बिक्रीको मेसो मिलेको थिएन। छिमेकका महिलालाई पनि भनेकी थिइनन्, बजार जाने त परको कुरा। बिस्तारै छिमेकीहरूले अन्जुको गतिविधि थाहा पाए। एक दिन केही महिला मिलेर उनको घरमै आए।

‘म प्याड बनाउँछु भन्ने कुरा उहाँहरू (छिमेकीहरू) ले थाहा पाउनुभएछ,’ उनले भनिन्, ‘एक दिन उहाँहरू आउनुभयो। हामी पनि खाली छौं, तपाईंसँगै जोडिन चाहन्छौं भन्नुभयो।’

अन्जु सहमत भइन्। छिमेकीहरू कल्पना जिसी, कृष्णकला कार्की र कौशिला श्रीस पनि स्यानिटरी प्याड उत्पादनमा जोडिए। यसपछि स्थानीय एक गैरसरकारी संस्था, ‘जागृत आमा समूह’ ले उनीहरूलाई प्याड बनाउने तालिम दियो।

चार वर्षअघि यसरी सुरू भएको अन्जु स्यानिटरी प्याड कम्पनीले अहिले दैनिक पाँच सय वटा प्याड उत्पादन गर्छ। माग बढ्दै जाँदा उत्पादन पनि बढाउने सोचमा छिन् उनी। हालसम्म ३० हजार वटाभन्दा धेरै प्याड बिक्री गरिसकेको उनी बताउँछिन्।

अचेल त अन्जु युट्युब हेरेर पनि धेरै कुरा सिक्छिन्। सुरूका दुई वर्ष बजारमा प्याड पठाउन कठिन थियो। केही गैरसरकारी संस्थाले खपतमा मद्दत गर्दै विस्तार भयो। अहिले त अनलाइनबाट पनि बजार पुग्छ।

‘हामीले तयार गरेका धेरै प्याड त गैरसरकारी संस्थाहरूले निःशुल्क वितरणका लागि लैजान्छन्,’ उनी भन्छिन्, ‘अनलाइनबाट पनि माग राम्रो छ।’

दराज अनलाइन बजारमा पनि यो प्याड पाइन्छ।

अचेल उनी भारत र चीनबाट विशेष प्रकारको कपडा मगाउँछिन्। प्याड नचुहिने र टिकाउ होस् भन्नका लागि खास किसिमको कपडा चाहिन्छ। उनले बनाउने प्याडमा कपडाको तीन पत्र हुन्छ। सबभन्दा बाहिरको पत्रले हावा वारपार गराउन मद्दत गर्छ। त्यसपछिकोले रगत सोस्छ र चुहिनबाट रोक्छ। भित्री पत्रले रगत छिटो सुक्न मद्दत गर्छ।

‘यो प्याडले संक्रमण हुने, चिलाउने समस्या हुँदैन,’ अन्जु दाबी गर्दै भन्छिन्, ‘एकपटक हाम्रो उत्पादन प्रयोग गरेका महिलाले अर्को प्याड प्रयोग गर्दैनन्।’

उत्पादन सुरू भएदेखि नै त्यही प्याड प्रयोग गर्दै आएकी शंकरनगरकी संगीता अर्यालको भनाइ अन्जुसँग ठ्याक्कै मिल्छ।

उनले भनिन्, ‘प्याड आरामदायी छ। चुहिन्छ कि भन्ने तनाव हुँदैन। मलाई त धेरै सहज भएको छ।’

प्रयोगकर्ताको राम्रो प्रतिक्रियाले काम गर्ने हौसला बढ्दै गएको अन्जु बताउँछिन्।

अन्जुका अनुसार एक प्याकेटमा पाँच वटा प्याड हुन्छ। महिनावारीको सुरूका दुई दिनका लागि भनेर केही दुइटा ठूलो आकारका र तीनवटा मध्यम आकारका। कपडाको प्रकारअनुसार एक प्याकेटलाई कम्तीमा ११ सय रूपैयाँदेखि बढीमा २५ सय रूपैयाँ पर्छ।

झट्ट सुन्दा यो भाउ धेरैलाई महँगो लाग्छ। तर लामो समय प्रयोग गर्न मिल्ने भएकाले दीर्घकालमा महँगो नहुने अन्जु बताउँछिन्। प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने उनको भनाइ छ।

‘राम्ररी चलाउँदा तीन वर्ष ढुक्कले चल्छ। जतन गरे अझ बढी चल्छ,’ उनले भनिन्, ‘सबभन्दा राम्रो गुणस्तरको किन्दा पनि बजारको प्याडभन्दा कम्तीमा एकतिहाई सस्तो पर्छ। प्याड भरपर्दो पनि छ।’

यस्तो प्याड प्रयोग गर्नुअघि र पछि राम्ररी साबुनपानीले धोएर सुकाउनु पर्छ।

उत्पादन सुरू गर्दा अन्जुलाई लागेको थियो, डिस्पोजेबल प्याडको सहज पहुँच भएका बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रबाट माग बढी हुनेछ। परिणाम उल्टो निस्कियो।

‘बजारकै महिलाहरूबाट बढी माग आउँछ। पढालेखा र जागिरे महिलाले डिस्पोजेबल प्याडको विकल्प खोजेको हामीले बुझेका छौं,’ अन्जुले भनिन्।

अन्जुको यो उद्योगको सुरूआती लगानी २५ लाख रूपैयाँ हो। तर कपडा विदेशबाट मगाउनुपर्ने भएकाले लागत बढ्दै गएको उनले बताइन्।

‘३० हजार पिस बेच्दा अहिलेसम्म करिब एक करोड कमाइ भयो होला। सबै खर्च कटाउँदा आम्दानी चाहिँ २० लाख भएको छ,’ उनले भनिन्।

प्याडको बजार विस्तारमा उनलाई श्रीमान प्रकाशले सघाउँछन्। बजारीकरण उनकै जिम्मा हो। अन्जुले जागिर छाडेर प्याड उत्पादन सुरू गरेपछि प्रकाश पनि देश फर्केका हुन्। १४ वर्षसम्म साउदी अरब बसेर काम गरेका उनी दुई वर्षअघि फर्किएका हुन्।

अन्जुका अनुसार स्यानिटरी प्याड औषधि पसलबाट बेच्न भने स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनुपर्छ। त्यसैले उनले अहिले स्वीकृतिको प्रक्रिया पनि अघि बढाएकी छन्। यो समाचार सेतोपाटीका लागि बुटवल बाट भगवती पाण्डेले लेखेकी हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित