
गुल्मीको रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो ।
शिविरमा उपचार गरेकी रेसुंगा नगरपालिका–८ की एक महिलाले आइतबार आफूलाई म्याद गुज्रेको औषधि दिइएको भन्दै छिमेकीकहाँ देखाउन लगेकी थिइन् । नगरपालिकाले १० जनालाई म्याद गुज्रेको औषधि वितरण गरेको फेला परेको ती महिलाले बताइन् । ‘ढाडको समस्या भएर गएको, त्यो औषधि दिनुभएको रहेछ । मैले नानीहरूलाई देखाउँदा त एक्स्पायर परेछ,’ उनले भनिन्, ‘मैले मात्र होइन, गाउँ–गाउँबाट आएकाहरूले त औषधि खानुभए होला ।’ बिक्रीका लागि नभएर फिजिसियनको स्याम्पलका लागि भनेर लेखिएको उक्त औषधिको म्याद जनवरी २०२३ मा सकिएको छ । नसासम्बन्धी बिरामीका लागि चलाइने उक्त औषधि लामो समयका लागि दिइने भएकाले म्याद सकिनुभन्दा दुई/चार महिना पहिल्यै वितरण गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिविरमा वितरणका लागि नभई चौराहा अस्पतालले स्याम्पलका लागि ल्याएको औषधि भूलवश वितरण भएको बताए । ‘उक्त औषधि बिक्रीका लागि होइन, स्याम्पलका लागि ल्याइएको रहेछ, बाइमिस्टेक यस्तो हुनुमा कम्पनीको लापरबाही देखियो,’ उनले भने, ‘जसलाई परेको थियो, उहाँहरूबाट हामीले फिर्ता गरिसक्यौं ।’ चौराहा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरका लागि इस्मा गाउँपालिकाको दोहोली स्वास्थ्य चौकी प्रमुख रमेश मरासिनी र नगर प्रमुख पन्थीको समन्वय रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मन्जु घर्ती मगरले बताइन् ।