
नौ वर्षअघि कालिका माविको एउटा कोठाबाट स्नातक कक्षा सुरु गरेको बुटवल कालिका क्याम्पस स्थापनाको छोटो समयमै मुलुककै उत्कृष्ट क्याम्पस बनेको छ ।
कालिका मानवज्ञान माविमा कक्षा १२ अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न कहाँ जाने भनेर पिरोलिएपछि बुटवल कालिका क्याम्पसको स्थापना भएको हो । कक्षा १२ सम्मको शिक्षाका लागि यहाँस्थित कालिका मानवज्ञान मावि उत्कृष्ट मानिन्छ । यहाँ कक्षा १२ अध्ययन गरेका विद्यार्थीले बिदाई हुने बेला स्नातक अध्ययन गर्ने व्यवस्था भए बाहिर नजाने भनेपछि कालिका क्याम्पस स्थापना गरेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए ।
‘कालिका मानवज्ञान माविमा अध्ययन गर्ने

क्याम्पस प्रमुख घनश्याम पाठक
विद्यार्थीले यही व्यवस्था भए स्नातक पढ्न हुन्थ्यो भने । त्यसपछि हामीले यो क्याम्पस स्थापना गर्न लाग्यौं ।’—त्यसबेला कालिका मानव ज्ञान माविको प्राचार्य रहेका पाठकले भने ।
क्याम्पस स्थापना गर्दा ३९ जना विद्यार्थीबाट बीबीएस कक्षा सञ्चालन गरेको बुटवल कालिका क्याम्पसमा अहिले तीन हजारभन्दा बढी विद्यार्थी स्नातक तहमा अध्ययनरत छन् । यो अवधिमा विद्यार्थीको संख्यासहित अध्यापन हुने विषय पनि थपिँदै गएका छन् । यहाँ अहिले बीबीएस, बीएड र बीसीएको पढाई हुन्छ । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये सबैभन्दा कान्छो सामुदायिक क्याम्पस हो ।
यहाँ बीसीएमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुँदै आएको क्याम्पस प्रमुख पाठकले बताए । ‘बीसीएमा अहिलेसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, यो गुणस्तरलाई कायम राख्न हामी मिहिनेत गरिरहेका छौं ।’—क्याम्पस प्रमुख पाठकले भने । प्रयोगात्मक र विद्यार्थी केन्द्रित सिकाईले उत्कृष्ट नतिजा दिन थालेको उनले बताए । अहिले बुटवल कालिका क्याम्पस रूपन्देही र आसपासका जिल्लाबाट अध्ययन गर्नेहरुको रोजाईमा परेको छ । भर्ना भएका ५० प्रतिशत विद्यार्थी पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, स्याङ्जा, नवलपरासी, पर्वत, बाग्लुङ र जुम्ला लगायतका छन् ।
क्याम्पसले ८० लाख रुपैयाँ खर्चेर अत्याधुनिक कम्प्यूटर प्रयोगशाला बनाएको छ । बीसीएमा अध्ययनरत विद्यार्थी अधिकांश रोजगारीसँगै पढ्दै गर्न थालेका छन् ।
क्याम्पसले बीसीएको मात्र होईन बिबिएसका विद्यार्थीलाई समेत कम्प्यूटर र लेखासम्बन्धी अतिरिक्त तालिम दिने गरेको छ । ‘बिहान ११ बजेदेखि ३ बजेसम्म कोर्षभित्रको नियमित पठनपाठन हुन्छ, त्यसपछिको १ घण्टा अतिरिक्त कक्षा सञ्चालन गरी निःशुल्क कम्प्यूटर, लेखा सम्बन्धि तालिमहरु दिन्छौं,’ क्याम्पस प्रमुख पाठकले भने ।
‘बिबिएसमा भर्ना भएका विद्यार्थीलाई पहिलो वर्ष कम्प्यूटरसम्बन्धि कक्षा सञ्चालन गराउँछौं, दोस्रो वर्ष एकाउण्ट सम्बन्धी अहिलेसम्म प्रयोगमा आएका सफ्टवेयर चलाउन सक्ने बनाउँछौं, तेस्रो वर्ष कोर्ष सकिएपछि हरेक विद्यार्थीलाई न्यूनतम ३ महिना प्रयोगात्मक अभ्यासको लागि वित्तीय संस्था, उद्योग, अडिटर्स कम्पनीमा ईन्टर्नसिपको लागि पठाउँछौ भने चौथो वर्ष विभिन्न विषयमा डाटा संकलनको लागि पठाउने र त्यसबाट रिपोर्ट प्रस्तुत गर्न लगाउँछौं ।’– उनले भने ।
चार वर्षमा क्याम्पसभित्र कोर्षभित्रको पढाई सकिँदा शैक्षिक प्रमाणपत्र सँगै कम्प्यूटर र एकाउण्ट सम्बन्धि ज्ञान दिने र कार्यक्षेत्रमा ईन्टर्नशिप गरेको प्रमाणपत्र समेत दिएर क्याम्पसले पठाउने गरेको छ ।
क्याम्पसले ईन्टर्नसिपकै लागि हालसम्म ८४ वटा बैंक, विभिन्न सिए कम्पनी र उद्योग व्यवसायीसँग सम्झौता गरेर विद्यार्थी पठाउने गरेको छ ।
क्याम्पस प्रमुख पाठकको भनाईमा, हरेक वर्ष यहाँबाट स्नातकमा पास आउट भएर जानेको संख्या ३ हजारभन्दा बढी हुन्छ । उनीहरूलाई सिप र प्रमाणपत्र बिना पठाउने हो भने हाम्रो क्याम्पस शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र हुन्छ । बेरोजगार उत्पादन गर्ने थलो नभएर पढाई सक्दा रोजगारी पाउने वा व्यवसाय गर्न सक्ने बनाउने गरी जनशक्ति उत्पादन गर्न क्याम्पसले ध्यान दिइरहेको छ ।
२०७७ सालसम्म कालिका माविकै कक्षा कोठामा सञ्चालन गरिएको यो क्याम्पस अहिले आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख दिनेश थापाले बताए ।
जग्गा प्राप्त भएपछि पुर्वाधार निर्माणको काम पनि अघि बढ्यो । रामनगरमा १० कठ्ठा जग्गा प्राप्त भएपछि त्यसैमा क्याम्पसको आर्कषक भवन निर्माण भएको छ । क्याम्पस भवन बनाउन अर्थमन्त्री विष्णु पौडेल सहयोग महत्वपूर्ण रहेको क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख दिनेश थापाले बताए ।
त्यसैगरी, लुम्बिनी प्रदेश सरकारका तत्का

कालिका मानवज्ञान स्कुलका प्राचार्य दिनेश थापा
लीन सामाजिक विकास मन्त्री सुदर्शन बराल र शिक्षामन्त्री बसिउद्दिन खांको सकारात्मक भूमिका रहेको उनले बताए ।
भौतिक पूर्वाधार निर्माण, पुस्तकालय, फर्निचर, उपकरण, खेलकुद सामग्री, सवारी साधन लगायतमा गरी हालसम्म ५० करोड बढी लगानी भइसकेको छ । क्याम्पसको भवन निर्माणको लागि अर्थ मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध भएको छ ।
‘तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले भवन निर्माणको लागि मन्त्रालयबाट ६ करोड रुपैयाँ उपलब्ध गराएपछि भवन निर्माण गर्ने आँट आयो । हामी अघि बढ्यौं । यही आँटले अहिलेको यो भवन बन्न संभव भएको हो ।’—उनले भने ।
पूर्वाधार निर्माणका लागि क्याम्पसले आफ्नै स्रोतबाट १५ करोड बढी लगानी गरेको छ । विश्वविद्यालय अनुदान आयोग र लुम्बिनी प्रदेश सरकारबाट समेत झण्डै साढे ३ करोड रकम प्राप्त भएको छ । त्यसैगरी क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्यको जग्गा धितो राखेर २ करोड रुपैयाँ बैंकबाट ऋण लिएर भवन निर्माण गरिएको छ ।
बुटवल—१० रामनगरस्थित कालिका मानवज्ञान मावि रहेको १० कठ्ठा क्षेत्रमा अहिले क्याम्पसको सुविधा सम्पन्न ६० कोठाको भवन तयार भएको छ ।
क्याम्पसमा ८ वटा प्रयोगशाला, एक हजार जना क्षमताको सभा हल, दुई वटा सेमिनार हल, गेष्ट हाउस र चमेना गृहसहित लुम्बिनी प्रदेशस्तरिय पुस्तकालय र अनुसन्धान केन्द्र समेत रहेको क्याम्पसका कोषाध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।
पुस्तकालय र अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि विभिन्न विषयका शोधकर्तालाई अध्ययन अनुसन्धानका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने छ । क्याम्पसमा प्राध्यापक र कर्मचारी गरी ७५ जना कार्यरत छन् । क्याम्पसमा अब छिट्टै बिएस्सी अन्तर्गत सिएसआईटी, बिबिए र एमबिएसका कक्षा सञ्चालन हुने तयारी छ ।