
लुम्बिनीमा चढाइएको विदेशी मुद्रा राष्ट्र बैंकले सटही गर्ने भएको छ। विदेशी पर्यटकले चढाएका भेटी नसाटिँदा कागजको खोस्टा बराबर बनेको समाचार प्रकाशित भएसँगै राष्ट्र बैंकले मुद्रा सटहीमा चासो दिएको हो।
लुम्बिनीमा ३९ वटा देशका एक करोड १७ लाख बराबरको विदेशी मुद्रा अहिलेसम्म साटिएको छैन। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच मुद्रा सटहीका बारेमा कुराकानी भएसँगै मुद्रा सटही हुन लागेको लुम्बिनी विकास कोषका प्रेस विज्ञ विनोद परियारले बताए।
बिहीबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच मुद्रा सटहीका लागि सैद्धान्तिक सहमती भएको छ । यससँगै लामो समय लुम्बिनीमा थन्किएका विदेशी मुद्रा सटही हुने प्रक्रिया अघि बढेको विकास कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।
सैद्धान्तिक सहमती पछि अब केही दिनमै कोषले लुम्बिनीमा जम्मा भएको विदेशी मुद्रा राष्ट्र बैंक, सिद्धार्थनगरमा सटही प्रक्रियाका लागि बुझाउने छ । त्यसपछि उक्त मुद्रा राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा पठाएर सटही प्रक्रिया अघि बढाइने सिद्धार्थनगर शाखामा उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए ।
कुन देशका कति छन् ?
दानपेटिकाबाट सङ्कलित मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारको ‘क्याट’ छ।
त्यसपछि ओमान, पेरु, इण्डोनेसिया, भियतनाम, भुटानका मुद्रा छन्। त्यसैगरी मङ्गोलिया, बङ्गलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, ईरान, मोरिसस, युगान्डा, इराक, माल्दिप्स, चिली, स्वीडेन, रसिया, टर्किए, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, इजिप्ट, ब्रुनाई, सिएरा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा रहेका छन्।
म्यानमारको ७३ लाख ४८ हजार १५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट छ। ओमनको पाँच हजार ३३९ ओमन रियल सटही हुन सकेको छैन। जुन १७ लाख ७९ हजार ९६६ नेपाली रुपैयाँ हुन आउँछ।
यसैगरी आठ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २३० श्रीलङ्कन मुद्रा पनि विकास कोषले प्लास्टिकभित्र पोको पारेर राखेको छ।
त्यस्तै पेरुको ६ लाख ५१ हजार ८३, भियतनामको चार लाख ९८ हजार ३९८, इण्डोनेसियाको दुई लाख ७० हजार ७४५, कम्बोडियाको एक लाख ९८ हजार ७०९, भुटानको एक लाख एक हजार ४९२ नेपाली रुपैयाँ बराबर रहेको छ।
नेपाल राष्ट्र बैंकले युरोप, अष्ट्रेलिया, हङकङ, कुवेत, क्यानडा, सिंगापुर, जापान, चीन, साउदी अरब, कतार, थाइल्याण्ड, यूएई, अमेरिका, मलेसिया, दक्षिण कोरिया, बहराइन लगायत २० वटा मुलुकका मात्र मुद्रा सटही गर्दै आएको छ।
विकास कोषले हरेक पटक दान पेटिकामा सङ्कलन भएका मुद्रा गणना गर्दै राख्ने गरेको छ। गत पुस १ गते गणना गर्दा दुई महिनाकै अवधिमा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको थियो। लुम्बिनी विकास कोषले पाँच दिन लगाएर दानपेटिकाको भेटी गणना गरेको थियो।
अघिल्लो पटक तीन महिनामा एकपटक गणना गरिएकोमा यसपटक दान पात्र छिट्टै भरिएकाले दुई महिना दान रकम गणना गरिएको थियो। गत असोज ३० गते गरिएको भेटी गणनामा २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल लुम्बिनीमा मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्र हो। विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरूले यसको महत्त्व तथा प्राचीनता झल्काउँछ।
भगवान बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ। मन्दिरभित्रका भग्नावशेषहरू ई.पू. तेश्रो शताब्दीदेखि सातौँ शताब्दीसम्मका छन्।