
सरकारले भुक्तानी नदिएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौलाका बिरामीको डायलाइसिस सेवा बन्द गर्ने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै अस्पतालले डायलाइसिस सेवा वापत सरकारले दिनुपर्ने रकम गत साउनदेखि बाँकी रहेको र डायलासिसका लागि आवश्यक सामान आयात गर्न कर्मचारीलाई तलब खुवाउन समेत समस्या भएको बताएको छ ।
१५ फागुन गतेदेखि अनिश्चितकालका लागि डायलाइसिस सेवा स्थगित हुने जनाएको छ । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पा सामुदायिक डायलाइसिस सेन्टर, लमही सामुदायिक डायलाइसिस सेन्टर र वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट सेवा उपलब्ध गराउँदै आएको छ । त्यहाँबाट विपन्न नागरिकलाई उपलब्ध गराएको डायलाइसिस सेवा वापतको भुक्तानी नगरेको अस्पतालले दाबी गरेको छ ।
जटिल प्रकृतिका आठ रोगका विपन्न बिरामीलाई निःशुल्क औषधि उपचारको भुक्तानी स्वास्थ्य बीमा बोर्ड मार्फत हुने गरेको छ ।