लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो…

रुपन्देही शनिवार बिहानैदेखि बाक्लो हुस्सु र शीत लहरले ढाकिएको थियो।

हुस्सु र शीत लहरको प्रतिकूल मौसमका बिच रुपन्देहीका क्रियाशील पत्रकारहरू भने बिहान आठ बजे नै मङ्गलापुरको बोधी भिल्लामा उपस्थित भएका थिए।

कार्यक्रम थियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको पत्रकार भेटघाट। परिवर्तनका लागि खोलिएको भनिएको नयाँ पार्टी, त्यसमा पनि काठमाडौँ महानगरपालिकाका मेयर बनिसकेका बालेन साहको सचिवालयमा रहेर काम गरिसकेका भनिएका हाई–प्रोफाइल उम्मेदवार।

पत्रकारहरूमा विश्वास थियो नयाँ भनिएको राजनीतिक दलका उम्मेदवारले भिन्न, स्पष्ट र जनमुखी एजेन्डा सहित पत्रकार भेटघाट आयोजना गरेका छन् र आफूहरूका जिज्ञासा प्रश्नहरूको सहज रूपमा जवाफ दिने छन्। सानो हलमा कार्यक्रम सुरु हुन लागेपछि पत्रकारहरूले भिडियो क्यामेरा र रेकर्डरहरू तयार गर्छन्।

पत्रकार भेटघाटका लागि तयार भएर बसेका लम्सालले आफू क्यामेरा र रेकर्डरमा नबोल्ने भन्दै अफ द रेकर्ड (अभिलेख नगरिने गरी) छलफल गने प्रस्ताव गर्छन्।  आफैले पत्रकार बोलाउने र आफै क्यामेरामा नबोल्ने गरि राखेको लम्सालको प्रस्तावलाई पत्रकारहरूले अस्वीकार गर्छन्।

निर्वाचनको मुखमा जनताको मत माग्न हिँडेका उम्मेदवारले आफ्ना योजनाहरू जनतासम्म पुर्याउनुपर्नेमा अफ द रेकर्डमा बोल्ने भनेपछि पत्रकारहरू पनि अचम्मित पर्छन्। पत्रकार भेटघाट अफ द रेकर्ड हुँदैन भनेपछि उनी क्यामेरा सामु बोल्न त तयार भए, तर उनको आत्मविश्वास निकै कमजोर देखिन्थ्यो।

उम्मेदवार सुनिल लम्साल

रास्वपाले सुनिल लम्साललाई एउटा बौद्धिक र अनुभवी उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेको छ। उनी स्वयं पनि आफूलाई बालेन साहको सचिवालयमा बसेर काम गरेको अनुभव भएको व्यक्ति भन्न रुचाउँछन्। तर, जब पत्रकारका प्रश्नहरू तेर्सिन सुरु गरे उनको प्रोफाइल फिक्का देखिन थाल्यो। पत्रकारहरूका प्रश्न थिए—‘तपाईँको उम्मेदवारी किन, ? रुपन्देही १ को समृद्धिका लागि तपाईँका ठोस योजना के छन् ? जवाफमा लम्सालले भने, ‘यहाँ शिक्षा, स्वास्थ्य र कृषिमा समस्या छ, म ती समस्या समाधान गर्छु तर, उनले ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने कुनै भिजन सहितको जवाफ दिएनन्।  उनले दिएका जवाफहरू र निर्वाचनका लागि अगाडी सार्ने एजेन्डाहरू कुनै नयाँ नभई दशकौँदेखि नेपाली राजनीतिमा सुनिँदै आएका घोकन्ते र अमूर्त कुराहरू नै थिए।

उनले बारम्बार एउटै कुरा दोर्होयाइरहे—‘म बालेन साहको सचिवालयमा बसेको मान्छे हुँ, पार्टीले त्यही भएर मलाई उम्मेदवार बनाएर पठाएको हो। राजनीतिमा सुशासनको नारा लगाउन सजिलो छ, तर व्यवहारमा उतार्न भने कठिन छ।

रास्वपाका महामन्त्री समेत रहेका लम्सालप्रति पार्टीको नीति र वरिष्ठ नेता बालेन साहको बारेमा पनि पत्रकारहरूको प्रश्न सोझियो।  पत्रकारको प्रश्न थियो—‘सुशासनको कुरा गर्ने तपाईँका नेता बालेन साहले विवादित व्यापारी कमल किशोर मालपानीको गाडी प्रयोग गरेको विषयमा तपाईँको धारणा के छ ? के यो सुशासनकै पाटो हो ? अर्को प्रश्न थियो— ‘यसअघि प्रदेशसभा सदस्य र राष्ट्रिय सभाका उम्मेदवारलाई भोट नहाल्ने र मेयर हुँदा संघीयताको विरोध गर्ने साहले अहिले झापा र जनकपुर पुगेर सङ्घीयता बलियो बनाउनुपर्छ भन्नु कतिपयको नजरमा अवसरवाद देखिन्छ। यसमा पार्टीको आधिकारिक धारणा के हो ? यी प्रश्नहरू सुन्नासाथ लम्सालको अनुहारको रङ बदलियो। उनले य गम्भीर प्रश्नहरूको पनि पार्टीको विधान हेर्नुस् वा उहाँ सुशासनकै पक्षमा हुनुहुन्छ भन्ने जस्ता टालटुले जवाफ दिएर पन्छिन खोजे।

जब थप जिज्ञासाहरू आउन थाले कार्यक्रम समापनको घोषणा गरे र हतार–हतार उठेर हिँडे। उम्मेदवार लम्साल बाहिर निस्किएपछि त झनै माहौल गरमागरम बन्यो। कोठाभित्र अनुत्तरित रहेका पत्रकारहरूले बाहिर निस्कँदा उनीसँग थप कुरा गर्न खोजे, तर उनले अहिले बोल्न मिल्दैन भन्दै लुसुक्क पन्छिए। त्यही समयमा उम्मेदवारका राजनीतिक सल्लाहकार भनिएका आशिस सुवेदीले आगोमा घिउ थप्ने काम गरे। उनले उपस्थित पत्रकारहरूलाई लक्षित गर्दै भने—‘तपाईँहरू पुरानो माइन्ड सेट (सोच) बाट निर्देशित हुनुहुन्छ, त्यही भएर यस्ता प्रश्न सोधिरहनुभएको छ।

उम्मेदवार आफैँले बोलाएर गएका आफूहरूलाई पुरानो सोचको ट्याग भिराएपछि पत्रकारहरू आक्रोशित बने।

नयाँ शक्ति भनेर आएकाहरूले प्रश्नको सामना गर्न नसक्ने अनि उल्टै प्रश्न सोध्न सिकाउने ? भन्दै उम्मेदवारका पक्षधर र पत्रकारहरूबिच केही बेर भनाभन भयो। अन्ततः रास्वपा जिल्ला सचिवालय सदस्य तथा लम्सालका सचिवालय सदस्य मधु अर्यालले माहौललाई शान्त पार्ने प्रयास गरे। तर, जान्नेलाई छान्ने भन्ने नारा दिएर चुनावमा होमिएका उम्मेदवारहरू पनि प्रश्नबाट भाग्न खोज्नुले गहिरो आशङ्का उब्जिएको छ।

नयाँ भनिएका दलहरूले जनताको विश्वास जित्नका लागि केवल चर्चित नामहरूको फेहरिस्त सुनाएर पुग्दैन, उनीहरूमा प्रश्नको सामना गर्ने धैर्यता र आफ्ना योजनाहरू स्पष्ट राख्ने क्षमता पनि हुन जरुरी छ। तर, पत्रकारहरूले सोधेका प्रश्न र जिज्ञासामा दिइएको जवाफले रास्वपाका उम्मेदवार र उनको सचिवालयको अपरिपक्वतालाई छताछुल्ल पारिदिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित