लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बदनामको पर्याय युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज

एक सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्।

सरकारले तोकेअनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप भत्ताको व्यवस्था गर्नुपर्ने, करार नियुक्ति सम्झौता गरेर मात्र सेवामा लगाउनुपर्ने, ज्यालादारीमा काममा लगाउन नपाइने, सक्कल शैक्षिक प्रमाणपत्र अस्पतालले राख्न नपाउने, अनुभवको पत्र उपलब्ध गराउनुपर्ने, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने लगायतका मागहरू राख्दै कार्तिक २ गतेदेखि नर्सिङ स्टाफहरूले आन्दोलन गरेका थिए।

उनीहरूले मेडिकल कलेजमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने, श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार उचित ड्युटी समय, विश्राम र बिदाको सुविधा दिनुपर्ने, नर्स तथा प्यारामेडिक्स हरूलाई स्वास्थ्य सेवाको आधारमा मान्यता र सम्मान दिनुपर्ने, मेडिकल कलेजभित्र पर्याप्त चेन्जिङ रुम, नर्सिङ रुम र लकरको व्यवस्था हुनुपर्ने लगायतका माग पनि राखेका छन्।

नर्स तथा प्यारामेडिक्सहरूले मेडिकल कलेजको कामसँगै धर्ना र प्रदर्शनका बाबजुद एक साता सम्म पनि अस्पताल प्रशासनले आफूहरूको माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै मंगलबार सम्म माग सम्बोधन नभए सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका हुन्।

शनिबार साँझ विज्ञप्ति जारी गर्दै कार्तिक ११ गते मंगलबार दिउँसो १ बजेसम्म माग सम्बोधन नभए मेडिकल कलेजको सेवा पूर्ण रूपमा बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन्।

आन्दोलनरत नर्स तथा प्यारामेडिक्सहरूको समितिकी अध्यक्ष रश्मी गहतराजले जारी विज्ञप्ति जारी गर्दै मेडिकल कलेजको सेवा बन्द भएपछि बिरामी तथा जनमानसमा पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै त्यसको जिम्मेवारी मेडिकल कलेज प्रशासनले लिनुपर्ने बताएकी छन्।

‘यस परिस्थितिमा जनमानसमा पर्न जाने असुविधाप्रति अस्पतालका सम्पूर्ण आन्दोलनरत कर्मचारीहरू क्षमा याचना गर्दछौं, आफूहरूको मागप्रति अस्पतालको शीघ्र भन्दा शीघ्र ध्यानाकर्षण हुनुपर्ने र बिरामीहरूप्रति अस्पताल पनि जिम्मेवारी हुँदै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले सरकारले तोकिदिएको सेवा सुविधा पाउनुपर्ने माग गर्दै असोज ३१ गते पत्र दिए पनि मेडिकल कलेज प्रशासनले कुनै चासो नदेखाएपछि बाध्य भएर कार्तिक २ गतेदेखि बिरामीहरूको सेवासँगै धर्नामा रहेकोमा मंगलबारदेखि भने सम्पूर्ण सेवा ठप्प पार्ने बताएका हुन्।

आफूहरूले विभिन्न चरणमा मेडिकल कलेज प्रशासनलाई माग सम्बोधनको लागि पत्र बुझाउँदै गए पनि प्रशासनले भने बेवास्ता गरिरहेको बताएका छन्।

आन्दोलनरत नर्स तथा प्यारामेडिक्सहरूले असोज ३१ गते बुझाएको पत्रप्रति मेडिकल कलेज प्रशासनले कार्तिक २ गतेसम्म कुनै चासो नदेखाएपछि सोही दिन जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिई साँझ ५ बजेदेखि हातमा कालो पट्टी बाँधी सेवा दिएको र ५ बजेपश्चात् आकस्मिक सेवा बाहेक नयाँ बिरामी भर्ना नलिएको उल्लेख गरेका छन्।

हाल पनि कार्तिक २ गते सम्म भर्ना भएका क्रिटिकल लगायत सम्पूर्ण वार्डमा सेवा दिइरहेको, डायलासिस वार्डमा तालिका अनुसार नै बिरामीलाई सेवा दिइरहेको र आकस्मिक कक्षमा आउने बिरामीलाई आफूहरूले दिने सेवा दिइरहेको अध्यक्ष गहतराजद्वारा विज्ञप्तिमा उल्लेख छ।

नर्स तथा प्यारामेडिक्सहरूले कार्तिक २ गतेदेखि मेडिकल कलेज परिसरमा धर्ना तथा प्रदर्शन गर्दै आइरहेका छन्। उनीहरूले ‘हामीलाई न्याय दे’, ‘श्रम शोषण बन्द गर’, ‘हामी मेसिन होइनौं नर्स हौं’ लगायत नारा लेखिएका प्लेकार्ड हातमा लिएर नाराबाजी गरिरहेका छन्।

आन्दोलित नर्सहरूले आफूहरूलाई कामको लोड अनुसारको पारिश्रमिक नदिइएको र अत्यन्त न्यून तलब भत्तामा बिरामीको सेवामा खटिनुपरेको बताए। नर्सहरूले मेडिकल कलेजले सेवा सुरु गर्दा अनमी र स्टाफ नर्सहरूलाई जम्मा १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको बताए।

‘सेवा सुरु गर्दा जम्मा १० हजार रुपैयाँ दिने गरिएको छ। चार पाँच वर्ष काम गरेका नर्सहरूको तलब स्केल १३ हजार मात्र तोकिएको छ। कतिपय दिदीहरू २४ वर्ष भयो मेडिकल कलेजमा काम गर्न थाल्नुभएको अहिले उहाँहरूको तलब स्केल १५ हजार छ। अरू भत्ता र ग्रेड गरेर जम्माजम्मी २३/२४ हजार रुपैयाँ बुझ्नुहुन्छ, जीवनभरि बिरामीको सेवा गरेर अवकास हुने बेलामा छैटौँ तहको स्वास्थ्यकर्मीले पाउने तलब सुविधा त्यही हो त ? उनीहरूले आक्रोश व्यक्त गरे।

उनीहरूले आफूहरूको आन्दोलनप्रति मेडिकल कलेजमा कार्यरत ल्याब टेक्निसियन, फार्मासिस्ट, रेडियोलोजिस्ट, सिएमए, हेल्थ असिस्टेन्ट लगायत सबै स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता रहेको बताए।

नर्सिङ स्टाफहरू बिना कुनै पनि अस्पताल वा स्वास्थ्य संस्था नचल्ने भए पनि अस्पताल प्रशासनले भने सधैँभरि नर्सहरूको श्रम शोषण गर्दै आएको उनीहरूले गुनासो गरे। मेडिकल कलेजमा नर्स तथा प्यारामेडिक्स गरी साढे २ सय हाराहारी कार्यरत छन्।

सरकारले असंगठित र अदक्ष श्रमिकहरूका लागि पनि न्यूनतम १९ हजार पाँच सय ५० रुपैयाँ पारिश्रमिक तोकेको भन्दै उनीहरूले अस्पतालहरूले आफूहरूलाई अदक्ष कामदारको भन्दा पनि अत्यन्त न्यून तलब दिने गरेको बताए।

स्वास्थ्य मन्त्रालयको २०८१ साल मंसिर २७ गते निर्णय अनुसार निजी अस्पतालहरूमा कार्यरत नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई पनि सरकारी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मी बराबर तलब भत्ता उपलब्ध गराउन भन्दै निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरोको थियो।

निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूले मन्त्रालयको उक्त निर्णय कार्यान्वयन नगरेपछि गत असोज २४ गते पनि अघिल्लो मंसिरको निर्णय कार्यान्वयनको लागि भन्दै मन्त्रालयले पुनः अर्को पत्र पठाएको छ।

तर, अस्पतालहरूले मन्त्रालयले दोस्रो पटक पठाएको पत्र अनुरूपको निर्णय पनि कार्यान्वयन गर्न आलटाल गरेपछि नर्सहरू आन्दोलनमा उत्रिएका हुन्। सेताेपाटी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित