बुटवल । असोज तेश्रो साता बितिसक्दा पनि आकाशमा बादल मडारिन नछोड्दा किसानहरुले धान काट्न सकेका छैनन् ।
रुपन्देहीको सियारी भैंसाखादरकी सुवेरी थारुले दशैं मनाएर धान काट्ने तयारी गरेका थिए । सात कट्ठा खेतमा धान राेपेकी थारुले दशैं सकिएको एकसाता पुग्दा पनि धान काट्न सकेकी छैनन । पानी नपरेपनि आकाशबाट अझै बादल नहटेकोले ढुक्क भएर धान काट्न नसकिएको थारुले बताइन ।
असोज १७ गतेदेखि बागमतीदेखि पुर्वका जिल्लाहरुमा परेको भारी वर्षा अझै जारी रहेको छ । पश्चिम क्षेत्रमा फाट्टफुट्ट मात्र वर्षा भएपनि आकाशमा बादल नहट्दा खेतमा धान पाकिसकेपनि काट्नको लागि किसानहरु ढुक्क हुन सकेका छैनन् । मौसम वीद्हरुले मौसम पुरै सफा नहुंदासम्म धान नकाट्न सुझाउंदै आएका छन् । बादल लागेर आकाश धुम्म भइरहेपछि धान पाकेर खेतमा पहेंलै भएपनि काट्न नसकिएको सियारीको भगदरीका नारदमुनी यादवले बताए ।
गतवर्ष दशैं सकिएको पर्सिपल्टदेखि धान काट्न सुरु गरेका महेश यादवले पनि अहिले धान पाकिसकेपनि अझै काट्न सुरु नगरेको बताए । ढिलो गरि सक्रिय बनेको मनसुनले पुर्वी तराई डुबानमा पारेको दृश्यले पश्चिमका किसानपनि सशंकित बनेका छन् ।
अहिले रुपन्देहीको तिलोेत्तमा, सियारी, मायादेवी, सुद्धोधन, देवदह, रोहिणी लगायत असारको पहिलो सातामै रोपेको धान पाकेर खेतमा पहेंलै बनेको छ । असारको अन्तिम र साउनमा रोपेको धान अझै काटिहाल्ने नभएपनि असारको सुरुमै रोपेको धान पाकेर यतिबेला खेतका फांटहरु पहेंलपुर देखिएका छन् ।
धान बाली बेलैमा भित्रयाएर हिउंदे बाली तोरी, मसुरो छर्ने र आलु, बन्दा, काउली, टमाटर लगायत तरकारी लगाउने किसानको योजना हुन्छ । यसवर्ष भने असोज तेश्रो साता बितिसक्दा पनि किसानहरु धान काट्ने नकाट्ने दोधारमा छन् । मायादेवीकी शान्ति थरुनीले पानी पर्छ कि भन्ने डरले पाकेको धान पनि काट्न नसकिएको बताए ।
रुपन्देही मात्र होईन पानी पर्न सक्ने डरले नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा पनि किसानहरुले धान काट्न सकेका छैनन् । विगतमा मौसमलाई वेवास्ता गर्दा काटेको धानमा ठूलो नोक्सानी भएकोले यसपटक भने कृषि विज्ञहरुले पनि मौसमको अवस्था हेरेर मात्र धान काट्न सुझाव दिंदै आएका छन् ।
कृषि विकास निर्देशनालय लुम्बिनीका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेले जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने क्रममा रहेकोले एकदुई दिन मौसमको अवस्था हेरेर मात्र धान काट्न किसानहरुलाई सुझाव दिए ।
पाण्डेले नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका खेतहरुमा आफैले अनुगमन गरेको र धान पाकेपनि केहि दिन नकाट्दैमा बिग्रिहाल्ने अवस्था नभएकोले मौसम खुला नहुंदा सम्म नहतारिन आग्रह गरे ।










