
गुल्मीको रेसुंगा नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मुसिकोट नगरपालिका–१ निवासी रञ्जीत खत्री रहेका छन् ।
उनी हाल बुटवलको बेलबासस्थित एडम सिटी अस्पतालमा उपचाररत रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पश्चिमबाट बुटवलतर्फ आउंदै गरेको रेसुंगा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीसमेत सवार गाडीले नागरिकलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
दुर्घटनापछि गाडी नरोकी अघि बढेपछि आक्रोशित स्थानीयबासीले गाडीमा सवार नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठमाथि हातपातको प्रयास गरेका थिए ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिएका छन् ।