लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तराईमा फेरि चल्न थाल्यो तातो हावा

तराईमा फेरि तातो हावा चल्न थालेको छ । वर्षाका कारण डेढ साता तापक्रम घट्दा जनजीवन सहज भएकोमा पश्चिम तराईमा दुई दिनदेखि फेरि तापक्रम उच्च वृद्धि भई तातो हावाको लहरसमेत चल्न थालेको हो ।

भैरहवा, नेपालगन्ज र धनगढी क्षेत्रको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । त्यसबाहेक मध्य र पूर्वी तराईको तापक्रम पनि बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार वर्षा गराउने प्रणाली निष्क्रिय हुँदा देशभरकै तापक्रम बढ्दै गएको छ ।

‘वैशाखमा अन्य क्षेत्रको तुलनामा पश्चिम तराईमा कम पानी परेको थियो । अहिले तापक्रम पनि त्यस क्षेत्रमा बढी छ,’ कँडेलले भनिन्, ‘तराईमा यो साताभर नै तातो हावा र तातो हावाको लहर चल्ने देखिन्छ ।’

बिहीबार भैरहवाको अधिकतम तापक्रम ४१.४, नेपालगन्जको ४०.५ र धनगढीको ४० डिग्री सेल्सियस पुग्यो । बुधबार सबैभन्दा बढी तापक्रम टीकापुरमा ४०.५ डिग्री सेल्सियस मापन भएको थियो ।

मध्य र पूर्वी तराईमा भने पश्चिमको तुलनामा तापक्रम कम छ । बिहीबार सिमरा र विराटनगरको अधिकतम तापक्रम ३७.४, धरानको ३७.५ र जनकपुरको ३९.६ डिग्री सेल्सियस मापन भएको छ । ‘मध्य तराईका केही क्षेत्रमा बिहीबार हल्का बादल लागेकाले तापक्रम धेरै बढ्न नसकेको हो । तर, अब त्यहाँ पनि तापक्रम बढ्ने देखिन्छ,’ कँडेलले भनिन्, ‘तापक्रम बढी हुने सिजन नै प्रि–मनसुन हो ।’

यसअघि गत वैशाख पहिलो सातादेखि २० वैशाखसम्म तराईमा तातो हावा चलेको थियो । भैरहवालगायत तराई क्षेत्रको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस नाघेको थियो । त्यसपछि वर्षा हुँदा तापक्रम घटेकोमा फेरि उकालो लागिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले भन्यो– तराईमा अत्यधिक गर्मीको सम्भावना छ
मौसम पूर्वानुमान महाशाखाले तातो हावासम्बन्धी विशेष बुलेटिन जारी गर्दै ६ जेठसम्म देशभरको तापक्रम बढ्ने र तराईमा अत्यधिक गर्मी हुने चेतावनी दिएको छ । ‘विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको देखिन्छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,’ महाशाखाले भनेको छ, ‘६ जेठसम्म तराईमा तातो हावा र तातो हावाको लहर चल्ने सम्भावना छ ।’

के गर्छ तातो हावाले, कसरी जोगिने ?
तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आउनेजस्ता समस्या निम्त्याउँछ । तातो हावा तथा तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नरहने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्बत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने गर्नुपर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित