३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

घामबाट बिजुली

रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामचोकबाट पश्चिमतर्फ सडकछेउमै लस्करै देखिन्छन् सोलारका पाताहरू। मणिग्रामबाट पश्चिम जाँदा खेतैभरि राखिएका सोलार देखेपछि आश्चर्य मात्रै मान्दैनन्, यो किन र केका लागि भन्ने प्रश्न पनि उठ्न सक्छ। यसरी राखिएको हजारौँ सोलार भने सौर्य ऊर्जा विद्युत् आयोजनाको हो। यहाँबाट उत्पादित सोलार बिजुली राष्ट्रिय प्रसारणमा जडान गरिएको छ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण भइरहेको छ। बिजुली २०७७ साल कात्तिकदेखि उत्पादन थालिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो निजी क्षेत्रबाट सञ्चालित देशकै ठूलो ग्रिड कनेक्टेड सोलार पावर आयोजना हो।

कम्पनीले ८.५ मेगावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम सम्पन्न गरी व्यावसायिक उत्पादन थालेको छ। तिलोत्तमा नगरपालिका-६ मा २६ बिघा जग्गामा ३ सय ३० वाट क्षमताका ३२ हजार १ सय ६० सोलार पाताबाट विगत तीन वर्षदेखि बिजुली उत्पादन भइरहेको छ। उक्त जग्गा शान्ति नमुना माविसँग भाडामा लिइएको हो।

सोलार पाताबाट उत्पादित डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८ सय ५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ। इन्भर्टरबाट आएको बिजुलीलाई ८.५ एमबीएको ट्रान्सफर्मरले ६९० भोल्टमार्फत ३३ केभीमा अपग्रेड गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ। उत्पादित बिजुली ७.४ किलोमिटरको दुरीमा रहेको अमुवा सबस्टेसनबाट वितरण भइरहेको छ।

आयोजनाले ३३ केभीको ट्रान्समिसन लाइन निर्माण गरी राष्ट्रिय ग्रिडमा बिजुली जडान गरेको छ। हालसम्म ४ करोड ५२ लाख २१ हजार किलोवाट बिजुली उत्पादन भएको प्लान्ट इन्चार्ज सइद सजुरुद्धिनले बताए। उनका अनुसार जाडोयाममा उत्पादन कम भए पनि अन्य बेलामा पूर्ण क्षमताअनुसार उत्पादन भई वितरण गरिएको छ।

प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिद सम्झौता (पीपीए) गरेको छ। वार्षिक १ करोड ४५ लाख युनिट बिजुली आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो। यो प्लान्टले दैनिक करिब ८/९ घण्टा बिजुली उत्पादन गरिरहेको प्लान्ट अपरेटर खुमप्रसाद बस्यालले जानकारी दिए। उनले भने, ‘ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट बिजुली उत्पादन हुन्छ।’

सरकारको राष्ट्रिय ऊर्जा संकट निवारण तथा बिजुली विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना २०७२ को ऊर्जा मिश्रणको नीतिअनुरुप २०७३ जेठमा टेन्डर आह्वान गरेको थियो।

६३ मेगावाट क्षमताका आयोजनाका लागि गरिएको बोलपत्रमा ६१ मेगावाट बराबरका १८ वटा आयोजना अघि बढेको थियो। जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुटवल ग्रिड जडित सौर्य बिजुली आयोजनाको टेन्डर हात पारेको थियो। अहिले तिलोत्तमामा ३२ हजार सोलारमुनि बाख्रापालनसमेत गरिएको छ।

तराईको समथर भूभागमा सोलारका पाताले नियमित रुपमा बिजुली उत्पादन भइरहँदा स्थानीयलाई रोजगारीसमेत मिलेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित