
नेपालका पहाडी र हिमाली जिल्लामा आज होली पर्व मनाइँदै छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेलेर मनाइन्छ।
तराई मधेशका जिल्लामा भने भोलि (सोमबार) होली पर्व मनाइनेछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
केही वर्ष अघिसम्म काठमाडौं उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ। होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरेका छन्।
प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताउँदै उनले जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए।
सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।
होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन प्रशासनले अनुरोध गरे।
कसैले जबर्जस्ती गरे नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
होली पर्वको अवसरमा सरकारले आज नेपालका हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ।