
मासु नखानेका लागि
मासु नखानेका लागि पनि थुप्रै परिकार बनाएर खान सकिन्छ । पनिर, गेडागुडी, च्याउ, चिजलगायतका परिकार बनाउन सकिन्छ । त्यस्तै, च्याउ, क्वाँटी, सोयाबिन, पनिरलगायतका परिकार बनाएर खान सकिन्छ ।
शाकाहारीले पनि यस समय उच्च प्रोटिनयुक्त खानेकुरा (पनिर, तोफु)लगायत अत्यधिक खाने गर्नुहुन्छ । तर, हामीले यसरी प्रोटिन धेरै भएका खानेकुरा खाँदा फाइबरयुक्त खानेकुरा पनि मात्रा मिलाएर खानुपर्छ । दाल, गेडागुडी, काँक्रो, मुला, गाँजर, हरियो सागसब्जी, प्याजलगायतमा प्रशस्तै मात्रामा फाइबर हुन्छ । त्यसैले सलाद खानुपर्छ ।
काँक्रोको अचार
दसैँमा हामीले काँक्रोको अचार बनाउने गर्छौं । यसरी सिसीमा खाँदेर तयार गरिएको अचार स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हाम्रो आन्द्रामा हुने राम्रो ब्याक्टेरिया ‘प्रोबायोटिक’ यसमा प्रशस्तै हुन्छ । त्यसैले यस अचारले पाचन प्रणालीसम्बन्धी समस्या कम गराउँछ । मासु धेरै खाँदा अचार पनि खाइयो भने त्यसलाई पचाउन सहज हुन्छ । तर, अचार बनाउँदा नुन र चिल्लोको प्रयोग कम गर्नुपर्छ ।
जंकफुडमा रोक
दसैँमा मानिसहरूले जंकफुडको प्रयोग पनि अत्यधिक गर्ने गरेका छन् । विशेषगरी, स्न्याक्सका रूपमा यसको प्रयोग हुन्छ । तर, स्वास्थ्यका लागि जंकफुड राम्रो होइन । यसले विभिन्न समस्या निम्त्याउन सक्छ । हामीले जंकफुडको साटो घरमै पकाएका खानेकुराको प्रयोगमा जोड दिनुपर्छ । बजारमा पाइने चिप्सको साटो भटमास वा चना साँधेर घरमै स्न्याक्स तयार गर्न सकिन्छ । बदाम साँध्न सकिन्छ । पेयपदार्थ पनि घरमै तयार गर्न सकिन्छ । बजारबाट पेयपदार्थ ल्याउनुको साटो घरमै पुदिना, कागतीलगायत मिसाएर स्वस्थ पेयपदार्थ तयार गर्न सकिन्छ ।
मदिरा : मदिराका कारण मानिसहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् । पाचन प्रणाली खराब हुन्छ । कलेजोमा असर पुर्याउँछ । त्यही कारण मदिरा र धूम्रपानबाट टाढा रहनुपर्छ । उपचार गर्नुभन्दा समस्या नै देखिन नदिनु राम्रो हो ।
पानी : पानी प्रशस्तै पिउनुपर्छ । हाम्रो शरीर हाइड्रेट रहन आवश्यक छ । दैनिक कम्तीमा १.५ लिटर पानी हाम्रो शरीरलाई आवश्यक पर्छ । मानिसको तौल, उचाइ, स्वास्थ्य अवस्थाअनुसार यसभन्दा धेरै आवश्यक पर्न सक्छ । खाना खाइसकेपछि ३० मिनेटको ग्याप राखेर पानी पिउँदा खाना पाचन प्रणाली पनि राम्रो हुन्छ ।