बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

बुटवल–नारायणगढ सडक : दसैँमा पनि यात्रुलाई सास्ती

सामान्यतः काठमाडौँबाट ६/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य छन् ।

बुटवल–नारायणगढ सडक निर्माण समयमा नहुँदा यात्रीले सास्ती व्यहोर्नु परेको छ । दुम्कीबासमा सडक छेउछाउमा गिट्टी र बालुवा तथा पर्खाल उठाउने कार्य भइरहेकोले गाडी पास गर्न कठिन भएको बुटवल–काठमाडौँ चल्ने लु१ख १६८६ नम्बरको बसका चालक भोजराज आचार्यले बताए ।

उनले बुटवल–काठमाडौँ रुटमा गाडी चलाउन थालेको ६ वर्ष भयो । उनलाई बुटवल–नारायणगढ सडकको दुरावस्थाले कहिलेकाहीँ दिक्क बनाउँछ । बर्खा लगिसकेपछि ठाउँठाउँमा पहिरोको समस्या त छँदैछ, त्यसमाथि निर्माणाधीन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ । उनलाई अहिले दुम्कीबास क्षेत्रको यात्रा सबैभन्दा झन्झटिलो लाग्ने गरेको छ ।

चालक आचार्यले काठमाडौँबाट बुटवल आउनेभन्दा अझै महेन्द्रनगर, धनगढी चल्ने लामो दुरीका चालकलाई बढी समस्या हुने गरेको बताए । उनले भने, ‘हामीलाई नै १५ घण्टा लाग्ने भयो अझै धनगढी, महेन्द्रनगर, सुर्खेत जानेहरु झन् समस्यामा छन् ।’

निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडकखण्डमा सवारी गुड्न त्यति सहज छैन ।

चालक आचार्यजस्तै भैरहवादेखि काठमाडौँ गाडी चलाउँदै आएका नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको बताए । ‘ठाउँ ठाउँमा खाल्टाखुल्टी छ । प्यासेन्जरहरू उफ्रियो, ढिला भयो भनेर रिसाउनुहुन्छ,’ उनले भने, ‘सडक साँघुरो छ । त्यहीमाथि धुलो र हिलो, हैरानी छ नि हजुर । नयाँ गाडी बिग्रिसक्यो ।’

नारायणबाट–बुटवल सडकबाट दिनमा हजारौँ निजी तथा भाडााका सवारी साधन गुड्ने गर्दछन् । यही राजमार्ग हुँदै राजधानी तथा पूर्व पश्चिम क्षेत्रमा यात्रुहरू हिँड्नुपर्ने बाध्यता छ ।

दुर्घटनाको त्रास पनि उस्तै

यही असोज ४ गते बुटवल–नारायणगढ खण्डमा पर्ने बर्दघाटमा हाइस, ट्रक र माइक्रो बस एकै पटक दुर्घटना भए । एकतर्फी बाटो भएका कारणले हाईस र ट्रक ठोक्किँदा त्यसको असर माइक्रो बसलाई पनि परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा क्षति पुगेको छ ।

असोज ७ गते नवलपरासीको ज्यामिरेमा सडकका कारणले नै लु१ख ७६४३ नम्बरको बस पल्टियो । साँघुरो सडकमा निर्माण सामग्री राखिएको थियो । अर्को सवारीलाई साइड दिँदा बस दुर्घटना भएको पश्चिम नेपाल बस प्रालिका सञ्चालक समिति सदस्य एवं दुर्घटना एकाइ संयोजक नारायण घिमिरेले बताए ।

उनले निर्माणाधीन सडकका कारणले असोज १ गते सुनौलामा लु१ख ५४२१ नम्बरको बस र भदौ २१ गते खैरेनीमा लु१ख ९९६५ नम्बरको बस दुर्घटना भएको बताए ।

घिमिरेले भने, ‘पछिल्ला दिन यहाँ सडकका कारणले धेरै दुर्घटना भएको हामीले महसुस गरेका छौँ ।’ यहाँ निर्माण सामग्री, ठाउँठाउँमा पर्खाल लगाउँदा साइड दिन अप्ठ्यारो, खाल्टाखुल्टी आदि कारण दुर्घटना हुने गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी कृष्ण पछाईले दाउन्ने तथा दुम्कीबासलगायत ठाउँमा सडक त्यसै पनि अप्ठ्यारो र अहिले निर्माणाधीन हुँदा दुर्घटना हुने गरेको बताए ।

सडककै कारण गाडी बिग्रिन थाले

बुटवल–नारायणगढ सडक विस्तार गर्न थालेपछि यहाँ यात्रु, चालक सबैले दुःख पाएका छन् भने गाडी धनीहरूले सडकका कारण आफ्ना गाडी धेरै बिग्रिएको गुनासो गर्दछन् । यो रुटमा गाडीको टायरदेखि अन्य पार्टपुर्जा छिटो छिटो बिग्रने गरेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । उनले भने, ‘सडकको कारण गाडी खर्च ५० प्रतिशत वृद्धि भएको छ, महँगो तेल, पार्टपुर्जा उस्तै बिग्रने गरेका छन्, जसले गर्दा हामी मारमा छौँ ।’

उनले २ घण्टामा सरर जाने ठाउँमा ५÷६ घण्टा समय लाग्दा त्यसै तेल धेरै खाने र पार्टपुर्जा टिकाउन पनि गाह्रो हुने गरेको सुनाए ।

२०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तार आयोजनाको काम अगाडि बढेको हो । ११४ किलोमिटर सडक साढे ३ वर्षमा निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो । तर समयमा निर्माण पूरा नभएपछि म्याद थपेर काम भइरहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित