
बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धिकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन ।
शुद्धिकरणको बिषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे ।
अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे ।
उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रुपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए। ‘अरुको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’ उनले भने । उनले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थिती रहेको सचिव विनोद परियारले जानकारी दिए ।