बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा कोशेली घर सञ्चालन गरिएको छ । महिला उद्यमीहरुले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा विक्रि वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याईएको हो ।

संघमा सोमबार आयोजना गरिएको कोशेली घर तथा मोटिभेसन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्य तथा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गरे ।

त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य उपाध्यक्ष समेत रहनु भएका कार्यवाहक अध्यक्ष वैद्यले कोशेली घर स्थापनाले यस क्षेत्रको महिला उद्यमशिलतामा बृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले अझै पनि मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताए ।

उनले उद्योग व्यवसायमा संकटकालको स्थिती रहेको बताउँदै साना ठूला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।

‘करको दायरा मात्रै होईन दर पनि बृद्धि भएको छ, बैंक व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ ।’ उनले भने–‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन ।’

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको कारण उद्योगी व्यवसायी मारमा परेको बताए ।

उनले व्यापार व्यवसायमा आएको मन्दीले कतिपय व्यापारी तथा उद्योगी पलायन भईसकेको र कतिपय पलायन हुने स्थितीमा रहेको भन्दै यसमा गम्भिर बन्न सरकारलाई आग्रह गरे ।

उनले महिला उद्यमीको उद्यमशिलता विकास तथा उत्पादित बस्तुको बजारको पहुँच बढाउनको लागि कोशेली घर सञ्चालन गरिएको पनि अध्यक्ष कसजूले जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघकी सदस्य तथा महिला समितिकी सभापति कमला श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल, संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ लगायतले भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारीणी सदस्य तथा मोटिभेशनल स्पिकर रञ्जित आचार्यले व्यवसायिक प्रवद्र्धन सम्बन्धि मोटिभेशनल प्रवचन दिएका थिए ।

कोशेली घर सञ्चालनको लागि स्थान तथा त्यसको व्यवस्थापन बुटवल उद्योग वाणिज्य संघले गरेको छ भने सञ्चालनको जिम्मेवारी स्थानीय उद्यमी निर्जला थापाले लिएकी छिन् ।

त्यस्तै कोशेली घरमा विद्युत तथा पानीको व्यवस्थापन संघले नै मिलाएको कोशेली घरका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य जमुना पौडेलले जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित