
बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभरटोलकी पुष्पा टण्डनको मृत्युको विषयमा घटनाको निश्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले माग गरेको छ ।
नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेको छ ।
घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको र पिडित पक्षबाट समेत विरोध प्रदर्शन भईरहेको अवस्थामा घटनाको निश्पक्ष छानविन गर्न र सत्यतथ्य बाहिर ल्याउन नगरपालिकाले माग गरेको छ ।
३६ वर्षीय पुष्पाको यहि साउन २७ गते सालझण्डी नजिकै फायरलाईन जंगलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
जारी विज्ञप्तीमा भनिएको छ–‘यस घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पिडित पक्षको न्यायको लागि तिलोत्तमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको कुरा जानकारी गराउँदै दिवंगत पुष्पा टण्डन प्रति भावपूर्ण श्रद्धान्जली र शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’