
सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले भैरहवा नजिकैको ओमसतिया गाउँपालिका–४ बसन्तपुरको बाइपासस्थित एउटा घरको खुल्ला अवस्थामा रहेको सटरमा तीनवटा कार्टुनभित्र लुकाएर राखिएका मोबाइलका कभर बुधबार बरामद गरेको हो ।
गुल्मका अनुसार, बरामद भएका सामग्रीमा ३ सय २५ थान आइफोनको कभर, आइफोनको सुपरग्लास १ हजार थान र आइफोनकै स्मार्ट वाच कभर २७ थान छन् ।
गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्माका अनुसार पक्राउ गर्न गएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करले उक्त स्थानमा खुल्ला अवस्थामा रहेको एउटा सटरभित्र ती सामाग्री लुकाएर फरार भएको र बरामद भएका सामाग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताए ।
उनका अनुसार, बरामद गरिएको ती सामाग्रीको मूल्य ५ लाख ४२ हजार ५ सय रुपैयाँ छ ।