
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको छ । सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।
शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशालालगायत सार्वजनिक स्थल आसपासमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको बताए ।
नगर प्रमुख खाँणले जारी गरेको सूचनामा भनिएको छ, ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ ।’
नगर प्रमुख खाँणले एक सूचना प्रकाशित गरी सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक लगाइएको जानकारी गराएका हुन् ।
सूचनामा भनिएको छ, ‘कोही कसैले उल्लिखित सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाहीको लागि सम्बन्धित निकायमा पठाइने व्यहोरा जानकारी गराइन्छ ।’
यसअघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँदै अटेर गरे ५० हजार रुपैयाँसम्म जरिवाना हुने जनाएको थियो ।