रोल्पाको एक गाउँपालिकाले छोरी जन्मिनाबित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बताए ।
‘आर्थिक वर्ष २०८०–८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ’, उनले भने, ‘साउन १ गतेबाट नै यो लागू भइसकेको छ ।’ यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मिने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ मा रु १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।
‘छोरी जन्मिँदा परिवारमा खुशीयाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ’, उपाध्यक्ष डाँगीले भने । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।










