
बुटवल । जनताले अनुमोदन गरेका सांसद हुन लुम्बिनी प्रदेशका दिपेन्द्र पुन । पुर्व माओवादी, स्वतन्त्र अनि अहिले फेरि माओवादी भएका दिपेन्द्र चुनाव लड्दा स्वतन्त्र भएर लडे । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन संग चुनाव लडेका उनले अन्तत चुनाव पनि जिते ।
चुनावमा स्वतन्त्र नामबाट उठेर निर्वाचनमा विजयी हासिल गरेपछि दिपेन्द्र पुनः माओवादीमा फर्किए ।
केन्द्रमा जस्तै प्रदेशमा पनि सत्तागठबन्धन भयो । कांग्रेस, माओवादी सहितका साना दलहरुलाई समेटेर गठबन्धन बन्यो ।
माओवादी नेपाली कांग्रेसको नेतृत्वमा लुम्बिनीमा सरकार बनाउन तयार भयो । कांग्रेस संसदिय दलका नेता डिल्लीबहादुर चौधरी गठबन्धनकै सहमती अनुसार मुख्यमन्त्री बने ।
माओवादीले पनि सरकारमा जाने नेताको नाम पठायो ।
त्यो नाममा थिए, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ ।
यो नाम देखेपछि सत्तागठबन्धनकै एक घटक नेपाली कांग्रेस असन्तुष्ट पोख्यो । किनकी यो नाम कांग्रेसका प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्ने दिपेन्द्रको थियो ।
कांग्रेस सभापती अमरसिंह पुनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई कुनै पनि हालतमा दिपेन्द्र मन्त्री बन्न नहुने दवाव दिइरहेका छन् ।
त्यहि कारण अहिले पनि लुम्बिनीमा सरकार विस्तार हुन सकेको छैन् । अहिले पनि ३ वटा मन्त्रालय खाली छन् ।
उनै कांग्रेस सभापती पुनले यो विषय नेपाली कांग्रेसको काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा समेत राखेका छन् ।
सभापती पुनले माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभामा मन्त्रीका लागि सिफारिस भएका रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ का विषयमा तीव्र असन्तुष्टि बैठकमा जनाए ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनविरुद्ध बागी उम्मेदवारलाई कारबाही भएको विषयमा प्रसंग उठाउँदै आफ्नो निर्वाचन क्षेत्रमा तत्कालीन गठबन्धन र अहिले पनि कायम रहेको गठबन्धनका विरुद्ध उम्मेदार दिएका व्यक्तिलाई अहिले पुरस्कृत गर्न नसकिने जनाएका छन् ।
‘रोल्पामा मेरो उम्मेदवारीविरुद्ध उम्मेदार भएका व्यक्तिलाई अहिले उही गठबन्धनले कसरी सम्मान दिने, म देशव्यापी गठबन्धनको साझा उम्मेदार बनेको थिएँ, उही गठबन्धनको अहिले प्रदेश र संघमा सरकार छ, अनि त्यही गठबन्धनविरुद्ध लाग्नेलाई कसरी हामीले समर्थन गरेर अगाडि बढ्ने रु यो विषयमा प्रष्ट हुन जरुरी छ, हामीलाई त्यो स्वीकार्य हुँदैन’ पुनले भने ।
उनले थपे, ‘चुनावमा गठबन्धनबिरुद्ध बागी उम्मेदवार दिएर विजयी भएका साथीहरूलाई पार्टीमा प्रवेश गराएर मन्त्री बनाइँदैछ । विशेष त लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा माओवादीका बागी उम्मदेवारलाई पार्टीमा ल्याई मन्त्री बनाउने प्रपन्च गरिँदैछ । गठबन्धनविरूद्ध जाने कसैलाई यो चुनावी गठबन्धनको जगमा निर्मित सरकारले चिन्दैन । गठबन्धनको मर्म र भावना विपरीत हुने कुनै काममा सहमति नगर्न म पार्टी नेतृत्वको ध्यान आकर्षित गराउन चाहन्छु, ’ पुनले भने ।