
गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्छ । सर्पले टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।
सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिन्छ । साथै घरआँगन सफासुग्घर राख्ने, घरमा लिपपोत गर्दा वा घाँस दाउरा गर्दा ध्यान पु¥याउने गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ । नेपालमा धेरैजसो शरीरको तल्लो भागमा टोकेको देखिन्छ । गाउँघरमा खेतबारीमा काम गर्दा अचानक सर्पले टोकेको हुन सक्छ ।
खुट्टा र हातमा टोकेको बढी भेटिन्छ । सर्पले शरीरको जुनसुकै ठाउँमा टोक्न सक्छ । सबै प्रजातिका सर्पले टोक्छन् तर त्यसमध्ये विषालु र विषरहित भन्ने हुन्छ । विषरहित सर्पले टोके शरीरमा कुनै किसिमको हानि हुँदैन । तर सर्वसाधारणलाई थाहा नभएका कारण सबै सर्प विषालु नै सम्झिन्छन् । नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपरलगायत । तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु भएको पाइन्छ । त्यस्तै करेत सर्पले विशेषगरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइने विज्ञ बताउँछन् ।
सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ । भाइपर सर्पको दाँत सानो हुने भएकाले त्यसले टोकेको ठाउँमा दुईवटा दाँतको डाम नदेखिन पनि सक्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ ।
सर्पले टोकेपछि बान्ता हुने, रिंगटा लाग्ने, आँखा लटपटिने, आँखा धमिलो हुने, सर्पले टोकेको ठाउँमा सुन्निने, निलो डाम हुने, जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्छन् । गाउँघरमा हिजोआज पनि सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरु कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्ने जस्ता घरेलु उपचार गर्ने गरिन्छ । जुन एकदमै गलत हो ।
यसले फाइदाभन्दा पनि हानि पु¥याउँछ । यसको प्राथमिक उपचारमा सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँमा ब्यान्डेज वा सफा कपडाले बाँड्ने र त्यसपछि तुरुन्तै नजिकैको अस्पतालमा गएर उपचार गराइहाल्नुपर्छ । सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ ।
यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पु¥याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ । सर्पले टोकेको व्यक्तिले विष ननिकालेसम्म केही खान दिनु हुँदैन । एन्टी स्नेक भेनम नामक औषधिमार्फत् सर्पले टोकेको उपचार हुन्छ । यो औषधि सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
सर्पको डसाईबाट दुई दिनमा चार जनाको निधन
कपिलवस्तुमा सर्पको डसाईबाट दुई दिनमा चार जनाको निधन भएको छ । विशालु सर्पको डसाईबाट बुद्धभूमि नगरपालिका वडा नं. १ का दुई दाजुभाइको निधन भएको छ । निधन हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसाल रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
त्यस्तै सोमबार नै महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीकी १४ वर्षीया ममता चमार रहेकी छन् । दुई दाजुभाइ बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पु¥याइएको जनाइएको छ ।
उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । घरबाट ५ किलोमिटरमा सर्पदंश उपचार केन्द्र छ, तर सर्पले डसेको शंका नै भएन । अरु होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपती शर्माले बताए ।