
मैनादेवी भण्डारी ।
२०१८ सालमा तनहुँको जगरकोट गाविसमा उनको जन्म भएको हो । उनका बुबा भगवत शर्मा लामिछाने हुन् भने आमा पेमाकुमारी लामिछाने । उनले २०६२ सालमा तिलोत्तमा नगरपालिका- ६ मा अनाथ आश्रम स्थापना गरिन् । उनी अहिले पनि सो आश्रम सञ्चालन गरिरहेकी छन् । ५९ वर्षको उमेरमा पनि मैनादेवी आश्रमकै काममा लागिपरेकी छन् ।
८ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा स्याङ्जाको तत्कालीन कुवाकोट गाविस वारिकुनाका रामचन्द्र भण्डारीसँग उनको विवाह भयो । विवाहपछि पनि उनले १० कक्षासम्म पढिन् । सेन्टअप परीक्षा पनि दिइन् । फाइनल परीक्षा भने फेल हुने आशंकाले दिइनन् ।
घरबाट विद्यालय टाढा । त्यसमाथि बुहारीलाई पढाउनु हुँदैन भन्ने सामाजिक मान्यता । त्यही कारण बिहेपछि नियमित रूपमा विद्यालय जान सकिनन् । नियमित विद्यालय जान नसकेपछि पास गर्छु भन्ने नलागेकाले एसएलसी नदिएको उनले बताइन् ।
मैनादेवीलाई बाल्यकालदेखि नै सामाजिक कार्यमा रुचि थियो । गाउँमा बुबाले गरेको समाजसेवाबाट उनी प्रभावित थिइन् ।
उनको परिवार रूपन्देही झर्यो । बाल्यकालदेखि उनमा रहेको समाजसेवा गर्ने रुचिमा श्रीमान् रामचन्द्रको पनि साथ रह्यो । त्यसपछि उनले अनाथ र असहायहरूका लागि काम गर्ने योजना बनाइन् ।
२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण परिषदमा उनले संस्था दर्ता गरिन् । २०६२ सम्म मैनादेवीले सिलाइकटाइ, अचार बनाउने, उद्घोषण तालिम सञ्चालन गरिन् । त्यस्तै असहायहरूलाई न्यानो कपडा वितरणलगायतका सामाजिक काममा पनि उनी संलग्न रहिन् । उनले २०६२ सालमा भने आत्मशान्ति अनाथ आश्रमको स्थापना गरिन् ।
आश्रम स्थापना गरे पनि त्यसको आयस्रोत केही थिएन । आर्थिक स्रोत नभएपछि उनी एउटा हातमा थाल, एउटा हातमा चामल उठाउँदै गाउँ डुलिन् । गाउँबाट उठेको मुट्ठीदानले आश्रमका असहायहरूको जसोतसो साँझ बिहानको छाक टर्थ्यो ।
सुरुका दिनमा उनले धेरै दुःख पाइन् । उनलाई गाउँलेले गाली मात्र गरेनन्, लौरो लिएर लखेट्ने कामसमेत गरेको ताजा स्मरण छ उनीसँग । दिनभर दाल चामल उठाएर पनि छाक टार्न हम्मेहम्मे पर्थ्यो । बिस्तारै सहयोगीको नजर उनको आश्रममा पर्न थाल्यो । दिनहरू केही सहज बन्दै गए ।
अहिले भने मैनादेवी खुसी छिन् । आमाबाबु गुमाएका बेसहारा बालबालिकाको सेवाबाट आत्मशान्ति पाएको उनी बताउँछिन् । तीन जना बालबालिकाबाट सुरु गरेको आश्रममा ३६ जना अनाथ बालबालिकाले सहारा लिइसकेका छन् । अहिले पनि १३ बालबालिका आश्रममा छन् ।
‘४० जना भन्दा बढीलाई यहाँबाट बिदाइ गरियो । त्यसमध्ये कतिपय इन्जिनियर, सब-ओभरसिएर पनि बने । कोहीले पढाउने पनि भए,’ उनले भनिन्, ‘त्यसैले पनि आज मलाई खुसी लाग्छ ।’
आश्रममा रहेका सबै बालबालिका तिलोत्तमा मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा पढ्दै छन् । स्थापनाका सुरुका वर्षमा दुःख व्यहोरे पनि अहिले भने उनलाई आश्रम सञ्चालनका लागि केही सहज भएको छ ।
मैनादेवीले यही आश्रमका लागि २६ वर्ष दिएकी छन् । विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगबाट अहिले पाँचकोठे भवन बनेको छ । श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिएका छन् । उनले त्यही जग्गामा भवन बनाएकी छन् ।
‘आश्रमकै लागि २६ वर्ष बिताएँ । अब आश्रम बन्द नहुने गरी स्थापित भएको छ । आश्रम बन्द हुँदैन । म रहुँला, नरहुँला, आश्रम चलाउन सक्ने मान्छे पनि मैले तयार गरेकी छु ।’ उनले भनिन् ।
आत्मशान्ति अनाथ आश्रमबाट परिवर्तन भई हाल आश्रमको नाम ‘रामचन्द्र मैनादेवी अनाथ आश्रम’ भएको छ । मैनादेवीको एउटै इच्छा छ, ‘प्राण पनि यही आश्रमै जाओस् ।’